बाँकेका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    • स्वास्थ्य पेज

  • १९ असार २०८१, बुधबार

नेपालगन्ज: बाँके जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले सबै पालिकालाई हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नु र्ने जनाउँदै चालु आर्थिक वर्षमा जिल्लाका आठ वटै पालिकामा रहेका खोप लगाउने उमेरका सबै बालबालिकालाई खोप लगाएर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताउनुभयो ।

उहाँले बाँकेको सबैभन्दा दुर्गम मानिने नरैनापुर गाउँपालिका, सबैभन्दा सुगम नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी, बैजनाथ, डुडुवा, खजुरा र जानकी गाउँपालिका गरेर आठ वटै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताउनुभयो । फोकल पर्सन श्रेष्ठले जिल्लाका सबै पालिकामा खोपका सबै मापदण्ड पूरा गरेर समय सीमा भित्रै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार समग्र जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न यसअघि माघदेखि वैशाखसम्म ‘खोज र खोप’ अभियान सञ्चालन गरेर १६ देखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरिएको थियो । छुटेका सबै बालबालिकालाई पुनः खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिनकै लागि हरेक वर्ष हरेक पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्ने गरिएको बताउनुभयो । उहाँले यो घोषणालाई कायम राख्न जिल्लाका सबै पालिकामा निरन्तर अनुगमन र निरिक्षण आवश्यक रहेको पनि बताउनुभयो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बालबालिकालाई अहिले १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप लगाउने गरिएको छ ।

  • १९ असार २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech