नेपालगन्जः बाँकेमा ३५ हजार सात सय पाँच बालबालिकालाई पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप लगाइने भएको छ । त्यसका लागि दुई सय ४३ वटा खोप केन्द्र तोकिएको छ । यस्तै दुई सय ४३ जना खोप दिने स्वास्थ्यकर्मी र चार सय ८६ जना स्वास्थ्य स्वयमसेवक परिचालन गरिने छ । स्वास्थ्य कार्यालय बाँकेले बुधवार नेपालगन्जमा आयोजना गरेको जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मीसँगको अन्तरक्रियामा यही जेठ १३—२६ गते सम्म सञ्चालन हुने खोप अभियानमा विसं २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी भएको जानकारी दिइएको हो ।
सकेसम्म २४ गतेभित्र लक्षित सम्पूर्ण बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको खोप संयोजक नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आठवटै पालिकामा एकैसाथ खोप सञ्चालन हुने पनि जानकारी दिए । नेपालगन्जमा नौ हजार एक सय २९, डुडुवामा एक हजार नौ सय ६३, कोहलपुरमा आठ हजार, जानकीमा दुई हजार एक सय २३, खजुरामा चार हजार नौ सय ६१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ । त्यसैगरी बैजनाथमा तीन हजार एक सय ३१, राप्ती सोनारीमा तीन हजार दुई सय ३१ र नरैनापुरमा तीन हजार एक सय ६८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले सकेसम्म लक्षित उमेरका बालबालिका रहेका सबै विद्यालयमा केन्द्र राखेर खोप लगाइने बताउनुभयो । नेपालगन्जका नगरप्रमुख प्रशान्त विष्टले पोलियो खोपलाई प्रभावकारी बनाउन नजिकको खोपकेन्द्रमा लगेर आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभयो । उहाँले कुनै पनि बालबालिकाहरु खोपबाट बञ्चित हुन नहुनेमा जोड दिनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बाँकेलाई पोलियोमुक्त गराउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो । स्वास्थ्य कार्यालयका प्रमुख अंगत बहादुर शाहीले पोलियोविरुद्ध २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म खोप उपलब्ध नभएकाले नेपालभरिका बालबालिका खोपबाट वञ्चित भएकाले खोप अभियान सञ्चालन गरिएको बताउनुभयो । पोलियो भएकामध्ये ३ प्रतिशत बालबालिकालाई पक्षघात हुने र त्यसको उपचार नभएकाले सङ्क्रमण हुनबाट जोगाउन बालबालिकालाई खोप दिने गरिन्छ ।
राप्ती सोनारीमा तयारी गोष्ठि
बाँकेको राप्ती सोनारी गाउँपालिकामा पोलियो रोग विरुद्धको आईपिभी खोप अभियानलाई प्रभावकारी गराउन पालिका स्तरीय अभिमुखिकरण सम्वन्धी एक दिने गोष्ठि गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यही जेठ १३ गतेबाट २६ गतेसम्म चल्ने अभियानलाई प्रभावकारी सम्वद्ध सरोकारवालाहरुको उपस्थितिमा गोष्ठि गरिएको राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक रामचन्द्र वलीले जानकारी दिनुभयो ।
खोप अभियान सञ्चालन गर्नुअघि त्यसको तयारीका लागि पालिका स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको उहाँले बताउनुभयो । पोलियो रोग उन्मुलन गर्ने उद्देश्यका साथ आईपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । उहाँका अनुसार २०७३ वैशाखदेखि २०७८ असोजभित्र जन्मेका बालबालिकालाई उक्त खोप दिइनेछ । राप्ती सोनारीमा ३ हजार दुई सयबढी बालबालिकालाई खोप दिने लक्ष्य रहेको छ । जेठ १३ गतेदेखि सुरु हुने यो अभियानमा २७ वटा केन्द्र तोकिएको छ ।
सुईमार्फत दिइने यो खोपका लागि १८ जना भ्याक्सिनेटर, १८ जना खोप कार्यकर्ता ५४ जना स्वयसेवकहरु परिचालन गरिने छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीको अध्यक्षतामा भएको गोष्ठिमा बोल्दै गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले पोलियो रोग उन्मुलनका लागि लक्षित वर्गका बालबालिकाहरुलाई आईपिभी खोप लगाउन अभिभावकहरुलाई आग्रह गर्नुभयोे ।
उहाँले पोलियोका कारण हुन सक्ने जोखिमलाई दृष्टिगत गरी रोग लाग्नु भन्दा पनि रोग लाग्न नदिनुनै वेश भन्ने युक्तीलाई आत्मसाथ गर्न आग्रह गर्नुभयोे । उहाँले पोलियो रोग लागिसकेपछि उपचार सम्भव नभएकाले रोग नलाग्दै खोप लगाउनु पर्नेमा सबै नागरिक सचेत हुनुपर्ने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले पनि आफ्ना नानीबाबुलाई खोप केन्द्रसम्म पुगेर खोप लगाउन अभिभावकहरुलाई सुझाव दिनुभयो ।