कोहलपुरः कोहलपुर नगरपालिकाका सिकलसेलका रोगीहरुलाई वीमा रकम हस्तान्तरण गरिएको छ । मंगलवार नगर उपप्रमुख संगिता सुवेदीले रोगीहरुलाई वीमा रकम हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा कोहलपुर नगरसभा हलमा आयोजित हस्तान्तरण कार्यक्रममा उहाँले रोगीहरुको उपचारमा सहजता ल्याउन वीमा रकम वाफतको एक लाख रुपैयाँ हस्तान्तरण गरिएको जानकारी दिनुभयो । प्रदेश सरकारबाट चालू आर्थिक वर्षका लागि सिकलसेलका बिरामीलाई एक लाख वीमा रकम प्राप्त भएको थियो । ‘सिकलसेलका बिरामीहरुको अवस्था जटिल छ उहाँले भन्नुभयो–‘स्थनीय सरकारले गर्न सक्ने जतिको पहल गरेको छ । कम्तिमा एक लाख वीमा रकमले रोगीहरुको उपचारमा ठूलो सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास छ ।’ कोहलपुर नगरपालिकाले पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको पहिचान, निदान र उपचारका लागि प्राथमिकताका साथ काम गरिरहेको पनि बताउनुभयो ।
सिकलसेल एनिमिया तथा थालेसिमिया थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । थारुबाहुल कोहलपुर नगरपालिकामा पनि सिकलसेल र थालेसिमियाका बिरामी धेरै फेला परेका छन् । ‘कोहलपुर नगरपालिकाले कुनै पनि नागरिकहरु स्वास्थ्यको पहुँच भन्दा वाहिरका हुनु हुदैन भन्ने नीति लिएको छ उहाँले भन्नुभयो–‘थारु समुदायमा लुकेर रहेको वंशाणुगत सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको पहिचान, निदान र उपचारका लागि विभिन्न कार्यक्रम गर्दैै आएको छ ।’
सिकलसेल तथा थालेसिमिया रोगका पहिचानका लागि कोहलपुर नगरपालिकाले लक्षित समुदायको स्क्रिनिङ गर्दै आएको छ । त्यसैगरी रोगको न्यूनिकरणका लागि विद्यालय केन्द्रीत सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । रोगीको उपचार र व्यवस्थापनमा समेत पालिकाले प्रभावकारी काम गर्दै आएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सिकलसेल तथा थालेसिमियाका रोगीको पहिचान गरी उनीहरुको उपचारमा सहयोग पुर्याउन प्रदेश सरकारले वीमा कार्यक्रम ल्याउनु अन्तन्तै उपयोगी भएको बताउनुभयो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रममै यो पटक सिकलसेलका रोगीको लागि वीमा कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो ।
उहाँले त्यहीँ कार्यक्रम अन्तर्गत कोहलपुरमा पहिचान भएका रोगीलाई वीमा कार्यक्रममा समेटिएको बताउनुभयो । कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विकले सिकलसेल तथा थालेसिमियाका रोगीका लागि सरकारले आजिवन उपचारको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
कोहलपुर नगरपालिकामा अहिलेसम्म ७८ जना सिकलसेलका रोगी पहिचान भएका छन् । तीमध्ये सम्पर्कमा आएका ४८ जनालाई मंगलवार वीमा रकम हस्तान्तरण गरिएको कोहलपुर सिकलसेल ल्याव इन्चार्ज शिव गौतमले जानकारी दिनुभयो । कोहलपुरमा अहिलेसम्म १२ हजारको स्क्रिनिङ गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार बैजनाथमा ३५ जना र राप्तीसोनारीमा १२ जनालाई वीमा रकम हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले पहिचान भएका र सम्पर्कमा आएका रोगीहरुलाई क्रमश कार्यक्रममा समेट्दै लगिने पनि उल्लेख गर्नुभयो ।