नेपालगन्जः नेपालगन्जमा अहिले अत्यास लाग्दो गर्मीछ । हुन त नेपालगन्जमा गर्मीमा अत्यधिक गर्मी र जाडोमा अत्यधिक जाडो हुने सहरकै रुपमा परिचित पनि छ । महिना दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । अझै एक हप्ता यो समस्या खेप्न नेपालगन्जबासी तयार हुनुपर्ने अवस्था छ । किनभने पूर्वी नेपालबाट भित्रिएको मनसुनको चाप अझै पश्चिमतिर फैलिन सकेको छैन । कम्तिमा एक हप्ता लाग्ने मौसमविद्हरु बताउँछन् ।
बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ । टन्टलापुर घाम, अत्यधिक गर्मी, वातावरणीय आद्रताले गर्दा छालाको हेरविचार गर्नुपर्ने भेरी अस्पताल नेपालगन्जका छाला रोग विशेषज्ञ डा.अस्मिता गौतम बताउनुहुन्छ । वातावरणीय प्रदूषण र धुलो धुवाँले छालाको प्राकृतिक चमकलाई नोक्सान गर्ने छाला रोग विशेषज्ञ डा. गौतमको भनाइ छ ।
गर्मीको मौसममा बढ्ने तापक्रम र आद्रताले गर्दा छालामा हुने चिल्लो निकाल्ने ग्रन्थी बढी सक्रिय हुन्छन् । जसले गर्दा चिल्लो छाला अझै बढी चिल्लो तथा सुक्खा छाला फुस्रो र दाग पूर्ण देखिने जोखिम हुन्छ । छालामा हुने रंग बनाउने कोशीकाले धेरै रंग बनाउँछन्, जसले गर्दा छाला डढेको र कालो देखिन्छ । बढदो तापक्रमले चिल्लो निकाल्ने ग्रन्थीको छिद्र ठूलो भएर जान्छन् जसमा चिल्लो, धुलो, फोहर तथा किटाणु जम्मा हुन्छन् ।
त्यसैले आफ्नो छालाको किसिम र आफू बसेको वातावरणअनुसार सन्सक्रिम प्रयोग गर्नुपर्ने डा. गौतमको सुझाव छ । पसिना धेरै नहुने र हावा छिर्ने खुकुलो कपडाको प्रयोग गर्ने, प्रशस्त मात्रामा पानी पिउने, जमेको पसिनालाई समयमा पखाल्ने छालालाई सफा राख्ने, पसिना धेरै आउने ठाउँमा धुने पुस्ने र सफा राख्ने ।
यस्तो गर्दा गर्मीमा हुने छालामा हुने समस्याबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् । भेरी अस्पतालको छाला तथा यौन रोग विभागमा हिंजोआज घमौरा, शरीर चिलाउने, भ्रिङ्गी, डन्डिफोर लगायतका समस्या लिएर आउने बिरामीको संख्या धेरैछ । छालाको समस्यालाई मानिसहरुले खासै वास्ता गरेको पाइदैन् । छालामा समस्या देखिना साथ मानिसहरुको ज्यान तत्काल जादैन । त्यसले गर्दा पनि छाला रोगलाई मानिसहरुले हेल्चेक्र्याई गर्ने गरेका छन् ।
‘मानिसहरुले छाला समस्यालाई खासै प्राथमिकता दिएको पाइदैन डा.गौतमको अनुभव छ–‘तर समस्या गम्भीर हुँदै गएपछिमात्र चिकित्सकमाझ पुग्ने गरेको पाइन्छ ।’ उहाँले छाला रोगको उपचारनै महंगो हुने भएकाले पनि मानिसहरु चिकित्सकसँग परामर्श लिन अनुच्छिुक भएको बताउनुहुन्छ । तर समयमै रोगको पहिचान गरेर उपचार गरिएन भने अवस्था भयावह हुन सक्छ भन्ने कुराको अझै पनि समाजमा जनचेतना हुन नसकेको डा.गौतम बताउनुहुन्छ ।
को हुनुहुन्छ डा.अस्मिता गौतम ?
वि.स २०५१ साल कार्तिक १३ गते बर्दियाको गेरुवा गाउँपालिका–४ गोलामा जन्मनु भएकी अस्मिता गौतम पढाइमा मेधावी हुनुहुन्थ्यो । हुने विरुवाको चिल्लो पात भने झै उहाँ कक्षामा कहिल्यै दोस्रो हुनु परेन् । गाउँकै सरकारी विद्यालय जनता माविबाट वि.स २०६५ सालमा उत्कृष्ट अंकसहित एसएलसी उर्तिण गरेपछि सन २०१२ मा गोल्डेन गेट इन्टरनेशनल कलेज कलेजबाट उत्कृष्ट अंकका साथ प्लस टु उर्तिण गर्नुभयो । बुवा कृष्णराज गौतम र आमा सीता गौतम सरकारी शिक्षक ।
घरकी जेठी छोरी अस्मिताका दुई वहिनी र एक भाई हुनुहुन्छ । पढाईमा अव्वल डा.अस्मिताले प्लस टु उर्तिण गरेपछि नेपालगन्ज मेडिकल कलेजमा एमवीवीएसमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएपछि उहाँको डाक्टर बन्ने सपनाले मूर्तरुपमा पायो । कक्षा ६-७ मा पढ्दा देखि नै उहाँलाई डाक्टर बन्ने हुटहुटीले सताइसकेको थियो । बुवा र उहाँका साथी एक दिन घरमा भलाकुसारी गर्दै हुनुहुन्थ्यो । बुवाका साथीले भन्नु भएछ जंगल गएका गाउँका एकजनालाई बाघले आक्रमण गर्यो ।
धन्न समयमै अस्पताल पुराएर डाक्टरले बचाए छन् । ११-१२ वर्षकी अस्मिताको कलिलो मानसपटलमा छाप बनेर बस्यो, डाक्टरले त मान्छे बचाउने रहिछन् । म पनि ठूली भएपछि डाक्टर बन्छु । स्वास्थ्य पेजसँगको भलाकुसारीमा आफु डाक्टर बन्न प्रेरित भएको बारे खुलाउँदै अस्मिताले भन्नुभयो–‘बाबाको साथीको त्यही भनाइले मलाई डाक्टर बन्न प्रेरित गर्यो ।’ उहाँको परिवारमा पहिलो डाक्टर बन्नुभएकी अस्मिताकी एउटी बहिनी विएसी नर्सिङ हुनुहुन्छ भने भाईले छात्रवृत्तिमै एमबीबीएस अध्ययन गरिरहनुभएको छ । सन २०१८ मा एमबीबीएस उर्तिण भएपछि उहाँले दुई वर्ष भेरी अस्पतालको इमरजन्सीमा सेवा गर्नुभयो ।
त्यही शिलशिलामा सन २०२१ मा पाटन अस्पतालमा उहाँले पिजीमा छात्रवृत्तिमा नाम निकाल्नुभयो । सन २०२४ मा पिजी उर्तिण गरेपछि फेरी उहाँ भेरी अस्पतालमै आउनुभएको छ । ‘सामान्यतया छाला रोगलाई मानिसहरुले हेयका दृष्टिकोणले हरेको पाइन्छ उहाँले छाला रोगमा विशेषज्ञता नै हासिल गर्नुको उद्देश्य खुलाउँदै भन्नुभयो–‘यो सबैभन्दा जटिल र केही हदसम्म महंगो उपचार पद्धति पनि हो । यसमा विज्ञता हासिल गर्न पाउनुनै कठिन छ ।
तर छात्रवृत्तिमै मेरो नाम निस्किएपछि छाला रोगमै विज्ञता हासिल गर्न मन लाग्यो र विज्ञ भए ।’ उहाँले नेपालगन्जमै बसेर यसक्षेत्रका बिरामीहरुको सेवा गर्ने आफ्नो लक्ष्य रहेको पनि सुनाउनुभयो । ‘बर्दिया, बाँके भनेपछि आफ्नै लाग्छ उहाँले भन्नुभयो–‘यही जन्मिए, यही हुर्किए, यही पढे र यहीका नागरिकलाई सेवा दिने मेरो उद्देश्य छ ।’