अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ का अनुसार ‘अपांगता भएका व्यक्ति’ भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झिनुपर्छ ।
सन् २०२१ को जनगणनाअनुसार नेपालमा अपांगता भएका जनसंख्याको २.२ प्रतिशत रहेको छ, जुन २०११ मा १.९४ प्रतिशतले थियो भने सन् २००१ को जनगणनाअनुसार नेपालमा ०.४६ प्रतिशत मानिसहरूमा कुनै न कुनै किसिमको अपांगता रहेको पाइएको छ । त्यसमा ५४.२ प्रतिशत पुरुष र ४५.८ प्रतिशत महिला छन् ।
यौन तथा प्रजनन् स्वास्थ्य हरेक मानिसको स्वस्थताको एउटा प्रमुख सूचक हो । विश्व स्वास्थ्य संगठनका अनुसार मानिसको प्रजनन् प्रणाली र यसले गर्ने कार्यहरू स्वस्थ ढंगले नियमित रुपमा सुचारु भई सुरक्षित तथा सन्तुष्ट यौन जीवनयापन गर्न र आफूले चाहेको समयमा आवश्यकताअनुसार स्वतन्त्र ढंगले सन्तान उत्पादन गर्न योग्य हुनु प्रजनन् स्वास्थ्यको प्रमुख ध्येय हो । अपांगता भएका व्यक्तिका लागि प्रजनन् स्वास्थ्यको प्रमुख ध्येयमा गर्दै उनीहरूलाई उचित सेवा प्रदान गर्न अत्यावश्यक छ । उनीहरूले गर्भवती हुनु तथा मातृत्वको अवस्था वा आमा हुन पाउने अधिकार हुन्छ र यसको उपभोग गर्न सक्छन् ।
अपांगता भएका व्यक्तिलाई परिपूर्तिका साथै यौन तथा प्रजनन् स्वास्थ्य सेवाको पहुँच र उपयोगमा समानता र सुरक्षा प्रदान गर्न सक्ने सूचना, संवाद र सहयोग गर्नुपर्छ । यस्ता सेवाले उनीहरूको स्वास्थ्य र परिवारको भलाइमा मद्दत गर्नेछन् । उनीहरूलाई सामाजिक, आर्थिक र व्यक्तिगत स्तरमा सहयोग प्रदान गर्ने कार्यक्रमको प्रावधान गर्न प्रयास गर्नुपर्छ । अपांगता भएका व्यक्तिको सम्मान र अधिकारको रक्षा गर्ने कानुन तथा नीतिहरूको समर्थन गर्न आवश्यक छ । अपांगता भएका व्यक्तिहरूले पनि समाजले प्राप्त गर्नुपर्ने सहभागिता, अधिकार र सुरक्षा भागीदारीका रूपमा स्वीकार गर्न पाउने गर्व र आत्मविश्वास गर्न सक्नुपर्छ ।
अपांगताको प्रकार हेरेर अपांगता भएका व्यक्तिहरूको सञ्चारको तरिका फरक-फरक हुनसक्छ । त्यसैले यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी शिक्षा तथा सूचना प्रदान गर्दा अपांगता भएका हरेक व्यक्तिको रुचि, प्राथमिकता र सीमालाई ध्यान दिएर उपयुक्त सञ्चारको तरिका अपनाउनुपर्छ । अपांगता भएका व्यक्तिका लागि विस्तृत र समावेशी यौन शिक्षा आवश्यक छ ।
अपांगता भएका व्यक्तिलाई पनि अरु मानिस जस्तै यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी आवश्यकता, चाहना तथा सीमाहरुको बारेमा खुलेर सञ्चार गर्न सशक्त बनाउनु जरुरी छ । यसले उनीहरूलाई सम्मानजनक ढंगले जीवन यापन गर्न सहयोग पुग्छ भने सुरक्षित, गोप्य तथा सम्मानजनक वातावरणमा उनीहरूले खुलेर कुरा गर्न सक्छन् र आफ्नो प्रजनन् स्वास्थ्य तथा परिवार योजनाको निर्णय आफैं गर्न सक्छन् । अपांगता भएका व्यक्तिहरू प्रायजसो अनेक मिथ्या, अवहेलना तथा अपूरो बुझाइको सिकार भइरहेका हुन्छन् । अपांगता भएका व्यक्तिहरूले गर्भनिरोधक प्रयोग गर्न र यौनजन्य गतिविधिका लागि आफू अनुकूल उपयुक्त यौन आसन, सहयोगी सामग्रीको प्रयोग आदि अपनाउन सक्छन् ।
अपांगता भएका व्यक्तिमा हुने लैंगिक असमानता र भिन्नतालाई सम्मान तथा आदरभावले हेरेर सबैलाई आवश्यक सेवा तथा सूचना प्रदान गर्नु जरुरी छ । आवश्यकताअनुसार आफ्नो यौन स्वास्थ्यसम्बन्धी निर्णय गर्न, जबरजस्ती करणी, यौन शोषण वा दुरुपयोग विरुद्ध कदम चाल्न, यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको प्रयोग गर्ने जस्ता कानुनी र नैतिक पाटोहरुको बारेमा अपांगता भएका व्यक्तिसहित उनीहरुका सहयोगी र नजिकका व्यक्ति लगायत सबैलाई यसबारेमा सुसूचित गराउन आवश्यक छ ।
अपांगता भएका व्यक्तिले आफ्नो अवस्थाअनुसारको गर्भनिरोधकलाई लामो समयका लागि भरपर्दो विधिको रुपमा अपनाएर गुणस्तरीय जीवन यापन गर्न सक्छन् । तर अपांगताको किसिमअनुसार गर्भनिरोधकले उनीहरुको स्वास्थ्यमा पार्न सक्ने प्रभावको बारेमा सुसूचित हुनुपर्छ । नियमित जाँच तथा फलोअप आवश्यक पर्ने गर्भनिरोधक अपांगता भएका व्यक्तिहरुका लागि प्रभावकारी भए नभएको र अपाङ्गमैत्री भए नभएको यकिन गर्नुपर्छ । अवस्थाअनुसार गर्भनिरोधकलाई सुचारु गर्ने नगर्ने निर्णय लिनुपर्छ । अपांगता भएका व्यक्तिलाई कुनै पनि गर्भनिरोधक प्रदान गर्नुअघि उनीहरुको सुसूचित सहमति लिएर र सम्मानजनक अन्तरक्रियाबाट मात्र सेवा दिनु पर्छ ।
(प्राध्यापक तथा अनुसन्धाता अधिकारी अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा कार्यरत छन् ।)