तापक्रम वृद्धिको प्रत्यक्ष असर जनजीवनमा परेको छ । विशेष गरी स्कुले बालबालिकाको स्वास्थ्य उच्च जोखिममा रहन्छ । तराईका बाँके, कैलाली, चितवन, दाङलगायतका जिल्लाहरूमा अत्यधिक गर्मी बढेपछि एक साताका लागि विद्यालयहरू बन्द गरिएका छन् ।
बालबालिकामा गर्मीका कारण समस्या भएको कसरी थाहा पाउने, कसरी जोगाउने ?
अत्यधिक गर्मीका कारण बालबालिकाहरूमा धेरै थकान हुने, हातखुट्टा फर्किनेजस्ता असररहरू देखिन सक्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस्ता लक्षण देखिए बालबालिकालाई तुरुन्तै अस्पताल पुर्याउनुपर्छ ।
मन्त्रालयका अनुसार यदि सामान्य असर देखिएमा यस्तो किन भइरहेको छ भन्नेबारे प्रस्ट बुझाएर नआत्तिन र नडाराउन प्रेरित गर्नुपर्छ । गर्मीमा बालबालिकालाई हलुका र फिक्का रंग भएको कपडा लगाइदिनुपर्छ ।
बालबालिकामा असर हुन नदिन बेलाबेलामा पिसाब गरे/नगरेको ख्याल गर्नुपर्छ । गाढा पहेँलो पिसाब भए पानी नपुगेको भन्न सकिन्छ । यस्तो अवस्थामा उनीहरूलाई पर्याप्त पानी र झोलिलो खाने कुरा खुवाउनुपर्छ ।
अत्यधिक गर्मीको असरबाट जोगिन सबै उमेर समूहका व्यक्तिमा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, अधिक टाउको दुख्ने, चक्कर लाग्नेजस्ता समस्या देखिन सक्छन् । यस्ता लक्षण देखिए तत्काल बिरामीलाई अस्पताल पुर्याउनुपर्छ ।
गर्मीयाममा पर्याप्त पानी पिउने, कागती पानी, नरिवलको पानी तथा फलफूलको रस, काँक्राजस्ता खानेकुरा खानु स्वस्थकर हुन्छ । चिया, कफी, सोडाजस्ता खानेकुरा गर्मीमा नखान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुझाव छ ।
जनस्वास्थ्यविद् डा. अरूणा उप्रेती घाममा बालबालिकालाई सकेसम्म घर बाहिर खेल्न नपठाउन र खाली पेटमा कोही पनि घरबाहिर ननिस्कन सुझाव दिनुहुन्छ ।
यस्तो गर्मीमा मही, फलफूलको जुस, कागनी र सख्खर मिसाई बनाइएको सर्बत, सातुजस्ता खानेकुरा बालबालिकालाई दिइरहन र गर्मीबाट हुन सक्ने सम्भावित जोखिमबाट जोगाउन डा. उप्रेतीको अनुरोध छ ।