बालबालिकामा डेंगु र स्क्रवटाइफसको जोखिम,बाँकेका अस्पतालमा उपचारका लागि आउनेहरु बढे

    • प्रियास्मृति ढकाल

  • २० भाद्र २०८१, बिहीबार

नेपालगन्जः बालबालिकाहरुमा डेंगु र स्क्रवटाइफसको जोखिम देखिएको छ । बाँकेका अस्पतालमा उपचारका लागि आएका बालबालिकाहरुमा डेंगु र स्क्रवटाइफस देखिने गरेको छ । पश्चिम नेपालको रेफरल अस्पतालका रुपमा चिनिने भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, केयर सिटी अस्पताल तथा निजी क्लिनिकहरुमा दैनिकरुपमा डेंगु र स्क्रवटाइफसका बिरामीहरु आइरहेको चिकित्सकहरु बताउँछन् ।

केयर सिटी अस्पतालका बालरोग विशेषज्ञ डा.विष्णु थापाले  दुई तीन महिनाका शिशुहरुमा पनि डेंगु र स्क्रवटाइफस देखिएको जानकारी दिए । ‘वर्षायाम सुरु भएसँगै स्वभाविकरुपमा सबै उमेर समूहका मानिसहरुमा डेंगु र स्क्रवटाइफसको जोखिम बढी हुन्छ डा.थापाले भने–‘बालबालिकाहरु पनि त्योबाट अछुतो छैनन् ।’ उनले अघिल्लो महिनादेखि अहिलेसम्म १५–१६ जना डेंगुका र ८–१० जना स्क्रपटाइफस भएका बालबालिकाहरु उपचारका लागि आइसकेको बताए ।

नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका वरिष्ठ बालरोग विशेषज्ञ डा.पियुस कनोडियाले पनि डेंगु र स्क्रवटाइफसका बालबालिकाहरु बढेको बताए । उनले पछिल्लो एक महिनामा अस्पतालमा आफुले १५–२० जना डेंगु र स्क्रपटाइफसका बिरामी बालबालिकाको उपचार गरेको बताए । ‘टाउको दुख्ने, उच्च ज्वरो आउने, वान्ता हुने लक्षण चिन्ह भएका बालबालिकाहरु अस्पतालमा आउनेक्रम बढेको छ डा.कनोडियाले भने–‘परीक्षण गर्दा डेंगु र स्कवटाइफस देखिने गरेको छ।’ यस्ता बिरामीहरु जिल्ला भन्दा पनि अन्य जिल्लाबाट बढी आइरहेको पनि डा.कनोडियाको भनाइ छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरका बालरोग विशेषज्ञ डा.नीरज आचार्यले पनि अस्पतालमा बिरामी बालबालिकाहरु बढेको बताए । उनले ३० वेड क्षमताको पेड्राइटिक वार्ड अहिले भरिएको बताए । पेड्राइटिक वार्ड भरिएपछि इएन्टी र सर्जरी वार्डमा समेत राखेर उपचार गर्नु परिरहेको पनि उनले बताए । ‘भदौंको पहिलो सातादेखि ज्वरो, रुघाखोकी, टाइफड, झाडापखला लगायतका समस्या लिएर आउने बालबालिकाहरु अस्भाविक ढंगले बढेका छन् उनले भने–‘उपचारका लागि आउने बालबालिकाहरुमा डेंगु र स्क्रवटाइफस पनि देखिएको छ ।’ उनले अझैपनि ४–५ जना डेंगु र स्क्रवटाइफसका बिरामीहरु उपचारार्थ रहेको पनि बताए ।

असहय हुनेगरी टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, शरीरमा विमिरा आउने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने जस्ता लक्षण देखिएपछि डेंगु भएको हुन सक्ने डा.विष्णु थापाले बताए । डेंगुबाट जोगिन डेंगुका लामखुट्टे सफा पानीमा बस्ने हुँदा घर वरपर पानी जम्ने खाडल, पुराना टायर, पुराना सिसा बोत्तल जस्ता पानी जम्ने चिजहरु राख्न नहुने अर्का वालरोग विशेषज्ञ डा.कनोडिया बताउँछन् ।

‘सकेसम्म लामो बाहुला भएको, शरिर पुरै छोप्ने खालका कपडा लगाउने, यसबाट शरिरलाई लामखुट्टेको टोकाईबाट टाढा राख्न सकिन्छ डेंगुबाट जोगिने उपाय सुझाउँदै डा थापाले भने–‘प्राय दिउँसोमा यो लामखुट्टेको टोकाईबाट बच्नुपर्छ, पानी टंकी छोपेर राख्ने, फुलदानीमा पानी फेरबदल गरीरहने, सुत्दा प्राय झुल प्रयोग गर्ने, बालबालिकालाई झुलको प्रयोग अनिवार्य गर्नुपर्छ ।’

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो भने स्क्रब टाइफस भने मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्ने रोग हो । यो रोग मानिसबाट मानिसमा सर्दैन । धेरै जवरो आउनु ( काम ज्वरो समेत आउन सक्छ ), धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्क्रब टाइफसका लक्षणहरु रहेको बालरोग विशेषज्ञ डा. आचार्य बताउँछन् ।

खेतवारीमा काम गर्दा वनजंगल /झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइं सम्म बुट लगाउने, घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने ,खाटमा वा अग्लो स्थानमा सुत्ने/बस्ने , सकेसम्म घाँसवारी र चउरमा नबस्ने हो भने यसको जोखिम कम गर्न सकिने उनले बताए । स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्ने पनि डा. आचार्यले सुझाव दिए ।

  • २० भाद्र २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech