ग्याष्ट्रिकबाट कसरी पाउने छुटकारा ?

    • स्वास्थ्य पेज

  • १० श्रावण २०८१, बिहीबार

के हो ग्याष्ट्रिक ?
खाद्यनलीले खाएको खानेकुरा पेटमा पुर्याउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ, यो प्राकृतिक कुरा हो । एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका ब्याक्टेरियालाई मार्नेदेखि खाना पचाउनेसम्मको काम एसिडले गर्छ । एसिड सामान्य निस्किए पनि शरीरलाई एसिडबाट बचाउने जुन काम हुन्छ, त्यो काममा कुनै पनि किसिमले कमी आयो भने ग्याष्ट्रिक हुने वरिष्ठ फिजिसियन डा नवीन रौनियारको भनाइ छ । पाचनरसबाट निस्किएको हाइड्रोक्लोरिक एसिडले खाना पचाउन सहयोग गर्छ ।

कुनै कारणवश एसिडको मात्रा बढी हुँदा मानिसले ग्यास्ट्रिक भएको महसुस गर्ने उनको भनाइ छ । उहाँका अनुसार विशेषगरी ७० प्रतिशतमा ग्यास्ट्रिक हुनुको मुख्य कारण हेलिकोपाइलरी कीटाणु हो । यो कीटाणु शरीरमा आफैँ उत्पन्न हुन्छ । जब हाइड्रोक्लोरिक एसिड र हेलिकोब्याक्टर पाइलोरीको उत्पादन तथा मात्रामा तालमेल मिल्दैन, तब ग्यास्ट्रिक हुने गर्छ । कीटाणुको संख्या बढेपछि आमाशय सुन्निन थाल्छ । जसले ग्यास्ट्रिक गराउँछ ।

ग्याष्ट्रिक भएको कसरी थाहा पाउने ?

ग्यास्ट्रिक भएपछि अमिलो डकार आउने, पेटको माथिल्लो भाग दुख्ने, बाउँडिने, फुल्ने, डम्म हुने, छातीको बीचतिर दुख्ने, बान्ता आउने, खाना नरुच्ने, भोक कम लाग्ने, दिसाको रङ कालो हुने, शरीर दुख्ने र कमजोर महसुस गर्नेजस्ता लक्षण देखिने डा.रौनियारले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘आवश्यकभन्दा बढी खाने, खानेबित्तिकै सुत्ने, बढी मात्रामा चिया–कफी पिउने बानी, आधा रातमा खाने, जंकफुड अत्यधिक खाने, मदिरा पिउने, कोकाकोला, पेप्सीजस्ता कोल्ड ड्रिंकले पनि ग्यास्ट्रिक गराउँछ । साथै, कुनै कुराको भय, अनिद्राले पनि ग्यास्ट्रिकको समस्या निम्त्याउँछ ।’

नेपालीको साझा रोग कसरी बन्यो ग्याष्ट्रिक ?

डा.रौनियारका अनुसार अधिकांश नेपालीले खानासँगै गाडेको अचार खाने, पिरो खाने, धेरै मसलेदार खाना खाने गर्दा ग्याष्ट्रिक बढी हुन्छ । अर्को कुरा, हाम्रो बजार अनुगमन गतिलो हुँदैन । ‘जसले जे मन लाग्यो, त्यही पकाएर बेचेको हुन्छ । पश्चिमा मुलुकहरूमा बजार अनुगमन राम्रो छ । नेपालको बेकरी आइटमहरू सबैमा डाल्ला घ्यु प्रयोग हुन्छ । यसले पनि ग्याष्ट्रिक धेरै गराउँछ,’ डा.रौनियारले भन्नुभयो । ​

के छ उपचार ?
ग्याष्ट्रिक पहिलो उपचार भनेको सतर्कता अपनाउनु नै हो । चिकित्सकका अनुसार सुन्तला, कागती, भोगटेलगायत फलफूल खानुहुँदैन । यस्तै, दुग्धजन्य खानेकुराहरू पनि नखाएकै बेस हुने चिकित्सक बताउँछन् । ‘हिजोआज अधिकांश मानिसले आफूखुसी ग्याष्ट्रिक भयो भनेर डाक्टरको सल्लाहविनै औषधि खाने गरेको पाइन्छ । जुन एकदमै गलत अभ्यास हो,’ डा.रौनियार भन्नुहुन्छ, ‘यसरी आफूखुसी औषधि खाँदा पेटभित्र भएका अन्य समस्या बाहिर नआउँदै दबिन्छन् । र, त्यस्ता समस्याले अन्य शारीरिक समस्या निम्त्याउने जोखिम अत्यधिक रहन्छ । त्यसैले ग्याष्ट्रिक भयो भनेर जथाभावी औषधि किनेर खानुहुँदैन ।’

उहाँका अनुसार स्वास्थ्य परीक्षण गराएर कुन किसिमको ग्याष्ट्रिक हो भन्ने पत्ता लगाउनुपर्छ । ग्याष्ट्रिकको प्रकृति हेरेर उपचार गर्नुपर्छ । अल्सर भएको छ भने त्यसको उपचार अलि फरक ढंगले गर्नुपर्छ । ‘एचपाइरल’ भन्ने जीवाणु छ भने त्यो पेटको क्यान्सरसँग पनि जोडिएको हुन्छ । यसको निदान दीर्घकालीन तरिकाले गर्नुपर्छ । भित्र घाउ भएर रक्तश्राव भएको छ भने यस्तो अवस्थामा रगत समेत दिनुपर्ने हुन्छ । इन्डोस्कोपी गरेर अल्सरमा भएको घाउ उपचार गर्नुपर्छ । औषधिले पनि ग्याष्ट्रिक ठीक नभए शल्यक्रिया गर्नपर्ने हुनसक्ने डा. रौनियारको भनाइ छ ।
कसरी बच्ने ग्याष्ट्रिकबाट ?
चिकित्सकका अनुसार सन्तुलित भोजन गर्नुपर्छ । लामो समयसम्म भोकै बस्नुहुँदैन । तर, धेरै तातो खानेकुरा भने खानुहुँदैन । मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ । चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिने डा. रौनियारको भनाइ छ । उहाँका अनुसार स्वस्थ जीवनशैली अपनाउँदा ग्याष्ट्रिकको समस्याबाट सहजै जोगिन सकिन्छ । आफूले खाँदै गरेको खाना आफ्नो स्वास्थ्य स्थितिअनुसार उपयुक्त छ वा छैन ? खाएको खाना आफ्नो पेटले पचाउन सक्छ सक्दैन भन्ने ख्याल गरेर मात्र खाने गर्नुपर्छ । यसका साथै तनावरहित जीवनशैली उपनाउँदा पनि ग्याष्ट्रिकको जोखिमबाट धेरै हदसम्म जोगिन सकिने चिकित्सकको भनाइ छ ।

  • १० श्रावण २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech