नसा च्यापिएपछि अन्तिम विकल्प शल्यक्रिया नै हो त ?

    • डा. रुपेश राउत / न्युरोसर्जन परामर्शदाता

  • ६ जेष्ठ २०८१, आईतवार

नसा च्यापिने समस्याले अहिले धेरैलाई सताइरहेको छ । लामो समयसम्म कम्प्युटरमा काम गर्नुपर्ने, मोटरसाइकलमा कुद्नुपर्ने, गाडी चलाउनुपर्ने, निहुरिएर काम गर्नुपर्ने जस्ता कामले नसा च्यापिने समस्या निम्त्याउँछ । नसा च्यापिने समस्या भए कस्तो अवस्थामा फिजियोथेरापी गर्ने, कस्तो अवस्थामा शल्यक्रिया गर्ने ? शल्यक्रिया गर्ने कि नगर्ने ? भन्ने विषयमा बिरामीहरूमा दुविधा रहेको पाइन्छ । बिरामीको अवस्था हरेर शल्यक्रिया गर्ने कि नगर्ने भन्ने कुरा तय गर्न सकिन्छ । धेरै बिरामी बिना शल्यक्रिया पनि निको भएका छन् । तर केही बिरामीको भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

९० प्रतिशत नसा च्यापिएको समस्या औषधि, जीवनशैली परिवर्तन, थेरापी र औषधि सेवनबाट नै समाधान हुन्छ । बाँकी १० प्रतिशत गम्भीर समस्या भएकाहरूलाई मात्र शल्यक्रिया गर्नुपर्छ । हाम्रो मेरुदण्डको हड्डी ब्लक जस्तो हुन्छ, एकमाथि अर्को खप्टिएर बसेको हुन्छ । दुईवटा ब्लकको बीचमा बाक्लो तरल पदार्थबाट बनेको कुरकुरे हड्डी जस्तो तत्त्व हुन्छ, जसलाई ‘डिस्क’ भनिन्छ ।

जब यो कुरकुरे हड्डी बुढो हुँदै जाँदा वा मेरुदण्डमै ठूलो चोट लाग्दा यो आफ्नो ठाउँबाट निस्कन थाल्छ र नजिकै रहेको नसालाई च्याप्न थाल्छ । त्यो नसा हाम्रो शरीरको जुन भागमा जान्छ, सोही दिशातिरको हातखुट्टा झमझमाउने, शरीर भारी हुने, शरीरको कुनै भाग लाटो हुने, पोल्ने राम्ररी नचल्ने लगायत समस्या देखा पर्छ । यदि शरीरको देब्रेतिर नसा च्यापिएको छ भने त्यसको असर देब्रे खुट्टामा पर्छ । दायाँतिर छ भने असर पनि दायाँतर्फ नै बढी महसुस हुन्छ । दुखाइ पनि त्यत्तिकै बढी हुन्छ ।

डिस्क आफ्नो ठाउँबाट निस्किएको छ तर खासै समस्या दिएको छैन, दुखाइ सामान्य मात्र छ भने वा अन्य लक्षण देखिएको छैन भने कतिपय अवस्थामा यो समस्या आफैं निको पनि हुन्छ । डिस्क बाहिर निस्किएपछि त्यसमा पानीको मात्रा कम भएर डिहाइड्रेट भएर सुक्दै जान्छ र तीन चार वर्षपछि आफैं निको हुन्छ ।

कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ ?

केही व्यक्तिमा औषधि खाँदा पनि दुखाइ कम भएन, समस्या झन् बढ्दै गयो भने शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । नसा च्यापिएको बिरामीमा हातखुट्टा झमझम गर्ने, हिँड्दा खेरि ढाड, पिडौंला धेरै दुख्ने, खुट्टाका औँला लुला हुने, दिसा-पिसाबमा समस्या आउने लगायतका कडा लक्षण देखा परेमा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

शल्यक्रियापछि समस्या पूर्ण रूपमा निको हुन्छ ?

कुनै पनि उपचारले बिरामी शतप्रतिशत निको हुन्छ भन्ने कुरा ग्यारेन्टीका साथ भन्न सकिंदैन । शल्यक्रियापछि बिरामी शतप्रतिशत निको हुन्छ भन्ने हुँदैन शल्यक्रिया गर्दा पनि विभिन्न जटिलता आउन सक्छ । तर जटिलता निम्तिएला भनेर शल्यक्रिया गरिएन भने नसा झन् धेरै च्यापिएर दुखाइ बढ्न थाल्छ । त्यसैले जसलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ उनीहरूले शल्यक्रिया गर्नैपर्छ ।

आजभोलि शल्यक्रियाको निम्ति विभिन्न नयाँ प्रविधिहरू भित्रिएको छ । दुर्बिनको माध्यमबाट पनि शल्यक्रिया गर्न सकिन्छ । यसरी शल्यक्रिया गर्दा धेरै ठूलो घाउ हुँदैन । शल्यक्रियापछि त्यही दिन वा भोलिपल्ट नै डिस्चार्ज भएर सामान्य जीवनमा फर्किन सकिन्छ । त्यसैले शल्यक्रिया गर्न डराउनु हुँदैन यदि शल्यक्रिया गर्नैपर्ने छ भने चिकित्सकको सल्लाहमा शल्यक्रिया गर्नुपर्छ ।

नसा च्यापिएको उपचार नगरे प्यारालाइसिस हुन्छ ?

डिस्कले नसालाई कति च्यापेको छ त्यसैअनुसार समस्या बढ्छ । डिस्क आफ्नो ठाउँबाट निस्केर नजिकै रहेको नसालाई च्याप्ने हुनाले त्यो नसा हाम्रो शरीरको जुन भागमा जान्छ, सोही दिशातिरको हातखुट्टा झमझमाउने र खुट्टाको औंलाहरू लुलो हुने हुन्छ ।

यस्तो हुँदा पनि समयमा उपचार गरिएन भने दुखाइ बढ्दै जान्छ । खुट्टा झमझमाउने मात्र होइन, लाटो हुँदै जान्छ र प्यारालाइसिस हुने सम्भावना समेत हुन्छ ।

  • ६ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech