हड्डी भाँचिनुलाई चिकित्सकीय भाषामा ‘बोन फ्याक्चर’ भनिन्छ । यसको अर्थ हड्डीमा कुनै किसिमको चिरा पर्नु वा बनावट परिवर्तन हुनु हो । कुनै कारणले हड्डीमा धेरै दबाब परेमा भाँचिने गर्छ । भाँचिएको हड्डीको उपचार भनेको प्लास्टर र शल्यक्रिया जस्ता दुई विधिबाट गर्न सकिन्छ । यस्तोमा हड्डी भाँचिएमा कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ ? हड्डी जोडिन कति समय लाग्छ ? लगायत विषयमा अर्थोपेडिक तथा स्पाइन सर्जन डा. विनोद बिजुक्छेसँगको कुराकानीको सम्पादित अंश :
हड्डी भाँच्चिने कारणहरु के–के हुन् ?
शरीरभित्रका हड्डी विभिन्न कारणले भाँचिन सक्छन् । अक्सर चोटपटक वा दुर्घटनामा पर्दा हड्डी भाँचिने गर्छ । जसलाई ‘ट्रमाटिक फ्याक्चर’ भनिन्छ ।
शरीरमा भएको कुल क्याल्सियमको ९९ प्रतिशत क्याल्सियम हड्डीमा हुन्छ । एक प्रतिशत मात्र रगतमा हुन्छ । हड्डीमा ९९ प्रतिशत क्याल्सियम भएको कारणले नै यो बलियो हुन्छ । यस्तोमा हड्डीमा क्याल्सियमको मात्रा कम हुँदै गयो भने हड्डी मक्किएर सामान्य चोटपटकमा पनि भाँचिने हुन्छ । यस्तो समस्या विशेषगरी महिलामा महिनावारी सुकेपछि हुन्छ । ६० वर्ष कटिसकेपछि पनि हड्डीमा क्याल्सियमको मात्रा कम हुँदै जान्छ र यस्तो समस्या निम्तिन्छ ।
मेरुदण्डको हड्डी भाँच्चिने कारण चाहिं के होला ?
मेरुदण्डको हड्डी भाँच्चिने कारण पनि चोटपटक नै हो । नेपालको सन्दर्भमा भीरबाट लडेर, रुखबाट लडेर, छतबाट खसेर वा सडक दुर्घटनाको कारण मेरुदण्डको हड्डी भाँच्चिने गर्छ ।
भाँचिएको हड्डी आफैं जोडिन्छ ?
शरीरमा हड्डी मात्र यस्तो कुरा हो, जुन भाँचिएपछि आफैं जोडिन्छ र कुनै दाग पनि बस्दैन । छालामा तथा मांसपेशी घाउ भयो भने घाउ निको भएपनि दाग रहन्छ ।
हड्डीको ‘रिमोडलिङ प्रोसेस’ हुन्छ । हड्डी भाँचिएर नपुगेको ठाउँमा शरीरले थप्दै जान्छ र बढी भएको ठाउँमा आफैं शरीरले आफैं निश्चित आकारमा मिलाउँदै जान्छ । यो प्रोसेसले हड्डीलाई एकदमै राम्रो तरिकाले जोड्छ ।
भाँच्चिएको सबै हड्डीहरू जोडिन्छन् तर कसैको अलि ढिलो जोडिन्छ भने कसैको चाँडो जोडिन्छ । कसैको भने हड्डी जोडनको लागि अन्य प्रक्रियाको मद्दत पनि चाहिन्छ ।
हड्डी भाँच्चिंदा शरीरमा रगतको ढिक्का जम्मा हुन सुरु हुन्छ, जुन क्रमशः हड्डीको नजिक एकत्रित हुने गर्छ, जसलाई चिकित्सकीय भाषामा हिमेटोमा भन्ने गरिन्छ । हिमेटोमा थोरै समयको लागि हुन्छ र प्रोटिनसरह काम गर्छ ताकि भाँच्चिएको हड्डी छिट्टै जोड्न सकियोस् ।
भाँचिएको हड्डी जोडिन कति समय लाग्छ ?
भाँचिएको हड्डी जोडिने समय बालबालिकामा र वयस्कमा फरक हुन्छ । तर भाँचिएको हड्डी औसतमा ६ हप्तामा जोडिन थाल्छ । ६ हप्तामा दुखाइ कम हुने, भाँचिएको ठाउँ नहल्लिने हुन्छ, त्यसलाई ‘क्लिनिकल युनियन’ भनिन्छ । एक्स-रे हेर्दा त्यसमा हड्डी जोडिएको देखिन्छ भने त्यसलाई ‘रेडियोलोजिकल युनियन’ भनिन्छ ।
सबैको हड्डी ६ हप्तामै जोडिन्छ भन्ने हुँदैन, कसैमा तीन महिना, ६ महिना पनि लाग्न सक्छ, त्यसलाई ‘डिले युनियन’ भनिन्छ । कसैकसैमा भने हड्डी नजोडिने पनि हुन्छ त्यसलाई ‘नन युनियन’ भनिन्छ । हड्डी भाँच्चिंदा घाउ पनि भएको छ भने संक्रमण हुने, ढिलो जोडिने र नजोडिने समेत हुनसक्छ । ६ महिनासम्म पनि हड्डी जोडिएन भने हड्डीलाई जोड्नका लागि ‘बोन ग्राफ्ट’ अन्य ठाउँको हड्डी खुर्केर ल्याएर नजुटेको ठाउँमा भरेर जोडिन्छ ।
सामान्य चोटपटकका कारण हड्डी भाँचिएको छ भने त्यो छिटो जोडिन सक्छ । तर सडक दुर्घटनामा एकदमै गहिरो चोट लागेर हड्डी भाँचिएको छ भने ढिलो जोडिन सक्छ । चुरोट खाने मानिसको हड्डी ढिलो जोडिने वा नजोडिने हुन्छ । मधुमेह, मिर्गौलाको समस्या जस्तो दीर्घरोग छ भने पनि हड्डी ढिलो जोडिन्छ ।
जुन हड्डीले हाम्रो दैनिक क्रियाकलापलाई खासै असर गर्दैन र अलिकति बाङ्गो भएर जोडिए पनि खासै फरक पर्दैन भने त्यसको हड्डीलाई शल्यक्रिया विना नै उपचार गर्न सकिन्छ । जस्तै ‘क्लाभिकल’ घाँटी नजिकको हड्डीलाई शल्यक्रिया नगरी उपचार गर्न सकिन्छ ।
हातको हड्डी भाँचिएको छ र बाङ्गिएर जोडिने सम्भावना छैन भने शल्यक्रिया नगरी पनि उपचार गर्न सकिन्छ । तर हातखुट्टाको हड्डी बाङ्गो भएर जोडिन सक्छ । जसले गर्दा हात खुट्टाले दैनिक गर्नुपर्ने काममा असर पर्न सक्छ । यस्तोमा हातको हड्डी बाङ्गो भएर नजोडियोस् र पहिले जसरी काम गर्न मिलोस् भनेर शल्यक्रिया गर्नुपर्छ । शल्यक्रिया गर्नुको उद्देश्य हड्डी जोड्नु भन्दा पनि त्यसलाई मिलाएर जोड्ने हो ।
साना बालबालिकाको हड्डी भाँचिएको छ भने उनीहरूमा पनि शल्यक्रिया गर्नुपर्दैन । किनकि बालबालिकामा हड्डी बन्ने प्रक्रिया छिटो हुन्छ । हड्डीको ‘रिमोडलिङ’ सिधा भएर जोडिने प्रक्रिया पनि हुन्छ । तर एकदमै बाङ्गो छ र छोटो छ भने शल्यक्रिया गर्नुपर्ने पनि हुनसक्छ ।
वयस्कहरूमा हड्डी बन्ने प्रक्रिया ढिलो हुन्छ र ‘रिमोडलिङ’ पनि कम हुन्छ । त्यसैले बढ्ने उमेरमा बच्चामा शल्यक्रिया गर्नुपर्दैन र वयस्कमा गर्नुपर्ने हुनसक्छ । खुट्टा, हात, हिप र तिघ्राको हड्डी भाँचिएको अवस्थामा धेरै शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
मेरुदण्डको हड्डी भाँचिएको खण्डमा भने यदि ‘स्टेबल फ्र्याक्चर’ हड्डी छुट्टिएको छैन भने शल्यक्रिया गर्नु पर्दैन । तर ‘अनस्टेबल फ्र्याक्चर’ भाँचिएको हड्डी बाङ्गो हुने र कुप्रो पर्ने सम्भावना छ भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा शल्यक्रिया गरिएन भने पछि ढाड बाङ्गो हुने र मेरुदण्डको नसा तन्किंदै गएर हातखुट्टामा समस्या निम्तिन सक्छ ।
काम्रो बाँधेर लेप लगाएर भाँचिएको हड्डी जोडिन्छ ?
भाँचिएको ठाउँमा काम्रो बाँध्नु हड्डीलाई सपोर्ट दिने राम्रो उपाय हो । यसले हड्डीलाई ठाउँमा राख्छ, सर्नबाट बचाउँछ । तर काम्रो मात्र बाँध्दा अन्य उपचार गरिएन भने त्यो हड्डी बाङ्गो भएर जोडिन सक्छ । बाङ्गो भएर जोडियो भने त फेरि शल्यक्रिया गरेर सिधा बनाउनुपर्छ । त्यसैले काम्रो बान्नेसँगै चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ ।
कतिपयले भाँचिएको ठाउँमा काम्रो बान्दा एकदमै टाइट गरेर बान्ने गर्छन् । जसले गर्दा रगतको सञ्चालन राम्ररी हुन पाउँदैन । रगतको सञ्चालन नभएपछि मासु मरेर जान सक्छ । यस्तो अवस्थामा कसैकसैको हात नै काटेर फाल्नुपर्ने समेत हुन्छ । त्यसैले काम्रो बानेर सर्पोट त गर्ने तर हातमा रगतको सञ्चालन भएको छ कि छैन, औंला राम्ररी चलेको छ कि छैन, एकदमै धेरै दुखाइ छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । केही समस्या भए चिकित्सकको परामर्श लिनुपर्छ ।
भाँचिएर जोडिएको ठाउँ चिसो मौसममा दुख्छ भनेको सुनिन्छ नि ?
भाँचिएर जोडिएको ठाउँ चिसोले दुख्ने होइन त्यो मनोवैज्ञानिक समस्या हो । जुन हड्डी भाँचिएर जोडिएको हुन्छ त्यो हड्डी अझै बलियो हुन्छ । त्यो ठाउँमा नयाँ हड्डी बनेको हुनाले अझै बढी बलियो हुन्छ । जोर्नीको हड्डी भाँचिएको छ भने हड्डी खिइने प्रक्रिया भने अन्य सामान्य व्यक्तिको भन्दा छिटो हुन्छ । हड्डी खिइने प्रक्रिया त सबैमा हुन्छ, यो कपाल फुलेको जस्तै प्राकृतिक प्रक्रिया हो तर जोर्नीको हड्डी भाँचिएको व्यक्तिमा अलि छिटो हुन्छ ।
शल्यक्रिया गर्दा हातमा राखिएको रड निकाल्नुपर्छ कि पर्दैन ?
भाँचिएको हड्डीलाई जोड्न शल्यक्रिया गरेर राखिएको रड निकाल्नु जरुरी हुँदैन । कसैलाई शरीरमा मेटल भएको मन पर्दैन भने उहाँहरूले भने निकाल्ने गर्छन् । अन्यथा त्यसलाई जीवनभर नै राख्न सकिन्छ यसले कुनै असर गर्दैन । यसले क्यान्सर पो गराउँछ कि भन्ने प्रश्न पनि धेरैको हुन्छ तर रड बिग्रिने हुँदैन र असर गर्दैन ।
पहिले स्टिलको रड राखिन्थ्यो अहिले त टाइटेनियम राखिन्छ । स्टिल राख्दा एमआरआई गर्न अलि अप्ठेरो हुनसक्छ तर टाइटेनियमको छ भने एमआरआई पनि गर्न मिल्छ । त्यसैले रड राख्दा केही असर पो हुन्छ कि भनेर डराउनु पर्दैन ।
युवाहरूमा रड राखिएको छ भने उनीहरूलाई चाहिं निकाल्ने सल्लाह दिइन्छ, अझ विशेषगरी खुट्टाको । युवाहरू धेरै सक्रिय हुन्छन् । धेरै उफ्रिदा दौडिंदा फेरि हड्डी भाँचियो भने रड पनि भाँच्चियो भने उपचार गर्न गाह्रो हुन्छ, त्यसैले निकाल्ने सल्लाह दिइने हो ।
रडलाई निकाल्नुपर्ने अवस्थामा हड्डी पूर्ण रुपमा जोडिएपछि १५ महिनादेखि दुई वर्षभित्रमा निकाल्नुपर्छ । धेरै ढिला भयो भने निकाल्न गाह्रो हुन्छ त्यसैले दुई वर्षभित्र निकाल्नुपर्छ ।