अत्यधिक गर्मीले पाँच बिरामी, एकको अवस्था गम्भीर

    • स्वास्थ्य पेज

  • २३ जेष्ठ २०८१, बुधबार

गुलरियाः बर्दियामा अत्यधिक गर्मीसँगै तातो हावा चल्दा एक सातायता पाँच जना बिरामी परेका छन् । जिल्ला अस्पतालमा तातो सुख्खा हावाबाट बिरामी परेर उपचार गर्न आएका मध्ये एक जनाको अवस्था गम्भीर भएपछि कोहलपुरस्थित शिक्षण अस्पताल रिफर गरिएको जिल्ला अस्पताल बर्दियाका सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले बताउनुभयो । एक सातायता लू लागेर अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेको छ ।

उपचारमा आएका मध्ये चारजना उपचार पछि घर फर्केका छन्,’ उहाँले भन्नुभयो, ‘एक जनाको अवस्था गम्भीर भएपछि रिफर गरिएको छ ।’ अत्यधिक गर्मीका कारण झाडापखाला, दम, रुघाखोकी, टाउको दुःख्ने लगायतका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ । गर्मीका कारण बिरामीको चाप बढेपछि ५० शय्याको अस्पताल भरिभराउ छ ।

५० शय्या भरिएपछि कुरुवा घरमा राखेर बिरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालको बहिरंग सेवामा दैनिक करिब ३ सय बढी बिरामी आउने गरेको बाल रोग विशेषज्ञ डाक्टर विश्वनाथ शाहले बताउनुभयो । अत्यधिक गर्मीले बालबालिकामा प्रत्यक्ष स्वास्थ्य असर पर्दे गएको भन्दै गुलरिया नगरपालिकाका सबै विद्यालय जेठ २५ गतेसम्म बन्द गरिएको छ ।

जिल्लामा दिउँसोको तापक्रम ४२ देखि ४३ डिग्रीसम्म पुग्ने गरेको छ । दिउँसो अत्यधिक गर्मी र लूले जिल्लाको जनजीवन प्रभावित बनेको छ । गर्मीले अत्यावश्यक काम बाहेक मानिसहरु घर बाहिर निस्केका छैनन् । कार्यालयमा सेवाग्राही पनि न्यून देखिएका छन । गर्मीले सबैभन्दा बढी दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्नेलाई प्रभावित गरेको छ ।

  • २३ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech