नेपालगन्ज: सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा राजन पाण्डेलाई नियुक्त गरेको छ । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन बिभाग प्रमुख डा पाण्डेलाई सरकारले प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको हो ।
हाल डा पाण्डे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै किनोट स्पिकरको रूपमा जर्मनीको राजधानी बर्लिन हुनुहुन्छ । डा पाण्डेले यसअघि भरतपुर अस्पतालमा पनि मेसुको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।
लामो समयदेखि भेरी अस्पतालमा बसेर सेवा प्रबाह गर्दै आउनु भएका डा पाण्डेले भेरी अस्पतालमा पहिलो पटक ब्यबस्थापकिय जिम्मेवारी पाउनुभएको हो । डा पाण्डे चिकित्सा क्षेत्रमा अब्बल मानिनुहुन्छ ।
भेरी अस्पतालको अबस्थाबारे पूर्णरुपमा जानकार डा पाण्डेले अस्पतालको सेवा प्रबाहलाई स्तरीय बनाउने धेरैको बिश्वास छ ।
प्रमुख मेसुको जिम्मेवारी प्राप्त गरेपछि बर्लिनबाट स्वास्थ्य पेजसंग डा पाण्डेले भन्नुभयो-` भेरीको सेवा प्रबाहलाई थप स्तरीय बनाउन सबैसंग समन्वय र सहकर्य गरेर अघि बढ्छु ।´ यसअघि भेरी अस्पतालको मेसुमा डा पवनजंग रायमाझी हुनुहुन्थ्यो ।