भेरी अस्पताल अस्तव्यस्तः डा. गौतम भन्छन्-‘वार्डमा एसी बिग्रेको महिनौं भयो, बिरामीको हालत खराव छ’

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०८१, आईतवार

नेपालगन्जः भेरी अस्पतालको उपचार व्यवस्थापन अत्यन्तै नाजुक अवस्थामा पुगेको भन्दै एकजना चिकित्सकले गम्भीर पीडा व्यक्त गरेका छन्। भेरी अस्पतालमा कार्यरत न्यूरो सर्जन डा.सुवोध गौतमले अचाक्ली गर्मीका कारण बिरामीहरुको अवस्था विजोग बनेको उल्लेख गर्नुभयो ।

सामाजिक संजाल फेसबुकमा उहाँले भेरी अस्पतालमा उपचार गर्न आउने बिरामीको अवस्था तरकारी बजार र माछा बजारमा गएको जस्तो अनुभूति हुने गरेको टिप्पणी समेत गर्नुभएको छ । उहाँले अस्पताल व्यवस्थापन पक्ष बिरामीप्रति निकम्मा बनेको भन्दै आक्रोश पोख्नुभएको छ ।

अगाडि लेख्नुहुन्छ -‘यस्तो गर्मी छ, दुई तीन वर्षका बालक छन् । वार्डमा एसी बिग्रेको महिनौं भयो । बनाउने टेक्निसियन भन्छन् पहिलेको पैसा पाइएको छैन । प्रशासनमा भन्दा हुन्छ हुन्छ भन्छ तर भएको छैन ।’ डा. गौतमले भवन ठूलो बनाउँदैमा केही नहुने भन्दै गुणस्तरीयता सुधार गर्न पनि सुझाव दिनुभएको छ ।

पछिल्लो समय भेरी अस्पताल करिव निमित्तको भरमा चलिरहेको छ । प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.पवनजंग रायमाझी अधिकांश समय काठमाडौं बस्ने गरेका कारण भेरी निमित्तको भरमा चलिरहेको छ ।

आवश्यक कागजात र तलव निकासामा हस्ताक्षर गर्नमात्रै रायमाझी अस्पतालमा आउने गरेको नत्र अधिकांश समय काठमाडौं बस्ने गरेको अस्पतालकै चिकित्सकहरु बताउँछन् । डा.रायमाझीकै कारण कतिपय चिकित्सकहरुको करार समेत नवीकरण हुन सकिरहेको छैन ।

जसका कारण विशिष्टकृत सेवाहरु प्रभावित भइरहेका छन् । तामझामका साथ संचालनमा ल्याइएको एमआरआइ मेसिन समेत संचालनको एक हप्तामै बन्द भयो । तर बन्द भएको ६ महिना वित्न लाग्दा समेत संचालनमा आउन सकेको छैन् । सिंगो अस्पतालनै संकटमा रहेको चिकित्सकहरु बताउँछन् ।

व्यवस्थापकीय पक्ष निकम्मा हुँदा गरिव तथा निम्न आयस्तर भएका र टाढाबाट आएका बिरामीहरु विचल्लीमा छन् ।सामान्य शल्यक्रियाका लागि पनि एक वर्ष पालो कुर्नुपर्ने अवस्था छ ।

  • २० जेष्ठ २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech