केयर सिटी अस्पतालद्धारा आफ्नो सेवामा थप विस्तार

    • स्वास्थ्य पेज

  • २५ जेष्ठ २०८१, शुक्रबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका-१८ भुजई गाउँस्थित केयर सिटी अस्पतालले आफ्नो सेवालाई थप विस्तार गरेको छ । विगत तीन वर्षदेखि सेवा प्रवाह गर्दै आएको उक्त अस्पतालले आफ्नो सेवालाई थप विस्तार गरेको जनाएको छ । आज अस्पतालमा सवै तहतप्काका व्यक्तिहरुलाई बोलाएर सेवा प्रवाहलाई विस्तारसँगै स्तरीय बनाएको सन्देश अस्पतालले प्रवाह गरेको छ ।

केयर सिटी अस्पतालको विस्तारित सेवाको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभएको छ । नगर प्रमुख विष्टले पश्चिम नेपालकै केन्द्र विन्दु नेपालगन्जमा रहेर स्वास्थ्य जस्तो गम्भीर तथा अत्यावश्यक कुरामा चिकित्सकको २४ सैं घण्टा निगरानीमा सेवा प्रदान गरिनु सुखद् पक्ष भएको बताउनुभयो ।

१५ बेड क्षमताबाट सेवा दिइरहेको केयर सिटी अस्पतालले अव २४ सैं घण्टा चिकित्सकसहितको सेवा दिने जनाएको छ । इमरजेन्सी, फार्मेसी, अत्याधुनिक प्रयोगशाला, एक्सरे तथा भिडियो एक्सरे सेवासहित २४ सैं घण्टा चिकित्सकको उपलब्धतामा अस्पतालले आफ्नो सेवा विस्तार गरेको अस्पतालका लगानीकर्ता समेत रहनु भएका बालरोग विशेषज्ञ डा.विष्णु थापाले जानकारी दिनुभयो ।

केयर सिटी अस्पतालमा आइसियु, एनआइसीयु, भेन्टिलेटर, अप्रेशन कक्ष र अत्याधुनिक प्रयोगशालाको सुविधा थपिएको पनि डा. थापाले बताउनुभयो । करिब २० करोडको लागतमा एक विघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको अस्पतालमा बालरोग, जनरल फिजिसियन, प्रसूति तथा स्त्री रोग, निसन्तान तथा बाँझोपन, हाडजोर्नी, न्यूरो सर्जरी, नाक कान घाँटी, जनरल सर्जरी तथा रेडियो विभाग रहेको अस्पतालका प्रबन्ध निर्देशक सन्तोष साहले बताउनुभयो ।

केयर सिटी अस्पतालले प्रत्येक महिना काठमाण्डौंबाट आईभिएफ विशेषज्ञ, इण्डोक्राइनोलोजिष्ट तथा न्यूरो फिजिसिन जस्ता सुपर स्पेसियालिटी डाक्टरहरु उपलब्ध गराई सेवा प्रदान गरिरहेको छ । नेपाल र भारतको ख्याति प्राप्त मेडिकल कलेजमा अध्ययनरत नेपालगन्जकै युवा चिकित्सकहरुको टिमबाट सञ्चालन हुँदै आएको केयर सिटी अस्पतालमा १७ जना विशेषज्ञ चिकित्सक, २ जना मेडिकल अफिसर, २१ जना नर्सिङ स्टाफसहित ७२ जनाको टिम रहेको अस्पतालको दावी छ ।

केयर सिटी अस्पताललाई निकट भविष्यमै ५० बेड क्षमताका साथ सञ्चालन गर्नका लागि आवश्यक पर्ने पूर्वाधार, जनशक्ति तथा साधन श्रोतको व्यवस्थापन स्वीकृतिका लागि प्रकृया प्राप्त भइसकेको डा.थापाले जानकारी दिनुभयो ।

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech