नेपालगन्जः आगोले पोले जस्तो प्रचण्ड गर्मी त्यसमाथि चल्ने तातो हावाका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले आजदेखि विद्यालय बन्द गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले आइतवारदेखि विद्यालय खुल्ने गरी आजदेखि विद्यालय बन्द गरेको छ भने कोहलपुर नगरपालिकाले पनि आइतवारदेखि विद्यालय खुल्नेगरी अहिलेलाई तीन दिन विदा दिएको हो । गर्मी बढ्दै गएमा बिदाको समय लम्ब्याउन सकिने पालिकाहरुले बताएका छन् । गर्मी बिदालाई वर्षायाममा दिँदै आएको बिदाबाट मिलान गर्ने गरी विदा दिइएको छ ।
वर्षायाममा हरेक वर्ष बिदा दिने गरिन्छ । जिल्लामा दिउँसोको तापक्रम ४२ डिग्रीमाथि पुग्ने गरेको छ । जस्ता पाता र पक्की छत तातिने गर्दा विद्यार्थीलाई पढने वातावरण नभएको शिक्षकहरू बताउँछन । विद्यालय गर्मीले बालबालिका निकै प्रभावित भएको चिकित्सकले बताए । उपचारका लागि अस्पताल पुग्ने मध्ये ६० प्रतिशत बालबालिकामा टाउको दुःख्ने,ज्वरो आउने,झाडापखालाको समस्या देखिने गरेको छ ।