गर्भावस्थामा एक्स-रे गर्दा भ्रूणलाई असर गर्छ ?

पेट र पाठेघर नजिकैको भागमा एक्स-रे गर्नुपर्दा अझ बढी जोखिम हुन्छ । एक्स-रेबाट निस्किने विकिरणले  सिधै गर्भभित्रको भ्रूणलाई असर गर्नसक्छ भने हातखुट्टामा गर्दा कम असर पुर्‍याउँछ ।


    • डा. कीर्तिपाल सुवेदी / प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

  • २० असार २०८१, बिहीबार

स्वास्थ्य उपचार गर्दा कुनै रोग पत्ता लगाउने एक विधि हो एक्स-रे । तर एक्स-रे गर्ने क्रममा विभिन्न कुरालाई ख्याल राख्नुपर्छ । गर्भअवस्थामा त सकेसम्म एक्स-रे नगर्नु नै राम्रो हुन्छ । किनकि यसले गर्भभित्रको भ्रूणलाई नकारत्मक असर गर्न सक्छ ।

के हो एक्सरे ?

एक्स-रे एउटा किरण (रे) हो, जसले शरीरभित्रको रोग पत्ता लगाउन सहयोग गर्नुका साथै शरीरमा केही मात्रामा हानि पनि गर्छ । एक्स-रे निस्किने विकिरणमा शरीरभित्रको कोषिकालाई निष्क्रिय तथा मार्ने काम गर्छ । त्यस्तै गर्भावस्थामा एक्स–रेबाट निस्किने उच्च प्रकाशको विकिरण अर्थात् रेडिएसनको कारण गर्भभित्रको भ्रूणको वृद्धि विकासमा समस्या आउन सक्छ, जसकारण जन्मजात अपांगता हुने, जन्मिसकेपछि शिशुमा ढिलो वृद्धि विकास हुने तथा गर्भपातको जोखिम समेत बढाउन सक्छ । विकिरणको कारण कोषिका क्षति हुने सम्भावना हुनसक्छ ।

कुनबेला बढी जोखिम हुन्छ ?

गर्भावस्थाको तीनवटा त्रैमासिक हुन्छ- पहिलो, दोस्रो र तेस्रो । गर्भावस्थामा गरिने एक्स–रेले पहिलो त्रैमासिकमा नकारात्मक असर गर्न सक्छ । यसबेला गर्भभित्र भ्रूणको विकास भइरहने भएकाले भ्रूणको मुख्य अंग र प्रणालीहरू बनिरहेका हुन्छन् । यस्तो अवस्था एक्स-रे गर्दा त्यसबाट निस्किने विकिरणको असरले भ्रूणको विकासका समस्या ल्याउन सक्छ । किनकि एक्स-रेबाट निस्कने विकिरणले भ्रूणभित्र विकास भइरहेको कोषिकालाई निष्क्रिय गर्ने तथा मार्ने काम गर्छ ।

त्यस कोषिकाको विभाजनमा असर गर्ने, विभाजन भएको कोषिका पनि नराम्रो गर्छ । जसकारण भ्रूणको शारीरिक तथा मानसिक वृद्धि विकासमा असर गर्छ । जन्मजात अपाङ्गता हुने, शिशु जन्मिसकेपछि वृद्धिविकासमा ढिलाइ हुने समस्या हुनसक्छ । ढिलो बोली फुट्ने, ढिलो हिंड्ने पनि हुनसक्छ ।

एक्स-रेका कारण कहिलेकाहीं गर्भपातको जोखिम हुन्छ, जुन गर्भवतीको पहिलो त्रैमासिकमा बढी हुन्छ भने तुलनात्मक रुपमा गर्भावस्थाको दोस्रो र तेस्रो त्रैमासिकमा गर्भपात हुने जोखिम कम हुन्छ । त्यस्तै दोस्रो र तेस्रो त्रैमासिकमा भ्रूणको वृद्धि विकास भइरहेको हुनसक्छ । यसबेला पहिलो त्रैमासिक भन्दा यी त्रैमासिकमा जोखिम कम भएपनि एक्स–रे विकिरणको कारण गर्भभित्रको भ्रूणलाई क्यान्सर जस्ता गम्भीर रोगको पनि जोखिम हुनसक्छ ।

तर यसो भन्दैमा एक्स-रे गर्दैमा गर्भभित्रको भ्रूणमा असर गरिहाल्छ भन्ने होइन । यो गर्भवती महिलाको स्वास्थ्य र एक्स-रेको मात्रा अनुसार फरक-फरक हुन्छ । साथै विकिरणले पुर्‍याउने जोखिम पनि मानिसअनुसार फरक हुन्छ । जति धेरैपटक एक्स-रे गर्‍यो, उति जोखिम हुने सम्भावना भने हुन्छ ।

पेट र पाठेघर नजिकैको भागमा एक्स-रे गर्नुपर्दा अझ बढी जोखिम हुन्छ । एक्स-रेबाट निस्किने विकिरणले  सिधै गर्भभित्रको भ्रूणलाई असर गर्नसक्छ भने हातखुट्टामा गर्दा कम असर पुर्‍याउँछ ।

कसरी जोगिने त ?

बिरामीअनुसार एक्स-रेको डोज फरक-फरक हुन्छ । त्यसैले गर्भावस्थामा एक्स-रे गर्नैपर्ने अवस्थामा पेटमा लिड एप्रोन लगाएर एक्स-रे गर्न सकिन्छ । यसले गर्भको भ्रूणलाई एक्स-रेबाट निस्किने विकिरणबाट जोगाउँछ ।

त्यस्तै गर्भधारणको योजना बनाइरहेको अवस्थामा कहिलेकाहीं महिनावारी रोकिएको दुई-चार दिन मात्र भएको छ भने गर्भवती भए नभएको जाँच गरेर मात्र एक्स-रे गर्नुपर्छ । किनभने यसले गर्दा भ्रूणमा नकारात्मक असर हुनसक्छ ।

  • २० असार २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech