नेपालगन्जः अत्यधिक गर्मीका कारण बाँकेमा मानिसहरुको मृत्यु भइरहेका समाचारहरु आउन थालेका छन् । अहिलेसम्म चारजनाको गर्मीकै कारण मृत्यु भएको भनिएको छ । तर गृहप्रशासनसँग न त्यसको तथ्यांक छ न त चिकित्सकहरुले नै त्यसको पुष्टि गरेका छन् । यद्यपि विगत एक महिनादेखि नेपालगन्जको तापक्रम ४० डिग्री माथि र ४५ डिग्री तलको पेरीफेरीमा छ । यो तापक्रम बाँकेबासीका लागि खासै आश्चर्य चकित पार्ने खालको होइन । किनभने गर्मीमा अत्यधिक गर्मी र जाडोमा अत्यधिक जाडो हुने पहिचान बाँकेको छ । अघिल्ला वर्षको तापक्रम भन्दा यो वर्षको तापक्रम अलि फरक छ ।
अघिल्ला वर्षहरुमा लगातार एक डेढ महिनासम्म तापक्रम यही पेरीफेरीमा थिएन् । पानी पर्ने र तापक्रम घट्ने बढ्ने भइरहेको हुन्थ्यो । यो पटक भने तापक्रम महिनौ दिनसम्म स्थिर हुँदा बाँकेबासीले गर्मी अत्यधिक महसुस गरेका छन् । के बाँकेमा गर्मीकै कारण मानिसहरुको फ्याट्–फ्याट् मृत्यु भइरहेको हो त ? भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे गर्मीकै कारण मानिसको मृत्यु भएको परीक्षण नगरि भन्न नसकिने बताउनुहुन्छ ।
‘जाडो होस् वा गर्मी मानिसहरुको मृत्यु भइरहेकै हुन्छ उहाँ भन्नुहुन्छ–‘तर गर्मीकै कारण मृत्यु भएको भन्न परीक्षण जरुरी हुन्छ ।’ भेरी अस्पतालमा अहिलेसम्म ‘हिट स्ट्रोक’ भएका बिरामीको पहिचान हुन नसकेको उहाँको भनाइ छ । हिट स्ट्रोक भनेको ४० डिग्रीभन्दा माथि तापक्रम भएपछि शरीरले आफ्नो तापक्रम सन्तुलन राख्ने क्षमता गुमाउनु हो । चक्कर लागेर मृत्यु भएको हुँदैमा गर्मीकै कारण मृत्यु भएको हो भनेर पुष्टि गर्न नसकिने डा.पाण्डे बताउनुहुन्छ ।
नेपालगन्ज मेडिकल कलेजका बरिष्ठ फिजिसियन डा.असिम किदवाई गर्मीले मृत्यु भएको पुष्टि गर्न पोष्टमाटर्म रिपोर्ट आवश्यक पर्ने बताउनुभयो । तर गर्मीले गर्दा बिरामीको चाप बढेको भने उहाँको भनाइ छ । डिहाइड्रेसन, विपि लो, सक् हुनु, मिर्गौला फेललगायतका समस्या भएका बिरामी अस्पतालमा आइरहेको डा. किदवाईले बताउनुभयो । उहाँले यस्ता समस्या आउनुको एउटा कारण अत्यधिक गर्मी भएको पनि बताउनुभयो ।
यो याममा हुने आमसमस्या हो— शरीरमा पानीको कमी । तीव्र गर्मीले डिहाइड्रेसनको समस्या हुने गर्छ यति बेला । गर्मीमा पसिना बढी निस्कनु र शरीरबाट तरल निस्केको अनुपातमा पानीको परिपूर्ति गर्न नसक्नुले मात्र नभएर झाडापखाला, बान्ता लगायतका समस्याले समेत शरीरमा पानीको अत्यधिक कमी हुने गर्छ। । छालामा भएको ग्रन्थीबाट बन्ने नुनिलो तरल पदार्थ नै पसिना हो । जब हावाको तापक्रम छालाको तापक्रमजतिकै हुन्छ वा यसभन्दा बढी हुन्छ, त्यतिखेर वाष्पीकरणको माध्यमले चिसो हुनु एक मात्र विकल्प हुन्छ । यसैको माध्यमले शरीरले वातावरण र आफूबीच तापक्रमको सन्तुलन कायम गर्छ।
शरीरलाई चिस्याउने प्रक्रिया हो यो । यस्तो अवस्थामा पानीको कमी त्यतिखेर हुन्छ, जब हामीले खाने तरल पदार्थको दाँजोमा शरीरले बढी मात्रामा पानी त्याग गर्छ। अर्थात्, शरीरलाई आवश्यक भएको दाँजोमा कम मात्रामा तरल पदार्थ प्राप्त हुन्छ । ‘अति गर्मीले गर्दा पसिनाको माध्यमले बढी पानी निस्किँदा यसले पानीको कमीसँगै शरीरको रासायनिक सन्तुलन बिगार्छ,’ भेरी अस्पताल नेपालगन्जमा मुटु रोग विभागमा कार्यरत फिजिसियन डा. विपिन आचार्य भन्नुहुन्छ, ‘यसलाई सामान्य व्यक्तिले झेल्न सके पनि दीर्घरोगी, बालबालिका र बूढापाकालाई बढी समस्या पर्छ ।’
मुटु र मिर्गौला रोगी, उच्च रक्तचाप, मधुमेह भएकाहरू, बालबालिका र बूढापाकालाई बढी गर्मीले पसिना निस्केर शरीरमा पानीको असन्तुलन हुनु घातक हुन सक्छ । शरीरबाट बढी पानी निस्किँदा डिहाइड्रेसन भई हृदयाघातको खतरासमेत हुने गर्छ । शरीरमा पानीको कमी हुँदा रगत बाक्लो हुने हुँदा मधुमेह र अनियन्त्रित रक्तचापको समस्या भएकाहरूलाई हृदयाघातको खतरा बढ्छ। मुटु, मिर्गौला, मधुमेहका रोगीले गर्मीबाट जतिसक्दो जोगिने गर्नुपर्छ, शरीरमा पानीको कमी हुन दिनुहुन्न ।
थकाइ, एकाग्रतामा कमी, कमजोरी, रिंगटा, वाकवाकी, टाउको दुखाइ, मांसपेशीमा अचानक निकै पीडा आदि डिहाइड्रेसनका लक्षणहरू रहेको चिकित्सकहरु बताउँछन् । भेरी अस्पताल नेपालगन्जका फरेन्सिक विज्ञ डा. अरविन शाक्य गर्मीकै कारण अहिलेसम्म मृत्यु भएको पुष्टि नभएको बताउनुहुन्छ । गर्मीबाट मृत्यु भएको केसहरु पोष्टमार्टमका लागि भनेर भेरी अस्पतालमा नआएको उहाँको भनाइ छ । तर पोष्टमार्टम गरिएका एक दुई जनाको केसमा गर्मीका कारण मृत्यु भएको हुन सक्ने आंशका गर्ने ठाउँ भने रहेको डा. शाक्यको भनाइ छ । ती केसमा रगत बाग्लो भएको र मस्तिष्क सुनिएको पाइएको थियो ।
‘गर्मीकै कारण मृत्यु भएको हो भनेर पुष्टि गर्नका लागि त थुप्रै ल्याव टेष्टहरु गर्नुपर्ने हुन्छ त्यो यहाँ सम्भव छैन उहाँले भन्नुभयो–‘दुई जनाको डेथ बढीको पोष्टमार्टम गर्दा गर्मीका कारण उनीहरुको मृत्यु भएको आंशका गर्न मिल्ने ठाउँ थियो ।’ तर गर्मीका कारण मृत्यु भएका भनिएका ती व्यक्तिहरुको पोष्टमार्टम भने भए नभएको स्थानीय प्रशासनसँग कुनै तथ्यांक छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले गर्मीकै कारण मृत्यु भएको पुष्टि अहिलेसम्म बाँकेमा नभएको बताउनुभयो ।