काठमाडौं: उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहनुभएका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाउनु भएको हो । उहाँले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।
उहाँसगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिनुभएको छ । मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै केन्द्रमा यादवले राजीनामा दिनुभएको हो ।
जसपा नेपालमा विभाजन आएपछि यादव सरकारबाट बाहिरिने चर्चा चलिरहेको थियो । आजै बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठक अगाडि नै उहाँले राजीनामा बुझाउनुभएको हो । अघिल्लो साता जसपा नेपाल विभाजनसँगै बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी अहिले प्रचण्ड सरकारमै छ ।