बुटवल: १२०० शय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको आज बुटुवलमा शिलान्यास भएको छ । अस्पताल भवनको उप-प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका छन् ।
प्रदेश सरकारको गौरबको आयोजनाको रुपमा रहेको यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो । गत पुस २६ गते भएको ठेक्का सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्नेछ ।
सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।
१२ सय शय्याको अस्पताल सञ्चालनमा आएपछि यसले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने विश्वास गरिएको छ ।