समय नपुगी जन्मिने बच्चाको आँखामा के–कस्ता समस्या देखिन्छन् ?

अवधि र तौल नपुगेको बच्चा जन्मिएमा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । यसैमध्ये एक हो– आँखाको पर्दामा असर गर्ने समस्या ‘रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी’ (आरओपी) । यो समस्या समयावधि नपुग्दै र कम तौलको जन्मिएका बच्चामध्ये करिब ४० प्रतिशतमा पाइएको छ ।


    • स्वास्थ्य पेज

  • ३० जेष्ठ २०८१, बुधबार

सामान्यतया गर्भ बसेको ९ महिना पूरा भएपछि बच्चा जन्मिने गर्दछ । तर कतिपय बच्चा सात-आठ महिनामा पनि जन्मिन्छन् । समय नपुग्दै जन्मने बच्चालाई चिकित्सकीय भाषामा ‘प्रिमेच्योर डेलिभरी’ भनिन्छ । यस्तै, नवजात शिशुको सामान्य तौल २५०० ग्राम वा सोभन्दा माथि मानिन्छ । तर अवधि र तौल नपुगेको बच्चा जन्मिएमा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । यसैमध्ये एक हो– आँखाको पर्दामा असर गर्ने समस्या ‘रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी’ (आरओपी) । यो समस्या समयावधि नपुग्दै र कम तौलको जन्मिएका बच्चामध्ये करिब ४० प्रतिशतमा पाइएको छ । यसै सन्दर्भमा नेपाल आँखा अस्पतालमा कार्यरत विट्रोरेटिनल सर्जन डा. प्रिया बजगाईंसँग कुराकानी गरिएको छ ।

 

  • समय नपुगी जन्मिने बच्चाको आँखामा के–कस्ता समस्या देखिन्छन् ?

समय नपुग्दै जन्मने बच्चामा देखिने प्रमुख समस्यामध्ये आँखाको पर्दामा असर गर्ने समस्या ‘रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी’ (आरओपी) हो । कम तौल भएका, नवजात सघन हेरचाह इकाई (एनआइसीयु) मा बसेका बच्चामा यस्तो समस्या देखिन्छ । पहिला त यस्ता बच्चा बचाउन मुस्किल हुन्थ्यो । पछिल्लो समय विभिन्न प्रविधिबाट हामीले बचाउने गरेका छौँ । प्रविधिको प्रयोगले २६–२८ हप्ताको बच्चा पनि अहिले बचाउन सकिन्छ । सङ्ख्या पनि बढेको छ । समयावधि अगाडि जन्मेको बच्चाको आँखाको भित्रपट्टी नसा हुन्छ, ब्लड भेसलहरू हुन्छ । यो राम्रोसँग विकास भइसकेको हुँदैन । त्यसकारण आरओपी समस्या देखिन्छ ।

  • के कारणले यस्तो समस्या देखिन्छ ?

समयावधि अगावै जन्मेको, कम तौल भएको, धेरै अक्सिजनमा बसेको र इन्फेक्सन भएको बच्चालाई आरओपी समस्या देखिन्छ । तौल नपुग्दा, समयावधि अगावै बच्चा जन्मने भएर राम्रोसँग विकास नहुँदा बच्चाको आँखामा आरओपी समस्या देखिन्छ ।

  • आरओपीले के कस्ता जटिलता निम्तिन्छ ?

आरओपीको विभिन्न ‘स्टेज’ हुन्छ । आरओपी १, २, ३, ४, ५ हुन्छ । १ र २ भनेको आफैँ ठिक हुँदै जान्छ । ३, ४ र ५ भनेको जटिल अवस्था हो । हाम्रो मुख्य काम भनेको बेलैमा यसलाई उपचार गर्ने हो । हामीले तेस्रो स्टेज आरओपी पहिचान गर्न सकेनौँ भने ‘स्टेज’ ४ र ५ मा पुगिसकेको हुन्छ । यो अवस्थामा बच्चामा ‘अन्धोपन’ को समस्या देखिन थाल्छ । यो भनेको जटिल अवस्था हो । त्यसकारण समयमै ‘स्क्रिनिङ’ गर्नुपर्छ ।

  • सबै बच्चाको आँखा स्क्रिनिङ गर्नुपर्छ ?

सबै बच्चाको पर्दैन । ३४ हप्ताभन्दा कम समयमा जन्मेको बच्चा, २ हजार ग्राम तौलभन्दा कम बच्चा तौल भएमा र एनआइसीयुमा धेरै दिन बसेको बच्चाको स्क्रिनिङ गर्नुपर्छ । यस्ता बच्चाको आँखाको स्क्रिनिङ बच्चा जन्मेको २८ दिनभित्र गर्नैपर्छ ।

  • स्क्रिनिङ गरिएन भने यस्तो खालको समस्या कति समयमा देखिन्छ ?

आमा–बुबाले थाहा नै पाउनु हुन्न । ढिलो भइसकेको हुन्छ । कहिलेकाहीँ ५ देखि ६ महिनादेखि १ वर्षसम्ममा आउने गर्नुहुन्छ । त्यति बेलासम्म भित्रको पर्दा फाटीसकेको हुन्छ । स्क्रिनिङ गरेको बच्चाको समयमा उपचार हुन्छ । तर जानकारी नहुँदा त्यसले बच्चामा जटिलता निम्तिन्छ । बच्चाले लाइट देख्दैन, हेर्दैन । त्यसरी थाहा पाउन सकिन्छ ।

  • आरओपीको उपचार छ ?

आरओपीको उपचार हुन्छ । समयमा ‘स्क्रिनिङ’ गरेमा उपचार गर्न सकिन्छ । २८ दिनभित्र नेत्र विशेषज्ञसँग जचाएमा स्पेसल मेसिनबाट जाँच गरिन्छ । सो मेसिनबाट कि त लेजरको प्रयोग गरेर या आँखाभित्र सानो सुई प्रयोग गरेर उपचार गरिन्छ । ढिलो आयो भने अर्थात् स्टेज ४ वा ५ मा भयो भने अप्रेसन गर्नुपर्छ ।

  • समयमा पहिचान गर्‍यो भने कति समयमा निकोे हुन्छ ?

समयमै पहिचान गरियो भने यसको उपचार हुन्छ । तर लामो समयसम्म चिकित्सकको परामर्शमा बस्नुपर्छ । बच्चा ठुलो हुन्जेलसम्म फलोअपमा बसिराख्नुपर्छ । कहिले चस्मा लगाउनु पर्ने हुन्छ ।

  • नेपालमा यस्तो समस्या कति बच्चामा देखिन्छ ?

नेपालमा २० देखि ३० प्रतिशत बढेको छ । एनआइसीयु राम्रो हुँदै गएको छ । त्यसकारण यो बढेको हो । केयर राम्रो पाइराखेको छ । भारतको तथ्याङ्क हेर्ने हो भने ३० देखि ४० प्रतिशत आरओपीकोे समस्या देखिएको छ । यसमध्ये झन्डै २० देखि ३० प्रतिशत बच्चामा जटिल खालको समस्या पाइएको छ ।

  • नेपालमा अझै पनि घरमै बच्चा जन्माउने प्रवृत्ति छ । कुनै समय नपुगेका पनि जन्मिन्छन् होला । यस्ता अवस्थामा बच्चाको आँखामा केही समस्या छ कि भनेर कसरी थाहा पाउने ? केही लक्षण देखिन्छन् ?

त्यस्ता बच्चाहरूले राम्रोसँग लाइट हेर्दैन, बच्चाको दृष्टि कम हुन्छ । यस्ता लक्षण देखिएमा बच्चाको आँखामा केही समस्या छ भनेर बुझ्नु पर्छ । जाँच गराउनुपर्छ ।

  • के समय नपुगी जन्मिने सबै शिशुमा आँखामा समस्या हुन्छ ?

२ हजार ग्राम र ३४ हप्तामा अगाडि जन्मेको बच्चामध्ये करिब भारतमा ३०–४० प्रतिशतमा बच्चामा आरओपीको समस्या देखिएको पाइएको छ । नेपालमा पनि त्यही हाराहारीमा छ । त्यसकारण सबैमा देखिन्छ भन्ने हुँदैन । जाँच अनिवार्य गराउनु पर्छ । यसमध्ये करिब २० प्रतिशत बच्चालाई जटिलता हुन सक्छ । उपचार आवश्यक पर्छ ।

  • उमेर नपुगी जन्मिने बच्चाको आँखामा देखिने समस्याबाट कसरी जोगिने ?

समयभन्दा पहिला जन्मिने बच्चा बचाउनु नै ठुलो कुरा हो । आमाबुबाले यस्ता बच्चा जन्मेमा एक पटक अनिवार्य आँखा जाँच गराउनुपर्छ । बाहिरबाट हेर्दा सामान्य देखिए पनि २८ दिनभित्र अनिवार्य आँखा जाँच गराउनुपर्छ ।

 

  • ३० जेष्ठ २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech