अस्पताल निर्माणमा बजेटको अभाव, पाँच महिनादेखि काम ठप्प

    • स्वास्थ्य पेज

  • १२ असार २०८१, बुधबार

नेपालगन्जः बाँकेको जानकी गाउँपालिकामा निर्माण भइरहेको १५ शैयाको अस्पतालको निर्माण कार्य बजेट अभावमा रोकिएको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय सेवा दिनका लागि निर्माण भइरहेको उक्त अस्सपताल गत पाँच महिनादेखि बजेट अभावमा रोकिएको हो ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयको ११ करोड ४४ लाख रुपियाँको बजेट लागतमा निर्माण भइरहेको अस्पतालको निर्माण कार्य ८० प्रतिशत पुरा भएपनि थप बजेट नआउँदा निर्माण रोकिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य मन्त्रालयले निर्माण कम्पनीलाई बजेट नपठाउँदा गत माघ महिनाबाट निर्माणको काम रोकिएको जानकी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानाले बताउनुभयो ।

जानकी गाउँपालिकाको ४ को कार्यालय परिसरमा निर्माण भइरहेको सो अस्पतालका लागि संघीय स्वास्थ्य मन्त्रालयबाट आउन बाँकी रहेको बजेट प्राप्त भएमा आउने आर्थिक वर्षमा अस्पताल निर्माणको काम सम्पन्न हुने उहाँको भनाइ छ । गाउँपालिकाका अनुसार निर्माणाधीन अवस्थामा रहेको १५ शय्याको अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले जानकी गाउँपालिकाले नै अस्पताल सञ्चालन गर्नुपर्ने पत्र पठाएको छ ।

तर अस्पताल सञ्चालनका लागि पालिकाले सबै खर्च बेहोर्न परेमा सञ्चालन गर्न निकै चुनौती भोग्नुपर्ने अवस्था रहेको पालिकाको स्वास्थ्य शाखा प्रमुख रानाले बताउनुभयो । १५ शैयाको अस्पताल सञ्चालन गर्नका लागि ३ जना डाक्टर सहित परामेडिक्स, नर्सिंङ्ग, ल्याब, रेडियोलोजी, स्विपर, कार्यालय सहयोगी र गार्ड गरी ३४ जना जनशक्ति आवश्यक पर्ने मापदण्ड रहेकोले सो को खर्च धान्न पालिकालाई समस्या पर्ने जनाइएको छ ।

  • १२ असार २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech