मोबाइल धेरै चलाउने बच्चामा हुनसक्छ ‘डिजिटल अटिजम’

यो समस्या भएका अधिकांश बच्चा खाना खानदेखि राति सुत्नसम्म मोबाइलको सहारा लिन्छन् । राति अबेरसम्म उनीहरूलाई बाबुआमाको काख भन्दा प्यारो मोबाइलमा २४ घण्टा देखाइरहने कन्टेन्ट प्रिय लाग्छ ।


    • गोपाल ढकाल /मनोविद्

  • १८ भाद्र २०८१, मंगलवार

विश्व स्वास्थ्य संगठनको निर्देशिकामा एक वर्षमुनिका बालबालिकालाई मोबाइल, टेलिभिजन, ट्याब, कम्प्युटर जस्ता ‘इलेक्ट्रोनिक्स डिभाइस’ को अगाडि राख्न नहुने र दुईदेखि पाँच वर्षका बालबालिकाको ‘स्क्रिन टाइम’ एक घण्टामा सीमित गर्नुपर्ने भनिएको छ ।

किनकि यही उपकरणको कारणले बच्चामा लत बस्छ, जो उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यका लागि जोखिमपूर्ण हुनसक्छ । तर यो भनाइ निर्देशिकामा मात्र सीमित छ ।  यी उपकरण आजभोलिका अभिभावकको बच्चालाई तह लगाउने माध्यम बनिरहेको छ ।

बच्चालाई खाना खुवाउन, सुताउन, कुनै जिद्दी गरेको पूरा नगर्दा चुप गराउन, आफ्नो काममा डिस्टर्ब हुन नदिन मोबाइल, टिभी र ल्यापटपमै अभ्यस्त गराइन्छ ।

फलस्वरुप बच्चामा यी उपकरणको लत बस्छ । जसले नपत्याउँदो तरिकाले बच्चाको सिक्ने क्षमता, बोल्ने तरिका, उसको व्यवहारमा हुनुपर्ने जति विकास हुन पाइरहेको हुँदैन ।

त्यसकै उपजको रूपमा अहिले अधिकांश बच्चाहरू ‘डिजिटल अटिजम’ ठूलो स्वास्थ्य चुनौतीको रुपमा देखिंदै गएको छ ।

के हो डिजिटल अटिजम ?

बालबालिकालाई स्क्रिनको लत लागेर दैनिक क्रियाकलापमा बाधा पुग्ने र सोही उमेरको अन्य बालबालिकासँग मित्रता गाँस्न, घुलमिल हुन, समयअनुसार परिस्थिति बुझ्न कठिन भइरहेको अवस्थालाई डिजिटल अटिजम नाम दिइएको छ ।

डिजिटल अटिजम पछिल्लो समय धेरै सुनिएको नाम हो । तर यो समस्यालाई अहिलेसम्म बाल मनोरोग भनेर आधिकारिक निकायले स्वीकृति दिइएको छैन । यद्यपि, डिजिटल अटिजम वर्तमान अवस्थामा चुनौती बनिरहेको कुरामा भने विज्ञहरु सहमत छन् । यसलाई अटिजमकै एक भाग मानिन्छ ।

अटिजम र डिजिटल अटिजमबीच भिन्नता

डिजिटल अटिजम अटिजम भन्दा केही फरक छ । अटिजम भनेको स्नायुसम्बन्धी समस्या हो । यो समस्या गर्भमा रहँदादेखि नै सुरु हुनसक्छ ।

अटिजम भएका बालबालिकाको सिक्ने, बुझ्ने र सञ्चार गर्ने क्षमता अन्य बालबालिकाको तुलनामा कमजोर हुन्छ ।

जबकि, यसको विपरीत, भर्चुअल अटिजम आवश्यक भन्दा बढी आफ्नो अधिकांश समय स्क्रिनमा बिताएर यसको लत बसी त्यसको प्रभाव जीवनस्तरमा देखिन्छ ।

उनीहरूमा पनि सिक्ने, बुझ्ने र सञ्चार गर्ने क्षमता उमेर अनुसारको सही ढंगले विकास भइरहेको हुँदैन । उनीहरू अरु साथीसँग खेल्न जान मान्दैनन् । घरमा अपरिचित व्यक्ति आएको मनपराउँदैनन् । झर्किरहने, केही कुरामा मन नलगाउने,  ध्यान मोबाइल वा टिभीमा मात्र केन्द्रित रहन्छ ।

यो समस्या भएका अधिकांश बच्चा खाना खानदेखि राति सुत्नसम्म मोबाइलको सहारा लिन्छन् । राति अबेरसम्म उनीहरूलाई बाबुआमाको काख भन्दा प्यारो मोबाइलमा २४ घण्टा देखाइरहने कन्टेन्ट प्रिय लाग्छ ।

कारण

वास्तवमा भर्चुअल अटिजमबाट पीडित बालबालिकाले भर्चुअल संसारलाई आफ्नो वास्तविक जीवन जस्तै ठान्छन् । त्यहाँ बच्चाहरूले जे चाहे त्यो हेर्न पाउँछन् ।

यसरी उनीहरू वास्तविक संसारबाट टाढा रहन्छन् र आफ्नो वरपरका परिवारका सदस्यहरूसँग कम कुरा गर्छन् । यस्तोमा उनीहरूको आवश्यक सामाजिक सीप र भावनात्मक विकासमा बाधा पुर्‍याउँछ । उनीहरूलाई कस्तो बेलामा कस्तो प्रतिक्रिया गर्नुपछ ? के सही, के खराबसम्म पहिल्याउन कठिन हुन्छ ।

निरन्तर भर्चुअल वातावरणमा समय बिताउँदा बालबालिकाको इन्द्रिय सक्रिय हुँदैन र बिस्तारै काम गर्न छाड्छ । यस्ता बालबालिकाको देख्ने र सुन्ने क्षमतामा पनि असर पर्न थाल्छ ।

केही बच्चाहरू ८ देखि १० घण्टा स्क्रिनमा बिताउँछन् भने उनीहरूको अवस्था ५ देखि ६ घण्टा बिताउने बच्चाको भन्दा खराब हुनसक्छ ।

यो समस्या दुईदेखि पाँच वर्षसम्मका बालबालिकामा बढी देखिन्छ । यो क्रम चलिरहयो भने किशोरावस्थासम्म पनि यसको प्रभाव रहन्छ ।

भर्चुअल अटिजमका लक्षण

-सिक्ने क्षमता प्रभावित हुनु

– बच्चा हाइपरएक्टिभ (एकैछिनमा अति रिसाउनु, अति खुसी हुनु, अति रिसाउनु वा डराउने जस्तो प्रतिक्रिया) हुनु ।

– कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न कठिनाइ हुनु ।

– एउटा गतिविधिमा एकोहोरिनु वा पटक पटक एउटै काम गरिरहनु ।

– शारीरिक गतिविधिमा रुचिको कमी हुनु ।

– साथी बनाउन नखोज्नु ।

– भीडभाड भएको ठाउँमा नजानु ।

– आफूलाई राम्रोसँग व्यक्त गर्न नसक्नु ।

– बोल्ने क्षमतामा असर पर्नु ।

– लामो समयसम्म कुनै कुरामा ध्यान दिन नसक्नु ।

– बारम्बार मुड तलमाथि भइरहनु ।

यसको उपचार सम्भव छ ?

हालसम्म यसको पहिचान गर्न कुनै विशेष परीक्षण विधि छैन । यसको पहिचानका लागि बच्चाको हेर्ने, सुन्ने, बोल्ने र समन्वय गर्ने क्षमता विशेषज्ञहरूद्वारा मूल्यांकन गरिन्छ । यदि बच्चाको बोल्ने क्षमता कमजोर छ भने उसलाई वाककला कक्षा दिइन्छ ।

अन्तरक्रियात्मक उपचार तथा स्पीचथेरापी जस्ता विधिले पनि बच्चालाई पढ्न र लेख्न मद्दत गर्न सक्छ । शैक्षिक कार्यक्रम र व्यवहार उपचारका साथै, यसले बालबालिकाहरूलाई बोल्ने, सामाजिक व्यवहार र सकारात्मक मनोवृत्ति सिक्न मद्दत गर्ने सीप उन्मुख प्रशिक्षण सत्र पनि प्रदान हुन्छ ।

बच्चालाई सकारात्मक वातावरणमा राख्न बाबुआमालाई पनि बच्चासँग खेल्न र गुणस्तरीय समय बिताउन प्रोत्साहन गरिन्छ । यदि आवश्यक भएमा मनोचिकित्सकको सहयोगमा औषधि पनि दिइन्छ ।

घरमा सहजता प्रदान गर्न अभिभावकले के गर्ने ?

– भर्चुअल अटिजमको बारेमा पहिला अभिभावक आफैंलाई प्रशिक्षित गर्नुपर्छ । ताकि बच्चाको व्यवहारलाई बुझ्न सहज होस् ।

– बच्चाले मोबाइल लिन जति जिद्दी गरे पनि नदिने, बरु फकाउने र उनीहरूसँग समय बिताउने ।

– बच्चाका लागि दैनिकी बनाउने । जसमा एक घण्टा मात्र ‘स्क्रिन टाइम’ राख्ने ।

– खानासँगै बसेर खाने र आफ्नो मोबाइल पनि डाइनिङ रुपमा नराख्ने ।

– भर्चुअल अटिजमबाट पीडित बालबालिकालाई सामान्य बालबालिकासँग तुलना नगर्ने ।

– बच्चाको सिकाउने शक्तिमा ध्यान दिने ।

– यदि बच्चा ढिलो सिक्छ भने उसलाई छिटो सिक्न दबाब नदिने ।

– बच्चालाई चित्रकला, खेलकुद, संगीत र नृत्य जस्ता अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गरी त्यस्ता कक्षामा भर्ना गराउँदा पनि प्रतिभासँगै सामाजिक रुपमा अन्तरक्रिया गर्ने अभ्यास गराउने । यस्ता कक्षाले पनि उनीहरूलाई डिजिटल प्लेटफर्मबाट टाढा राख्न मद्दत गर्छ ।

आँखामा असर

बालबालिकाले लगातार मोबाइल, ल्यापटप, टेलिभिजनको स्क्रिनमा हेर्दा त्यसबाट आउने हानिकारक किरणहरूले आँखा सुक्खा र रातो हुने समस्या पैदा हुन्छ ।

बच्चाको  निरन्तर मोबाइल चलाउने बानीलाई नियन्त्रण गर्न सकिएन भने कालान्तरमा आँखासम्बन्धी अन्य समस्या निम्तिन सक्छन् ।

  • १८ भाद्र २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech