सार्वजनिक बिदामा अस्पताल सञ्चालन कत्तिको सहज ?

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०८१, शनिबार

नेपालगन्जः सरकारले सार्वजनिक बिदाको दिन पनि अस्पताललाई सेवा दिन बारम्बार निर्देशन दिँदै आइरहेको छ । सरकारको उक्त निर्देशन कार्यान्वयन गर्न सरोकारवाला निकायलाई भने हम्मेहम्मे परेको छ । सरकारले नागरिकको मन जित्न वा नागरिकमाझ भ्रम छर्न पूर्वतयारीविनै गरिदिने यस्ता निर्णय कार्यान्वयन गर्न सरोकारवाला निकायलाई सकस परिरहेको देखिन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदामा पनि अस्पतालको बहिरंगसहितका सेवाहरू प्रदान गर्न स्वास्थ्य मन्त्रालयमार्फत निर्देशन दिँदै आएको छ । यसअघि पनि यस्तो निर्णय गरिएको भए पनि विभिन्न कारणवश लागू हुन सकेको थिएन । सार्वजनिक बिदाको दिनमा पनि अस्पतालमा सेवा दिनुपर्ने आठ महिनाअघि पनि सरकारले निर्णय गरेको थियो । तर, त्यो निर्देशनपछि कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायलाई हम्मेहम्मे परेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोगकेन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका सरकारी अस्पतालमा सेवा सुरु गर्न निर्देशन दिइएको हो ।

आन्तरिक छलफलमा जुटे अस्पतालहरू

मन्त्रालयको पत्र प्राप्त भइसकेपछि निर्देशन पाएका अस्पतालहरू आन्तरिक तयारीमा जुटेका छन् । महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालले यो विषयमा कसरी काम गर्न सकिन्छ भनेर आन्तरिक छलफल गरिरहेको जनाएको छ । ‘सार्वजनिक बिदाका दिनमा पनि सेवा दिँदा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समस्या अवश्य नै हुन्छ,’ अस्पतालका निर्देशक डा पंकज रायले भने, ‘तर, अब माथिबाट नै निर्देशन आइसकेपछि कसरी काम गर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीको काम विभाजन र तालिका कसरी मिलाउन सकिन्छ भन्ने विषयमा अस्पताल प्रशासनसँग छलफल गरिरहेका छौँ । छलफलपछि कसरी अगाडि बढ्ने भनेर त्यसपछि थाहा हुन्छ ।’

यता, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले पनि यो विषयमा छलफल गरिरहेको जनाएको छ । अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले साताभरि काम गर्न नसकिने बताएका छन् । सातामा एक दिन पनि बिदा नबसी काम गर्न नसकिने उनीहरूको भनाइ छ ।वीर अस्पतालका कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी पनि साताको सातै दिन काम गर्न नसकिने बताइरहेका छन् । दिनरात नभनी खटाएको बेला काम गरिरहेको बताउँदै उनीहरू शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहनलाई शरीरलाई पनि आराम आवश्यक रहेको औँल्याउँछन् ।

सहज होला त कार्यान्वयन ?

सरकारले दिएको यो निर्देशन कार्यान्वन गर्न निकै चुनौती हुने स्वयं स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथाकीले सेवा विस्तारको पत्र पाइसकेपछि अब कसरी यसको कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको उनले बताए ।नेपालमा आवश्यक जनशक्ति नहुँदा अहिले पनि नागरिकले सहज स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको अवस्था छ ।

यहाँ एउटै चिकित्सकले एकै दिनमा सयौँ बिरामी हेर्नुपर्ने बाध्यता रहेको अवस्थामा सरकारले मनपरी निर्णय गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मी थप मर्कामा परिरहेको वीर अस्पतालमा कार्यरत एक चिकित्सक बताउँछन् । वीर, पाटन र टिचिङ अस्पतालमा आवश्यक जनशक्ति र भौतिक संरचनाको अभावले नै बिरामीहरूको भीड थेगिनसक्नु रहेको सरोकारवालाले पनि बारम्बार बताइरहेका छन् ।

नागरिकलाई आवश्यक जनशक्ति नहुँदा गुणस्तरीय सेवा दिन अस्पतालले सकिरहेका छैनन् । सरकारसँग स्वास्थ्य क्षेत्रमा कति जनशक्ति छ भन्ने यकिन तथ्यांक पनि छैन । अन्तरसरकार समन्वय नगर्दा यकिन तथ्यांक मन्त्रालयसँग नरहेको प्रवक्ता डा। बुढाथोकीले जनाएका छन् । पहिलेको तथ्यांकअनुसार देशमा ३१ हजार ६ सय ५० दरबन्दी छ । त्यसमा चौथो, पाँचौँ र छैटौँ तहको २८ हजार ७ सय ६७, सातौँ र आठौँको १५ सय ४९, नवौँ र दशौँको एक हजार ४९, एघारौँको २ सय ८२, र १२औं तहको तीन वटा दरबन्दी छ ।

तर, यो अवधिमा कतिपय रिटायर्ड, कसैले राजीनामा दिँदा अहिले करिब २५ हजारसम्म मात्र स्वास्थ्यकर्मी कार्यरत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशमा १ लाख स्वास्थ्यकर्मी आवश्यक छ । ०४८ सालयता तीन सय १३ विशेषज्ञबाहेक अरू स्वास्थ्य जनशक्तिको दरबन्दी थप भएकै छैन । जसकारण समस्या आएको मन्त्रालयले जनाएको छ ।

पूर्वतयारीविनाको निर्णय कार्यान्वयनमा समस्या

सरकारले कुनै निर्णय गर्दा वा निर्देशन दिँदा पहिले गृहकार्य गर्नुपर्ने सरोकारवाललो जनाइरहेका छन् । आवश्यक जनशक्ति नभएको बेला छलफल नै नगरी कार्यान्वयन गर्दा ठूलो समस्या हुने उनीहरूको तर्क छ । ओपिडीलाई पनि बिदाको दिनमा चलाउनुपर्यो भने जनशक्ति आवश्यक हुने बताउँदै बिदाको दिन पनि काम गर्दा थप सुविधाको व्यवस्था हुनुपर्ने जनस्वास्थ्यविद् डा। बाबुराम मरासिनी बताउँछन् । ‘यो काम नराम्रो होइन सही हो, नागरिकलाई पनि सुविधा हुन्छ । तर, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल नै नगरी परिपत्र गरेर मात्र हुँदैन । सबैभन्दा पहिले आवश्यक गृहकार्य गर्न जरुरी छ,’ डा. मरासिनीले भने ।

नेपाल चिकित्सक संघको आपत्ति

सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट बहिरंग सेवासमेत प्रवाह गर्नुपर्ने सरकारको निर्णयप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाइसकेको छ । संघले मंगलबार एक प्रेस विज्ञप्ति निकाल्दै ७ भाद्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्नुपर्ने र सोको लागि समन्वय, प्रचारप्रसार र अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गरेको पत्राचारको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

संघद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आरामका लागि हप्ताको २ दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहिआएको छ । हरेक स्वास्थ्य संस्थामा बिदाका दिनमा जटिल स्वास्थ्य समस्या भएका बिरामीका लागि आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु रहने कुरा सर्वविदितै छ ।

यसका बाबजुद स्वास्थ्यकर्मीलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यासविपरीत बिदाका दिनमा समेत बहिरंग सेवा सुचारु भएको खण्डमा स्वास्थ्यकर्मीमा शारीरिक तथा मानसिक तनाव बढेर बर्न आउट हुने तथा स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानहरूबाट पुष्टि भइसकेको छ ।’ त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनहरूमा समेत बहिरंग सेवा सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यावहारिक तथा अवैज्ञानिक भएकोले सो निर्णय अविलम्ब फिर्ता लिन संघले जोडदार माग गरिरहेको छ ।

  • २२ भाद्र २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech