युद्ध संस्कृत माविमा निःशुल्क मुटुको चेकजाँच तथा परामर्श सेवा सुरु

    • स्वास्थ्य पेज

  • २० असार २०८१, बिहीबार

नेपालगन्जः नेपालगन्जस्थित युद्ध संस्कृत माविका विद्यार्थीहरुलाई लक्षित गरेर आजदेखि निःशुल्क मुटुको चेकजाँच तथा परामर्श सेवा सुरु भएको छ । तेजस्वी हर्ट सेन्टर र लायन्स क्लव अफ नेपालगन्ज जीवनको संयुक्त आयोजनामा मुटुको चेकजाँच तथा परामर्श सेवा सुरु भएको हो । तीन दिन सम्म चल्ने उक्त कार्यक्रममा डिएम कार्डियोलोजिष्ट डा. विकास नेपालले विद्यार्थीहरुको मुटुको चेकजाँच र परामर्श सेवा दिनुभएको छ ।

मुटु बाथरोग र जन्मजात मुटु सम्वन्धी समस्याको पहिचानगरी उपचारको पहुँचमा ल्याउन यो कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने डा.नेपालले बताउनुभयो । उहाँका अनुसार आज पहिलो दिन २५ जना बालबालिकाहरुको इको गरिएको छ । त्यसमा दुई जनामा मुटु बाथरोगको लक्षण चिन्ह देखिएको छ ।

१२ वर्षीया छात्रा र १६ वर्षीय छात्रामा यो समस्या पाइएको हो । दुई सय विद्यार्थी अध्ययनरत युद्ध माविमा पाँच वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुको इको गरिने बताइएको छ । निम्न आयस्तर, गरीव तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने युद्ध माविमा यस खालको स्वास्थ्य सेवाले बालबालिकाहरुलाई ठूलो राहात मिलेको विद्यालयले जनाएको छ । डा.नेपालका अनुसार पछिल्लो समय मुटु बाथरोगको समस्या देखिने गरेको छ । समयमै उपचार पाए निको हुने यो रोगको पहिचानमा अभिभावकहरुले खासै चासो नदिएको पाइएको छ ।

किशोरावस्थामा घाँटीमा हुने संक्रमणलाई बोलीचालीमा टन्सिल भएको भनिन्छ भने त्यसको चिकित्सीय नाम चाहिँ टन्सिलाइटिस हो । यो समस्या घाँटीको ग्रन्थीमा संक्रमण भई सुन्निने, निल्न गाह्रो हुने, दुख्ने जस्ता यो समस्या ‘स्ट्रेप्टोकोकस व्याक्टेरिया’को कारणले हुन्छ । टन्सिलाइटिसको समयमा उपचार नभएमा मुटु बाथ रोग लाग्छ । हुन त कतिलाई स्ट्रेप्टोकोकसको संक्रमण हुँदामै बाथ रोग लागिहाल्छ भन्ने हुँदैन । राम्रो उपचार भयो भने त्यो समस्या त्यहीँ निको भएर जाने चिकित्सकहरु बताउँछन् ।

  • २० असार २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech