मिर्गौलालाई खराब हुनबाट कसरी जोगाउन सकिन्छ ?

मिर्गौलाको समस्या सबैलाई हुनसक्छ तर मधुमेह, उच्च रक्तचाप, मोटोपन भएका र लगातार नदुख्ने औषधिको सेवन धेरै गर्ने व्यक्तिलाई जोखिम हुन्छ । त्यस्तै परिवारमा कसैलाई मिर्गौलासम्बन्धी समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि सम्भावना हुन्छ । क्रोनिक ग्लोमोरुलो नेफ्राइटिस भएकालाई जोखिम बढी हुन्छ ।


    • प्रियास्मृति ढकाल

  • ५ असार २०८१, बुधबार

मिर्गौला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्गमध्ये एक हो । मिर्गौलाले शरीरका विकारयुक्त कुरा फाल्ने काम गर्छ । रगतमा हुने विषाक्त पदार्थलाई फिल्टर गर्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम मिर्गौलाले गर्छ ।

यसले खास गरेर युरिया, क्रिएटिनिन, एसिड जस्ता विषाक्त पदार्थलाई रगतबाट टाढा राख्ने काम गर्दछ । खानामार्फत विषाक्त पदार्थ मूत्रथैलीमा पुग्छ, यी सारा फोहोर पदार्थ पिसाबसँगै बाहिर निस्कन्छ ।

तर जब मिर्गौलामा समस्या देखिन थाल्छ, यी खतरनाक चीजहरू रगतमा मिसिन थाल्छन् र हामी बिरामी पर्न थाल्छौँ । मिर्गौला निकै छिटो बिग्रने भएकोले क्रोनिक किड्नी डिजिजलाई साइलेन्ट किलर पनि भनिन्छ । तर मिर्गौला फेल हुनुअघि शरीरमा केही लक्षणहरू देखिन थाल्छ ।  लक्षणहरू यति सामान्य हुन्छ कि यसलाई चिन्नै मुस्किल हुन्छ ।

मिर्गौला खराब हुँदा देखिने लक्षण

  • वाकवाकी लाग्ने र बान्ता हुने

तपाईंलाई अनावश्यक रूपमा वाकवाकी लागेको महसुस भइरहेको छ र खानेकुरा खाने  बित्तिकै वाकवाकी लाग्छ भने यो पनि मिर्गौलामा समस्याको सङ्केत हुन सक्छ ।

  • भोक हराउँछ

मिर्गौलामा समस्या भएपछि भोक लाग्न छाड्छ । पेट सधैँ भरिएको, डम्म भएको महसुस हुन्छ । जसले गर्दा बिरामीलाई खान मनै लाग्दैन ।

  • थकान र कमजोरी

तपाई जति बेला पनि थकित र कमजोर महसुस गरिरहनु हुन्छ भने यसको एउटा कारण मिर्गौलामा खराबी पनि हुन सक्छ । केही पाइला हिँड्दै खेरि थकाइ लाग्छ र भित्रदेखि कमजोरी महसुस हुन्छ भने यस्ता लक्षणहरूलाई हल्का रूपमा लिनुहुन्न ।

  • निद्रामा समस्या

निद्रा गायब हुनु राम्रो कुरा होइन । मिर्गौलाको समस्या भएका मान्छेको निद्रा बिग्रिन्छ । भएको छ । रातभरि ओल्टे कोल्टे फर्किँदै समय बित्छ भने यो पनि मिर्गौलामा समस्याको सङ्केत हुन सक्छ ।

  • धेरै वा कम पिसाब आउनु

सामान्य मानिसले दिनमा ६ देखि ७ पटक पिसाब गर्छन् । तर तपाई यो भन्दा धेरै पटक पिसाब गर्नुहुन्छ वा दिनमा ३ देखि ४ पटक मात्रै पिसाब आउँछ भने यो पनि मिर्गौला फेल हुने लक्षण हुन सक्छ ।

  • मानसिक तीक्ष्णतामा कमी

तपाई सधैँ थकित महसुस गर्नुहुन्छ, मानसिक रूपमा अलर्ट महसुस गर्नु हुन्न । कुनै पनि कुरा सोच्न र बुझ्न कठिनाइ भइरहेको छ भने यो पनि मिर्गौला फेलको लक्षण हुन सक्छ ।

  • मांसपेशी बाउँडिने र खुट्टा सुन्निने

बारम्बार मांसपेशी बाउँडिन्छ र खुट्टा र गोलीगाँठा सुन्निएको छ भने यो पनि मिर्गौला फेल भएको सङ्केत हुन सक्छ ।

  • अन्य लक्षणहरू

यसबाहेक टाटे पाङ्ग्रे देखिने गरिने छाला सुख्खा हुनु, उच्च रक्तचाप नियन्त्रण गर्न समस्या हुनु, सास फेर्न गाह्रो हुने, छाती दुखाई महसुस हुनु आदि पनि मिर्गौला फेल हुनुअघिका लक्षणहरू हुन सक्छन् ।

मिर्गौला के कारण बिग्रिन्छ ?

मिर्गौला बिग्रिने मुख्य कारण नै मधुमेह हो । पहिले विकसित मुलुकहरुमा मात्रै धेरै देखिने मधुमेह अहिले विकासशील र विकासोन्मुख मुलुकको पनि साझा बनेको छ । पहिला मधुमेहको समस्या उमेर ढल्केपछि देखिन्थ्यो भने आजभोलि वयस्क अर्थात् ३०-४० वर्षमा नै देखिन थालेको छ । उच्च रक्तचाप, क्रोनिक ग्लोमोरुलो नेफ्राइटिस (यो एक प्रकारको पिसाबबाट प्रोटिन चुहिने रोग हो ।) हुनसक्छ । त्यस्तै मिर्गौलामा पत्थरीको उपचार समयमा नगरेमा र अन्य वंशाणुगत रोगका कारणले पनि मिर्गौला फेल हुनसक्छ ।

कस्त व्यक्तिको मिर्गौला फेल हुने जोखिम हुन्छ ?

मिर्गौलाको समस्या सबैलाई हुनसक्छ तर मधुमेह, उच्च रक्तचाप, मोटोपन भएका र लगातार नदुख्ने औषधिको सेवन धेरै गर्ने व्यक्तिलाई जोखिम हुन्छ । त्यस्तै परिवारमा कसैलाई मिर्गौलासम्बन्धी समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि सम्भावना हुन्छ । क्रोनिक ग्लोमोरुलो नेफ्राइटिस भएकालाई जोखिम बढी हुन्छ ।

मिर्गौला रोग लागिहालेमा के गर्ने ?

लक्षण देखापर्ने बित्तिकै उपचार गर्न सकेमा अधिकांश मिर्गौलारोग औषधिबाटै पूर्ण निको पार्न सकिन्छ । तर मिर्गौलारोग लागेको धेरै समय बितिसकेको छ र मिर्गौला फेल भइसकेको छ भने यसलाई पूर्णरुपमा निको पार्न सकिंदैन । यस्तो अवस्थामा दुईवटा मात्र विकल्प हुन्छ- जीवनभर डायलाइसिस गर्ने वा मिर्गौला  प्रत्यारोपण गर्नुपर्ने हुन्छ । यी उपचार प्रविधि एकदम महंगा हुन्छन् ।

मिर्गौला स्वस्थ राख्न कस्तो खानपान गर्ने ?

सन्तुलित आहार अर्थात् ब्यालेन्स डाइट खाने गर्नुपर्छ । दैनिक खाने खानेकुरामा कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स, फाइबर, क्याल्सियम र भिटामिनको सन्तुलित रुपमा समावेश गर्नुपर्छ । तर फाइदाजनक छ भनेर धेरै खानु हुँदैन । त्यस्तै पर्याप्त मात्रामा पानी पिउने, धुम्रपान तथा मद्यपान नगर्ने, मोटोपन कम गर्ने, नदुख्ने औषधिको प्रयोग कम गर्ने, जंकफुडको सेवन सकेसम्म कम गर्ने, डिपफ्राइ खानेकुरा सकेसम्म खानु हुँदैन ।

तेलको प्रयोग गर्दै नगर्ने भन्ने होइन, मात्रा मिलाएर गर्नुपर्छ । तेलले भिटामिन ए, डी, ई र के अवशोषित गर्न मद्दत गर्छ । मात्रा मिलाएर घरमै बनाएर ताजा खानेकुरा र फलफूल खानुपर्छ । विशेषगरी खानपान र जीवनशैली परिवर्तन सके मिर्गौला स्वस्थ राख्न सकिन्छ ।

(नेपालगन्जस्थित लाइफ लाइन हस्पिटलमा कार्यरत मिर्गौला रोग विशेषज्ञ डा.पारश श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित ।)

  • ५ असार २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech