काठमाडौं: नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभाकोको बैठकमा शुन्य समयमा बोल्दै सांसद बरालले विहान ९ बजे लाइनमा बसेको एउटा विरामी वा उसको आफन्तले साँझ ५ बजेसम्म लाइनमै बस्नुपर्ने प्रणालीको अन्त्य गर्न आग्रह गर्नुभएको हो । उहाँले ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन माग गर्नुभयो ।
बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गर्नुभयो । स्वास्थ्य विमा गर्ने नागरिकलाई दोस्रो दर्जाको व्यवहार भइरहेको भन्दै उनले संवेदनशील क्षेत्रको सेवा सहज बनाउन सरकारले तत्काली ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।