थाइरोइड ग्रन्थि एडमस एप्पलको ठीक तल घाँटीको अगाडि रहेको एउटा सानो, पुतली आकारको ग्रन्थि हो । आकारमा सानै भए पनि यो ग्रन्थिले हार्मोनको उत्पादन र रिलिजमार्फत विभिन्न शारीरिक कार्यहरू नियमित गर्न महत्वपूर्ण भूमिका खेल्छ । थाइरोइड ग्रन्थिले उत्पादन गर्ने मुख्य दुई हर्मोनहरू ट्राइआयोडोथायरोनिन (टी३) र थाइरोक्सिन (टी४) हुन् । यी हर्मोनहरू मेटाबोलिजम, ऊर्जा उत्पादन, शरीरको तापक्रम, हृदय गति र अन्य अंगहरूको कार्य नियन्त्रणमा सहभागी हुन्छन् । थाइरोइड–स्टिमुलेटिङ (टिएसएच) हर्मोनले टी३ र टी४ उत्पादन र नियमन गर्छ । टिएसएच हर्मोन पिट्युटरी ग्रन्थिद्वारा उत्पादन हुन्छ ।
थाइरोइड ग्रन्थिमा कुनै पनि प्रकारको डिसफंक्सनले थाइरोइड डिसअर्डर निम्तन सक्छ । सामान्य प्रकारका थाइरोइड डिसअर्डरमा हाइपोथाइराइडिज्म (अन्डरएक्टिभ थाइराइड) र हाइपर थाइराइडिज्म (ओभरएक्टिभ थाइराइड) पर्छन् । यिनले शरीरमा विभिन्न प्रभावहरू सिर्जना गर्छन् र यिनको समाधानका लागि प्रायः चिकित्सकीय विधिहरू नै अपनाउनुपर्ने हुन्छ ।
थाइरोइडिज्मका प्रकारहरू
हाइपोथाइराइडिज्म : थाइरोइड ग्रन्थिले पर्याप्त थाइरोइड हर्मोन उत्पादन गर्न नसक्दा यो अवस्था आउँछ । थकान, वजन बढ्ने, चिसो सहन नसक्ने, छाला सुक्खा हुने, कब्जियतलगायत लक्षण देखिन्छन् । यसका साथै, आवाज धोत्रो हुनु, मांसपेशी कमजोर हुनु, रगतमा कोलेस्ट्रोलको स्तर बढ्नु, डिप्रेसन, महिलामा महिनावारी अनियमितता हुनु पनि हाइपोथाइराइडिज्मका लक्षण हुन् ।
हाइपर थाइरोइडिज्म : थाइरोइड ग्रन्थिले धेरै थाइराइड हर्मोन उत्पादन गर्दा हाइपर थाइराइडिज्म हुन्छ । लक्षणहरूमा भोक बढे पनि तौल घट्नु, मुटुको धड्कन छिटो हुनु, पसिना आउने, चिन्ता र चिडचिडापन पर्छन् । थप लक्षणमा गर्मी सहन नसक्ने, कम्पन हुने (सामान्यतया हलुका रूपमा जिउ हल्लनु), बेचैनी, चिन्ता वा चिडचिडापन हुनु, सुत्न कठिनाइ हुनु, पखाला लाग्नु, महिलामा महिनावारी गडबडी हुनु आदि पर्छन् ।
हाइपोथाइराइडिज्म र हाइपर थाइरोइडिज्म दुवैलाई सामान्यतया थाइरोइड हर्मोन (टी३, टी४) र थाइरोइड–स्टिमुलेटिङ हर्मोन (टिएसएच)को स्तर मापन गर्ने रगत परीक्षणहरूमार्फत डायग्नोसिस गरिन्छ । उपचारमा प्रायः हर्मोन स्तरहरू नियन्त्रण गर्ने औषधिहरू पर्छन् । यद्यपि केही अवस्थामा, शल्यक्रिया वा रेडियोएक्टिभ आयोडिन थेरापी पनि आवश्यक हुन सक्छ ।
हाइपोथाइराइडिज्म व्यवस्थापन
थाइरोइड हर्मोन रिप्लेसमेन्ट थेरापी, रगत परीक्षणमार्फत नियमित निगरानी, जीवनशैली परिमार्जनः सन्तुलित भोजन, सन्तुलित तौल कायम गर्ने, नियमित शारीरिक अभ्यास, आयोडिनको सन्तुलित सेवन । गोइट्रोजेन भनेर चिनिने केही खानेकुराहरू (जस्तै, सोया प्रडक्ट, क्रुसिफेरस तरकारीहरू जस्तै ब्रोकाउली र बन्दाकोभी), सेवन कम गर्नुपर्छ । हाइपोथाइरोइडिज्म भएका व्यक्तिहरूले उनीहरूको स्वास्थ्य सेवा प्रदायकले तोकेबमोजिम लगातार औषधि सेवन गर्नु महत्वपूर्ण हुन्छ ।
हाइपर थाइराइडिज्म व्यवस्थापन
एन्टिथाइरोइड औषधिहरू : मेथिमाजोल
(ट्यापाजोल) वा प्रोपाइलथियोरासिल (पिटियू)
रेडियोएक्टिभ आयोडिन थेरापी : यसमा क्याप्सुल वा तरल रूपमा रेडियोएक्टिभ आयोडिन लिइन्छ जसलाई थाइरोइड ग्रन्थिले सोसेर बढेका थाइरोइड कोशिकाहरूलाई नष्ट गरी हर्मोन उत्पादन घटाउँछ ।
थाइरोइडेक्टोमी : एन्टिथाइराइड औषधि वा रेडियोएक्टिभ आयोडिन थेरापी प्रभावकारी वा उपयुक्त नभएको अवस्थामा थाइरोइड ग्रन्थि वा यसको केही भाग नै शल्यक्रियाबाट हटाउनुपर्ने अवस्था आउँछ ।
जीवनशैली परिमार्जन : आहार, व्यायाम र तनाव व्यवस्थापनमार्फत स्वस्थ जीवनशैली कायम राख्नु आवश्यक हुन्छ ।
प्राकृतिक तरिकाहरू
आयोडिनको कमीले हाइपोथाइराइडिज्म हुन सक्छ, तर अत्यधिक आयोडिन सेवनले थाइरोइड फंक्सनलाई झनै बिगार्न सक्छ । आयोडिनयुक्त खानेकुराहरू जस्तै समुद्रीआहार, दुधजन्य उत्पादन, सन्तुलित मात्रामा आयोडिनयुक्त नुन उपभोग गर्नुपर्छ । यस्तै, सेलेनियम पनि एक आवश्यक खनिज हो जसले थाइरोइड हर्मोन मेटाबोलिजममा भूमिका खेल्छ ।
माछा, अन्डा र सूर्यमुखीको बिउजस्ता सेलेनियमयुक्त खानेकुराको सेवनले थाइरोइड स्वास्थ्यलाई बलियो पार्न मद्दत गर्छ । प्रशोधित खाना, परिष्कृत चिनी र कृत्रिम एडिटिभको अत्यधिक खपतबाट बच्ने । गोइट्रोजेनिक खाद्य पदार्थ कम मात्रामा सेवन गर्ने । माइन्डफुलनेस ध्यान, गहिरो सास फेर्ने अभ्यास, योग, ताइची वा नियमित शारीरिक गतिविधिजस्ता तनाव कम गर्ने अभ्यासहरू पनि थाइरोइडिज्ममा लाभकारी हुन्छन् ।