कोहलपुरः एचआइभी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारले आफ्नो भूमिकालाई थप प्रभावकारी गराउनुपर्नेमा विहीबार कोहलपुरमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । कोहलपुर नगरपालिकाको आयोजना तथा एचआइभी रोकथाम र नियन्त्रणका सवालमा क्रियाशील संघसंस्थाको समन्वयमा आयोजित एचआइभी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रममा उनीहरुले उक्त कुरामा जोड दिए ।
एचआइभी संक्रमितहरुलाई हेर्ने सामाजिक दृष्टिकोण सकारात्मक नभइरहेको अवस्थामा स्थानीय सरकारले समेत उनीहरुप्रतिको व्यवहार सन्तोषजनक रुपमा नदेखाएको उनीहरुको भनाइ छ । पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परिना चौधरीले एचआइभी संक्रमितहरुको आयआर्जनका लागि स्थानीय सरकारले बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।
एफएचआइ ३६० का कन्सल्टेन्ट प्रमोद अर्यालले देशभर ६ लाख ८५ हजार मानिसहरु एचआइभी संक्रमणको उच्च जोखिममा रहेको कार्यपत्र प्रस्तुत गर्दै उनले अझै पनि मानिसहरुमा सचेतना फैलाउन जरुरी रहेको बताए । उनले स्थानीय सरकारले सचेतना फैलाउनेदेखि एचआइभी संक्रमितहरुको जीविकोपार्जनका कार्यक्रम ल्याउन जरुरी रहेको औल्याए ।
यस्तै एएचएफका कार्यक्रम संयोजक संजय पौडेलले बाँकेमा गत आर्थिक वर्ष ४१२ जना संक्रमित पहिचान भएको बताए । उनले सबैभन्दा धेरै नेपालगन्जमा १२२, कोहलपुरमा ७८, खजुरामा ५०, बैजनाथमा ४१, नरैनापुरमा ३९, राप्तीसोनारीमा ३५, डुडुवामा २१ र नरैनापुरमा १६ जना एचआइभी संक्रमित पहिचान भएको उल्लेख गरे । उनले संक्रमितहरुको आयआर्जन र पोषण सुधारमा नेपालगन्ज उपमहानगरपालिकाले गरेको काम अन्य पालिकाहरुले पनि सिको गर्नुपर्ने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाले संक्रमितहरुको पोषण सुधारका लागि प्रत्येक महिना पाँच सय देखि एक हजार रुपैयाँ संक्रमितहरुलाई सिधै बैंकमार्फत दिने गरेको छ । विपन्न तथा गरिव संक्रमितको पहिचान गरेर उनीहरुलाई उक्त रकम विगत चार वर्षदेखि उपमहानगरपालिकाले दिँदै आएको पनि उनले सुनाए ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख वीरेन्द्र कुमार शाहले एचआइभी संक्रमित रोकथाम र संक्रमितलाई आयआर्जन तथा रोजगारसँग जोड्ने गरी आगामी दिनमा योजना बनाइने पनि प्रतिवद्धता जनाए । कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक इश्वरी प्रसाद विक, कोहलपुर नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख रामबहादुर हमाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाही लगायतले आआफ्नो धारणा राखेका थिए ।