अहिले देशैभर गर्मीको सकस छ । अझ तराईका जिल्लामा विगत एक महिनादेखि तापक्रम ४४ डिग्रीको आसपासमा हुनु र दिउँसोको समयमा चल्ने तातो हावाका कारण मानिसको जनजीवन कष्टकर बनेको छ ।
अहिले गर्मी छल्न मानिसहरु पौडी पोखरी, फन पार्कहरुमा भरिभराउ देखिन्छन् । अत्यधिक गर्मीका कारण नेपालगन्ज आसपासका स्विमिङ पुलहरुमा मानिसहरुको भीड लाग्ने गरेको छ । पानी नपर्दा अत्यधिक गर्मी छ , यसैका कारण मानिसहरु शीतलता खोज्दै स्वमिङ पुलमा जाने गरेका हुन् ।
खासगरी यो समय शरीरलाई स्फूर्त राख्न पौडी खेल्नु फलदायी मानिन्छ । अन्य मौसमभन्दा गर्मीमा धेरै नै पौडी (स्विमिङ) खेलिन्छ। तर पौडी खेल्दा सावधानी अपनाउन पनि उत्तिकै महत्वपूर्ण हुन्छ, अन्यथा स्वास्थ्यमा विविध समस्या देखिन सक्छन्।
स्विमिङ पुलमा जानुअघि के कस्ता कुरामा ध्यान दिने त ?
– जीउमा घाउखटिरा, दाद छ भने सकेसम्म पौडी खेल्न नजानुहोला । नत्र, घाउ पाक्न सक्छ र तपाईंको समस्या अरूलाई पनि सर्न सक्छ ।
– स्विमिङ पुलको पानी सफा राख्न क्लोरिन मिसाइएको हुन्छ। तर पौडी खेल्नुभन्दा पहिला क्लोरिनको मात्र कति छ भनेर थाहा पाउनुपर्छ। क्लोरिनको मात्र धेरै हुँदा छालामा समस्या आउन सक्छ।
– पौडी खेलेपछि सफा पानीले साबुन र स्याम्पु लगाएर नुहाउन कहिल्यै बिर्सनु हुँदैन। यसो गर्दा ताजगी महसुस त हुन्छ नै, क्लोरिनले निम्त्याउन सक्ने जोखिम पनि कम हुन सक्छ।
-पूरै शरीर ढाक्ने कस्ट्युम लगाउँदा छालामा पौडी पोखरीको पानी तथा घामले नकारात्मक असर गर्न पाउँदैन ।
– शरीरमा पानीको कमी नहोस् भनेर पौडी खेल्नुभन्दा ३० मिनेट अगाडि प्रशस्त पानी पिउनुपर्छ।
– आँखामा असर पुग्न नदिन स्विमिङ चश्मा अनिवार्य लगाउनुपर्छ।
– कानभित्र पानी नछिरोस् भनेर इयर प्लग राख्नुपर्छ।
– शरीरको सम्पूर्ण भागमा तेल वा म्वइस्चराइजर लगाउनुपर्छ । पौडी पोखरीको पानीमा केमिकल मिसाइने भएकाले त्यसले छालामा असर नगरोस् भनेर तेल वा म्वइस्चराइजर लगाउनुपर्छ ।
– स्विमिङ पुलको पानी बेला–बेलामा चेन्ज गरेको छ कि छैन, पुलमा प्रयोग गरिएको पानी फिल्टर गरिएको छ कि छैन ? जस्ता कुरामा ध्यान पुर्याउनुपर्छ ।
– प्राइभेट पार्टमा संक्रमण हुन नदिन पौडी खेल्दा लगाएको कपडा तुरुन्तै बदल्नुपर्छ।
-स्वीमिंग गर्ने क्रममा कयौंपटक तपाईंको मुख वा नाकबाट पानी शरीरमा जान सक्छ । जसले गर्दा पाचन तथा स्वासप्रस्वासको समस्या आउन सक्छ । त्यसैले सकेसम्म मुख वा नाकबाट पानी छिर्न नदिनुहोस् ।
-गर्मीमा धेरै समय कपाल भिजाइराख्दा टुक्रिने तथा झर्ने समस्या हुन्छ । त्यसैले कपाल तथा टाउकोलाई ढाक्नुहोस् । स्वीमिंग पुलको पानीले टाउको दुख्ने, स्काल्प चिलाउने जस्ता समस्या पनि हुन्छन् ।