नेपालगन्जमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको समीक्षा गोष्ठी सुरु

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०८१, मंगलवार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकामा आर्थिक बर्ष २०८०/८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठी सुरु भएको छ । आजदेखि सुरु भएको दुई दिने बार्षिक प्रगति समीक्षा गोष्ठीको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य संस्थाहरुको कार्य प्रगति विवरण प्रस्तुत गरिने गोष्ठीबाट कार्यप्रगति र प्रस्तुतिकरणका आधारमा उत्कृष्ट स्वास्थ्य संस्था पनि घोषणा गरिनेछ । गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले स्वास्थ्य क्षेत्रमा थुप्रै चुनौती रहे पनि सुधार गर्दै लैजानुपर्ने बताएका छन् ।

उपलब्ध जनशक्ति र स्रोतसाधन तथा सीमित बजेटका आधारमा राम्रो काम भइरहेको भएपनि सुधार गर्नुपर्ने अझै थुप्रै पाटाहरु बाँकी रहेको उनको भनाई छ । विष्टले स्वास्थ्यकर्मीलाई लगनशिलता र इमान्दारिताका साथ काम गर्न आग्रह गरे । स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले स्वागत मन्तब्य ब्यक्त गर्दै महाशाखाले गरेका कार्यहरुको प्रगति विवरण, चुनौती र समस्या समाधानका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

मातृ शिशु मृत्युदर, बढ्दै गरेको नसर्ने रोग, केही वडामा कमजोर खोप कभरेज लगायत चुनौती रहेको भन्दै चन्दले उपमहानगरपालिकाले सञ्चालन गरेका केही कामहरु प्रभावकारी देखिएको बताए । निःशुल्क एम्बुलेन्स सेवा, अस्पतालजन्य फोहोर व्यवस्थापन, अन्धोपन निवारणका लागि मोतियाविन्दुको निःशुल्क अपरेशन लगायतका कामहरुको राम्रो प्रभाव देखिएको उनको भनाई छ । उद्घाटन शत्रमा प्यानल डिस्कशन पनि गराइएको थियो ।

समीक्षा गोष्ठीको सहयोगीको रुपमा रहेको जिआइजेडका लुम्बिनी प्रदेश संयोजक सुवास नेपालले सहजीकरण गरेको छलफलमा नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का र प्रबक्ता प्रमोद रिजालले स्वास्थ्य क्षेत्रमा भइरहेको काम, चुनौति र सम्भावनासंगै सहभागीका जिज्ञासाको जवाफ समेत दिएका थिए । जनस्वास्थ्य निरीक्षक राजन शाहीले सञ्चालन गरेको गोष्ठी उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्यहरु बसन्तकुमार कनोजिया, बिना थापा, मुजम्मिल हुसैन हलवाई, संगिता रेग्मी लगायतको उपस्थिति थियो । गोष्ठीमा नगरका सबै स्वास्थ्य संस्थाले कार्यप्रगति विवरण प्रस्तुत गरिरहेका छन् ।

  • ११ भाद्र २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech