नेपालगन्जः चिकित्सा शिक्षा आयोगमा नाम सिफारिस गर्न गठित समितिले रिक्त रहेका पदमा चार जनाको नाम सिफारिस गरेको छ। समितिका संयोजक रामकुमार फुयालका अनुसार प्रस्तुतीकरण र अन्तर्वार्तापछि प्राडा सुदीप आचार्य, प्राडा गुरु बराल, प्राडा सुजनबाबु मरहठ्ठा र प्राडा सरला श्रेष्ठको नाफ सिफारिस गरिएको छ।
उहाँले चारै जनालाई आयोगमा जिम्मेवारी समेत सिफारिस गरिएको जानकारी दिनुभयो। प्राडा आचार्यलाई मापदण्ड तथा प्रत्यायन निर्देशनालय, प्राडा बराललाई नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज, प्राडा मरहठ्ठालाई समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय र प्राडा श्रेष्ठलाई परीक्षा निर्देशनालयको जिम्मेवारीमा सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । योसँगै समितिले थप चार जनालाई वैकल्पिक सूचीमा राखेको छ। सिफारिस समितिले अल्पसूचीमा रहेका १२ जनासँग अन्तर्वार्ता लिएको थियो भने उनीहरुको प्रस्तुती हेरेको थियो।
समितिले सिफारिस गरेका नामहरुका आधारमा उपाध्यक्षले नियुक्त गर्ने व्यवस्था चिकित्सा शिक्षा ऐनमा रहेको छ। ऐनको दफा २९ अनुसार गठित सिफारिस समितिले दिएको सिफारिसमा उपाध्यक्षले निर्देशकको नियुक्त गर्ने व्यवस्था उल्लेख छ।आयोगको उपाध्यक्षमा प्राडा अन्जनीकुमार झा रहनु भएको छ । आयोगका निर्देशक समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ३० असोजमा डा फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको थियो । समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य रहनु भएको छ ।