भारतमा पुर्‍याई मिर्गौला बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०८१, बुधबार

नेपालगन्जः मानव अंग मिर्गौला बेचबिखनको आरोपमा प्रहरीले दुई जनालाई पक्रेको छ । विभिन्न प्रलोभनमा पारेर भारतको कलकत्तामा पुर्‍याई मानव अंग मिर्गौला बेचबिखन गरेको आरोपमा ललितपुर महानगरपालिका ८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका २ घर भएकी ४२ वर्षीया शान्तिमाया घलानलाई प्रहरीले पक्रेको हो ।

उनीहरुलाई पीडितको उजुरीको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूले पीडितलाई मिर्गौला बिक्रि गरेमा १० लाख कमाउन सकिने प्रलोभनमा पारी पीडितको स्वाथ्य परीक्षण गराई काठमाडौंबाट वीरगंज हुँदै भारतको कलकत्ता पुर्‍याएको खुल्न आएको छ ।

थप अनुसन्धानको क्रममा मृगौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परीवार भित्रको व्यक्ति भन्ने विश्वास दिलाउन नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजातहरु झुट्टा बनाई धाक धम्की दिई उल्लेखित रकम समेत नदिई जवरजस्ती मिर्गौला प्रत्यारोपण गरेको खुल्न आएको छ।

उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

  • १२ भाद्र २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech