खोप चिकित्सा विज्ञानको प्रभावकारी उपलब्धि हो । भविष्यमा लाग्न सक्ने कुनै पनि किसिमको सम्भावित रोगबाट शरीरलाई बचाइराख्न खोप लगाउने गरिन्छ । खोपले भविष्यमा हुनसक्ने सम्भावित रोगको खतराबाट सुरक्षित गराउँछ ।
खोप खासगरी सुईको माध्यमबाट सम्बन्धित रोगका मृत वा कमजोर ब्याक्टेरिया मानिसको शरीरमा प्रवेश गराइन्छ । रोगप्रतिरोध गर्ने एन्टिबडी उत्पादन गर्न श्वेत रक्तकोषलाई सक्रिय पारिन्छ ।
नवजात शिशुका लागि उमेर अनुसार खोप तालिका पनि तयार गरिएको छ । यस्तोमा पहिलो पटक आमाबुबा भएकाहरूले नेपालमा नवजात शिशुका लागि कुन-कुन खोप उपलब्ध र कहिले लगाउने भन्नेबारे थाहा पाउनुपर्छ ।
बच्चा जन्मिएपछि खोप तालिकाअनुसार तोकिएको समयमा सबै खोप लगाउँदा बालबालिकामा सरुवा रोगसँग लड्ने क्षमता विकास हुन्छ । बालबालिकामा रोग लाग्ने दर, अपाङ्गता हुने दर र मृत्यु हुने दरमा कमी आउँछ । विभिन्न किसिमको सरुवा रोगबाट बच्न सकिन्छ । त्यसैले बच्चा जन्माएपछि दम्पतीले बच्चालाई दिइने खोपबारे जानकारी लिनुपर्छ । कुन खोप कहिले दिने, कहाँबाट दिने भन्नेबारे स्पष्ट रुपमा बुझ्नुपर्छ ।
कहिले लगाउने ?
बीसीजी खोप
जन्मिने बित्तिकै शिशुलाई बीसीजी खोप लगाउनुपर्छ । यो प्रत्येक स्वास्थ्य केन्द्र र खोप केन्द्रमा पनि उपलब्ध हुन्छ । यसका लागि शुल्क लाग्दैन, सरकारले निःशुल्क वितरण गर्छ । बीसीजी खोपले शिशुलाई क्षयरोगबाट बचाउँछ ।
डीपीटी/हेप बी–हिब
त्यसपछि शिशुलाई ४–४ हप्ताको फरकमा डीपीटी र हेपाटाइटिस बी विरुद्धको खोप दिनुपर्छ । यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुतेरोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमाफिलस बी बाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।
पोलियो
त्यससँगै पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाइलाइटिसबाट जोगाउँछ ।
एफआईपीभी
शिशु १४ हप्ता र ९ महिना भएपछि एफआईपीभी खोप दुई मात्रा दिइन्छ ।
रोटा
६ हप्ता र १० हप्ता गरी दुई पटक दिनुपर्ने यो खोपले रोटा भाइरसद्वारा हुने पखालाविरुद्ध काम गर्छ ।
पीसीभी
६ हप्ता, १० हप्ता र ९ महिनामा पीसीभी खोप लगाइन्छ । यो तीन पटक दिइन्छ, यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।
दादुरा–रुबेला
९ महिना र १५ महिनाको उमेरमा दादुरा-रुबेला विरुद्धको दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।
जेई
१२ महिनाको उमेरमा जेई खोप दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।
टीडी
शिशु मात्र होइन, गर्भवती महिलालाई पनि टीडी दिइन्छ । यसले शिशुलाई धनुष्टङ्कार र भ्यागुते रोगबाट बचाउँछ ।
खोप लगाउन ढिलो भएमा के हुन्छ ?
तोकिएको समय अर्थात् १५ महिनाभित्रै खोप लगाउनु प्रभावकारी हुन्छ । तर कुनै कारणले खोप लगाउन छुट्न वा ढिलो हुनसक्छ । तर ढिलो भयो भन्दैमा खोप नलगाई बस्नु हुँदैन । ढिलै भए पनि खोप अनिवार्य लगाउनुपर्छ । साथै सरकारले ‘डिले खोप’ अर्थात् खोप लगाउन छुटेका वा ढिलो भएकालाई पाँच वर्षसम्म पनि दिने गरेको छ ।
खोप लगाइएन भने के हुन्छ ?
खोप लगाइएन भने शिशुलाई भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमाफिलस बीबाट हुने मेनिन्जाइटिस र निमोनिया जस्ता समस्या देखा पर्न सक्छ ।
खोप नलगाउँदा पोलियोमाइलाइटिस, रोटा भाइरसद्वारा हुने पखाला, मेनिजाइटिस र निमोनिया, दादुरा, रुबेला, जापनिज इन्सेफलाइटिस, धनुष्टङ्कार र भ्यागुते रोग लाग्ने सम्भावना पनि हुन्छ ।
यीमध्ये कुनै एउटा वा दुईवटा खोप लगाउन छुटाइयो भने जुन रोगविरुद्धको खोप लगाउन छुट्यो त्यो रोग लाग्ने सम्भावना हुन्छ ।
खोपको सामान्य साइड–इफेक्ट
खोप लगाएपछि सामान्य दुखाइ, रातोपन, खोप लगाएको ठाउँ वरपर सुन्निने जस्ता साइड-इफेक्ट देखिन सक्छ । तर यो समस्या केही दिनभित्र आफैं समाधान हुन्छ ।
खोप लगाएको ठाउँ वरपरको क्षेत्र दुखाइ महसुस हुने, हल्का ज्वरो आउने जस्ता साइड-इफेक्ट पनि देखिन सक्छ । केही खोपहरू विशेषगरी इन्फ्लुएन्जाको खोप लगाएपछि रुघाखोकी लाग्ने शरीर दुख्ने जस्ता समस्या देखिन सक्छ ।
कसैलाई खोप लगाएपछि हल्का टाउको दुख्ने र केही खोपहरूले अस्थायी मांसपेशी वा जोर्नी दुखाइ हुनसक्छ । साथै साना बालबालिका खोप लगाएपछि बढी चिडचिडापन वा चञ्चल हुनसक्छन् ।