नेपालगन्जः भेरी अस्पतालको सेवालाई स्तरीय बनाउन सरोकारवाला निकायले सुझाव दिएका छन् । भेरी अस्पतालले आफ्नोे १३४ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्ने सरोकारवालाहरुले पश्चिम नेपालकै प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालले आफ्ना सेवाहरुलाई स्तरीय बनाउनुपर्ने सुझाव दिए ।
उनीहरुले अस्पतालको श्रीवृद्धिका लागि आफ्नो तहबाट हुन सक्ने सहयोगको प्रतिबद्धता समेत जनाएका थिए । प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरले पश्चिम नेपालकै सबैभन्दा पुरानो अस्पतालको रुपमा रहेको भेरी अस्पतालको सेवालाई विरामीमैत्री बनाउन सुझाव दिनुभयो ।
उहाँले ठूला र आलिसन भवन हुँदैमा जनताले राम्रो उपचार नपाउने भन्दै स्तरीय उपचार र सेवामा विशेष ध्यान दिन सुझाव दिनुभयो । उहाँले सबै मिलेर अस्पतालको विकास गरिनुपर्ने धारणा राख्नुभयो । त्यसैगरी लुम्विनी प्रदेशका विना विभागिय मन्त्री वादशा कुर्मीले भेरी अस्पतालले विपन्न तथा गरिव मानिसहरुको उपचार सेवामा ठूलो योगदान पुराएको बताउनुभयो । उहाँले अस्पतालले छिटोछरितो सेवा प्रवाहका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र बहादुर शाहको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले स्तरीय सेवा दिने सवालमा प्रयास भइरहेको बताउनुभयो । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट डा.प्रकाश थापाले अस्पतालले दिईरहेको सेवाबारे जानकारी गराउनुभएको थियो ।
उहाँले कोरोना महामारीमा अस्पतालले हासिल गरेको विश्वास कायम राख्ने गरी सेवा प्रवाहलाई स्तरीय बनाइने बताउनुभयो । कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट हुने ब्यक्तिलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसक्रममा अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।