फत्तेवाल आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी बन्दै, सय बढीको प्रत्यारोपण

अस्पतालले सुरु गरेको आँखाको नानी प्रत्यारोपण सेवा अन्तर्गत हालसम्म एक सय बढीले आँखाको नानी प्रत्यारोपण गरेको फत्तेवाल आँखा अस्पतालका कर्निया विशेषज्ञ (आँखाको नानी रोग) बिशेषज्ञ डा. राजशी श्रेष्ठले जानकारी दिनुभयो ।


    • समिरमान श्रेष्ठ

  • २ असार २०८१, आईतवार

नेपालगन्ज: नेपालगन्ज स्थित फत्तेवाल आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी बन्दै गएको छ । अस्पतालमा पछिल्लो समय आँखाको नानी प्रत्यारोपणका लागि आउने बिरामीहरुको सङ्ख्या बढ्दै गएको हो ।

अस्पतालले सुरु गरेको आँखाको नानी प्रत्यारोपण सेवा अन्तर्गत हालसम्म एक सय बढीले आँखाको नानी प्रत्यारोपण गरेको फत्तेवाल आँखा अस्पतालका कर्निया विशेषज्ञ (आँखाको नानी रोग) बिशेषज्ञ डा. राजशी श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा नानी प्रत्यारोपणका लागि आएका बिरामीहरु मध्य करिब ८० प्रतिशत भारतबाट आउँनु भएको बिरामीहरु रहेको डा.श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालका कर्निया विशेषज्ञ डा. राजशी श्रेष्ठ

नेपाली बिरामीहरु २० प्रतिशत बढीको नानी प्रत्यारोपण गरिएको छ । आफ्नै नेतृत्वमा एक वर्षको अवधिमा १ सय बढीको आँखाको नानी प्रत्यारोपण गरिएको उहाँले जानकारी दिनुभएको हो । उहाँले क्यामिकल इन्जुरीका कारण आउने बिरामीहरुको कर्नियाको सर्जरी लगायत कर्नियाको धेरै प्रकारका सर्जरी सेवाहरु अस्पतालले प्रदान गरिरहेको समेत बताउँनुभयो ।

फत्तेवाल आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दिनहु दर्जनौँ बिरामी आउने गरेका छन् । नेपालमा आँखाको शल्यक्रिया सरल र सस्तोमा हुने भएकाले हजारौ भारतीयहरु उपचारका लागि नेपाल आउने गरेका हुन् । आँखाको उपचार राम्रो हुने भएका कारण आफूहरु उपचारको लागि नेपाल आएको अस्पताल आएका एकजना भारतीय बिरामीले सुनाउनुभयो ।

के हो आँखाको नानी प्रत्यारोपण, किन गरिन्छ ?

मानिसको मृत्यु भएको ६ घण्टाभित्र विशेषज्ञद्वारा आँखाको परीक्षण गरि आँखाको पुरै डल्लो नभई आँखाको नानी झिकिन्छ । यसरी झिकिएको नानी विशेष प्रयोगशालामा राखिन्छ र निश्चित समय वा २ हप्ताभित्र आवश्यक व्यक्तिलाई प्रत्यारोपण गर्नुलाईनै आँखाको नानी प्रत्यारोपण भनिन्छ ।

आँखा दानका बारेमा धेरैमा भ्रम छ। आँखा दान गर्ने भनेको आँखाको डल्लै दान गर्ने होइन। आँखाको कालो भागलाई ढाक्ने पारदर्शी भाग अर्थात् नानी प्रत्यारोपण गर्ने हो। मृत्यु भएको मानिसको कर्निया निकालेर अर्को मानिसमा प्रत्यारोपण गर्न सकिन्छ। नेपालका धेरै आँखा अस्पतालमा कर्निया प्रत्यारोपण हुन्छ। नेपालमा कर्निया दान गर्ने व्यवस्था छ भने तिलगंगा आँखा प्रतिष्ठानमा आई बैंक समेत सञ्चालन भइरहेको छ।

शरीरबाट कर्निया झिकेर दृष्टि गुमाएकाहरूलाई उपचार गर्न सकिने भएको हुँदा आँखा दान प्रति रहेका भ्रम चिर्दै आफु पनि आँखा दान गर्नु र अरुलाई पनि आँखा दान गर्न प्रोत्साहान गर्न डा.श्रेष्ठले सबैमा आग्रह समेत गर्नुभएको छ ।

भिडियो रिर्पोट स्वास्थ्यपेजको अफिसियल फेसबुक पेजमा आज साँझ हेर्नसक्नुहुनेछ । 

  • २ असार २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech