उदयपुर स्वास्थ्य चौकीमा सबैभन्दा बढी सुत्केरी

पछिल्लो समय नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य क्षेत्रको सुधारका लागि, सम्भावित जोखिमको पूर्वतयारीका लागि र जोखिमपछिको अवस्था व्यवस्थापनका लागि पूर्णरुपमा तयार अवस्थामा रहेको पनि चन्दको भनाइ छ ।


    • प्रियास्मृति ढकाल

  • २५ जेष्ठ २०८१, शुक्रबार

नेपालगन्जः पश्चिम नेपालको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालदेखि करिव दुई किलोमिटर दक्षिण पूर्वमा उदयपुर स्वास्थ्य चौकी छ । नेपालगन्ज उपमहानगरपालिका–१३ मा पर्ने उदयपुर स्वास्थ्य चौकी लुम्विनी प्रदेशमै सबैभन्दा बढी सुत्केरी गराउने संस्थागत स्वास्थ्य केन्द्रमा पर्छ । वीच बजारमै सुविधा सम्पन्न भेरी अस्पताल छ । निजी क्षेत्रको मेडिकल कलेज छ । तर गर्भवति महिलाले किन उदयपुर स्वास्थ्य चौकीलाई नै सुत्केरीको उपयुक्त ठान्छन् ? स्वास्थ्य चौकी प्रमुख विरजंग शाह भन्नुहुन्छ–‘गर्भवति महिलालाई गरिने नर्सहरुको व्यवहार, छिटो छरितो र सहज पहुँच ।’ सहरका ठूला अस्पताल सुविधा सम्पन्न भएपनि उदयपुर स्वास्थ्य चौकीमा गर्भवति तथा आफन्तहरुले सहज र ढुक्कका साथ सुत्केरी हुन र गराउन सकिन्छ भन्ने विश्वासका कारण पनि यहाँ सुत्केरी हुनेको संख्या बढ्दै गएको चोकी इन्चार्ज शाहको भनाइ छ ।

उदयपुर स्वास्थ्य चौकीमा महिनामा एक सयको हाराहारीमा सुत्केरी हुँदै आएका छन् । वडा नं.१३ का गर्भवति मात्र होइन यहाँ बाँकेका आठवटै पालिकासँगै छिमेकी जिल्ला बर्दिया, दाङ, सुर्खेत र कैलालीबाट समेत सुत्केरी हुन आएका तथ्यांकहरु स्वास्थ्य चौकीसँग छ । ‘हाम्रोमा नर्मल डेलिभरी हुने हो शाह भन्नुहुन्छ–‘जटिल खालका र शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवतिलाई भेरी अस्पतालमै प्रेषण गर्ने गरेका छौं ।’ सुरक्षित सुत्केरीका लागि उदयपुर स्वास्थ्य चौकीलाई रोज्न थालिएपछि जनशक्तीको भने यहाँ अभाव रहेको छ । स्वास्थ्य चौकीमा तीन जना नर्सिङ स्टाफ छन् । ती मध्ये एकजना क्लिनिक, खोप अभियान, विभिन्न आमा समुह तथा स्वमसेविकाहरुको बैठकमै व्यस्त रहनुपर्ने अवस्था छ । दुई जना नर्सिङ स्टाफहरुले वर्थिङ सेन्टर हाँक्नु परेको छ ।

‘कहिलेकाँही सुत्केरी हुन आउनेको संख्या धेरै भयो भने दुई जनालाई असाध्यै गाह्रो हुन्छ शाह भन्नुहुन्छ–‘कम्तिमा पनि ६ जना स्टाफनर्स आवश्यक छ ।’ जनशक्ति व्यवस्थापनका लागि उदयपुर स्वास्थ्य चौकीले नेपालगन्ज उपमहानगरपालिकादेखि प्रदेशसम्म माग गर्दै आएको छ । तर त्यसले सार्थकता पाउन सकिरहेको छैन । स्वास्थ्य चौकीले प्रवाह गर्ने अन्य सेवाका लागि पनि जनशक्तिको अभाव रहेको उहाँको भनाइ छ । ‘उदयपुर स्वास्थ्य चौकीप्रतिको भेरोसा बढ्दै गएको छ त्यहीअनुरुपमा हाम्रा सेवाहरुलाई पनि स्तरीय बनाउन जरुरी छ उहाँ भन्नुहुन्छ–‘जनशक्ति व्यवस्थापन र उपकरण थप्नै पर्नेछ । त्यसको लागि उपमहानगरपालिका र प्रदेश सरकारसँग माग गरिरहेका छौं ।’

अहिले यो स्वास्थ्य चौकीमा शाहको नेतृत्वमा तीन जना कार्यालय सहयोगीसहित १० जना कर्मचारी छन् । विगत एक महिनादेखि सुरक्षित गर्भपतन सेवा पनि प्रारम्भ भएको छ । स्वास्थ्य चौकीबाट प्रवाह गर्ने अन्य सेवाहरुलाई प्रभावकारी गराउँदै लगिएका कारण न्यूनतम सेवा मापदण्डमा समेत उदयपुर स्वास्थ्य चौकी नेपालगन्जकै उत्कृष्ट घोषित भइसकेको छ । समग्र सुशासन, क्लिनिक तथा अन्य सेवाको व्यवस्थापनमा उदयपुर अब्बल देखिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्वर १३ मा रहेको उदयपुर स्वास्थ्य चौकीसहित वडा नम्वर १४, १६, २० र २२ नम्वरमा पनि वर्थिङ सेन्टर संचालनमा ल्याएको छ । ‘घरमा हुने सुत्केरी दर कम गर्दै मातृ तथा शिशु मृत्यु दर घटाउने उद्देश्यले पनि वर्थिङ सेन्टरलाई प्राथमिकता दिइएको हो चन्दले भन्नुभयो–‘वर्थिङ सेन्टरलाई थप स्तरीय बनाउने सवालमा पनि उपमहानगरपालिका प्रयत्नशील रहेको छ ।’ उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत रुपमै पहल गरिरहेको उहाँको भनाइ छ । समुदायका कारण केही अभियानहरु प्रभावकारी हुन नसकेपनि पछिल्लो समय हात्तिपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ ।

यो वर्षदेखि नेपालगन्जमा हात्तिपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम स्थगित भएको छ । प्रारम्भिक परीक्षणमा नेपालगन्ज उर्तिण भएसँगै अवदेखि हात्तिपाइले रोग विरुद्धको औषधि सेवन गर्नुपर्ने अवस्था हटेको स्वास्थ्य महाशाखा प्रमुख चन्दले बताउनुभयो । यसैगरी खोप अभियानमा पनि प्रभावकारी सुधार देखिएको छ । पछिल्लो समय नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य क्षेत्रको सुधारका लागि, सम्भावित जोखिमको पूर्वतयारीका लागि र जोखिमपछिको अवस्था व्यवस्थापनका लागि पूर्णरुपमा तयार अवस्थामा रहेको पनि चन्दको भनाइ छ ।

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech