नेपालगन्जः बाँके पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा घोषणा भएको छ । आज नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि ५९ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र चौधारीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनले दाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्लाका भएको घोषणा गर्नुभएको हो । स्वास्थ्यमन्त्री पुनले खोपको सुनिश्चिततासँगै यसको दीगोपनाका लागि सबै पक्षले काम गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्यमन्त्री पुनले शिक्षा र स्वास्थ्य राज्यको पहिलो दायित्व भएको हुँदा सबैलाई यसको पहुँचमा पुर्याउने प्रयास जारी रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख चोधरीले नेपाल सरकारले लिएको लक्ष्यलाई पूरा गर्न सबै तह लाग्नुपर्ने बताउनुभयो ।
स्वस्थ शरीर नै व्यस्त जनशक्तिको मुख्य आधार भएको भन्दै उहाँले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिन लाग्नुपर्ने बताउनुभयो । जिल्लामा पूर्ण खोपको अवस्थाका बारेमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख अंगबहादुर शाहीले जानकारी गराउनुभएको थियो ।