काका-भतिजको खटपटले निदान अस्पताल बन्द

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०८१, आईतवार

नेपालगन्जः ललितपुरको पुल्चोकस्थित निदान अस्पताल बन्द भएको छ । अस्पतालको ढोकामा ताला झण्ड्याइएको छ । छेउमा एउटा सूचना पनि टाँसिएको छ, जसले अस्पतालमा ताला घरधनीले लगाएको प्रष्ट हुन्छ । सम्झौता अनुसार भवनको भाडा नतिरेको र यसबारे जानकारी गराउँदा पनि अस्पताल सञ्चालकहरु सम्पर्कमा नआएकाले २० वैशाखमा आफूहरुले एकतर्फी रुपमा ताला लगाएको घरधनीको सूचनामा उल्लेख छ ।घरधनीले अस्पतालमा ताला लगाउनुभन्दा अघि नै स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले काम छाडेका थिए ।

अस्पताल व्यवस्थापकले पारिश्रमिक नदिएपछि त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले संघर्ष समिति नै बनाएका थिए ।
२०६९ सालमा डा.पुकारचन्द्र श्रेष्ठको अगुवाइमा निदान अस्पताल स्थापना भएको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा रहेका कारण श्रेष्ठ सार्वजनिक रुपमा भने निदान अस्पताल सञ्चालकका रुपमा खुलेर आउनु भएन्। व्यवस्थापनको जिम्मेवारी भतिज (पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरां छोरा) अभिषेकलाई दिनुभएको थियो । ५ ५ लाख रुपैयाँ लगानी गरेर १५ जना चिकित्सक पनि जोडिएका थिए ।लगानीकर्ता वरिष्ठ चिकित्सक निदानमा जोडिएपछि केही वर्षमै राम्रो आम्दानी गर्न थाल्यो । त्यसले टकराब पनि ल्याउन थाल्यो ।

काका(पुकार) र भतिज (अभिषेक) बीच अस्पताल सञ्चालनको विषयलाई लिएर खटपट सुरू हुन थाल्यो । पुकार आफ्ना कारण अस्पताल चलेको दाबी गर्नुहुन्थ्यो भने अभिषेक सबभन्दा ठूलो लगानीकर्ता हुनुहुन्थ्यो । त्यसक्रममा डा. पुकारचन्द्रले भतिज अभिषेकलाई जिम्मेवारीबाट हटाएर बीपेन्द्र प्रधानलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउनुभएको थियो । त्यही बेला अनाधिकृत रुपमा मिर्गौला प्रत्यारोप गरेको आरोपमा प्रहरीले असोज २०७६ मा निदान अस्पतालका सीईओ बीपेन्द्रसहित ५ जनालाई पक्राउ पर्‍यो ।

डा. पुकारचन्द्रविरुद्ध मुद्दा मामिला त भएन, तर यो प्रकरणले उहाँको छवि धुलिसात बनायो । अस्पतालले पनि बद्नाम भयो । क्रमशः बिरामीको चाप घट्न थालेपछि अस्पताल पनि आरालो लाग्न थाल्यो । मिर्गौला प्रकरणले निदानलाई आरोलो लगाउन ठूलो भूमिका खेलेको त्यहाँ काम गरेका चिकित्सकहरु बताउँछन् । अस्पतालका सञ्चालक अभिषेकले २०७८ मा थप लगानी भित्र्याएर अस्पताललाई चलाउन खोज्नुभयो । प्रसिद्ध गायिका आनी छोइङ डोल्माको आनी छोइङ डोल्मा फाउन्डेसनले ‘डोल्मा इन्फेक्ट फन्ड’मार्फत २० देखि ३० करोड रुपैयाँसम्म अस्पतालमा संस्थागत लगानी गर्ने भयो ।

सञ्चालक अभिषेकले सबै चिकित्सकलाई राखेर अस्पतालको क्षमता विस्तार लगायतका योजना समेत सुनाउनुभएको थियो । सहमति अनुसार पाँच करोड लगानी पनि आयो । मुख्य भवनको माथिल्लो तलामा रहेको लक्ष्मी बैंकलाई हटाएर आईसीयू कक्षको स्थापना भयो । सिटी स्क्यान मेसिन जडान गर्नुका साथै ओपीडी कक्ष निर्माण भयो । विस्तारपछि अस्पताल फेरि लयमा आउन थाल्यो । अस्पतालको मुख्य भवन वरपर रहेको ४२ आना जग्गा पनि किन्यो । तर पारिश्रमिकको समस्या समाधान हुन सकेन । स्वास्थ्यकर्मीले कुल पारिश्रमिकको २० प्रतिशत मात्र पाएका थिए । ‘वषौंदेखि काम गरेका कर्मचारीको तलबलाई नदिई जग्गामा लगानी गर्नुभयो ।

कर्मचारीलाई पैसा दिन्छु भनेर पटक पटक झुक्याउने काम पनि भयो’ आफ्नो मात्र १२ लाखभन्दा बढी लिन बाँकी रहेको रहको भन्दै एक चिकित्सकले भने, ‘आजित भएपछि धेरैले काम छाडे ।’ सुरुदेखि काम गरेका कतिपय चिकित्सकको ५० लाखभन्दा बढी रकम लिन बाँकी छ । चिकित्सकको मात्र करिब तीन करोड हाराहारीमा पारिश्रमिक लिन बाँकी रहेको रहेको उनीहरु बताउँछन् । नर्स, स्वास्थ्यकर्मी र कर्मचारीको पनि करोडभन्दा बढी पारिश्रमिक अस्पताल प्रशासनले दिन सकेको छैन । धेरै रकम दिनुपर्नेहरुलाई अस्पताल सञ्चालकले पारिश्रमिक बराबर शेयर दिने भनेर थामथुम पार्ने प्रयास गरे ।

अस्पतालका सञ्चालक अभिषेकले १२ करोड भए आर्थिक संकट समाधान गर्न सकिने सुनाउने गर्नुभएको थियो । केही महिना अगाडि मात्रै एक समूहले अस्पताल किनेर सञ्चालन गर्ने भनेर सम्वाद समेत गरेको थियो । तर सहमति जुट्न सकेन । त्यसपछि चिकित्सक आफ्नो बाटो लाग्दै गए, जसको असर अस्पतालको आम्दानीमा पनि पर्‍यो । दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मीले काम गरेको पारिश्रमिक नै पाउन छाडेपछि अस्पताल नगएको बताए ।

त्यसको मुख्य कारण भने अस्पतालका लगानीकर्ताहरुको कराब भएको उनीहरुले सुनाए । अस्पतालका वरिष्ठ एक चिकित्सकका अनुसार अस्पतालमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहित करिज एक सय जना शेयर सदस्य छन् । सबभन्दा बढी शेयर भने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेक श्रेष्ठको छ । यही बेला हिमालयन बैंकले ऋण तिर्न ताकेता गरेको छ । बैंकका अनुसार अस्पतालले साँवा र ब्याज गरी १६ करोड ४६ लाख ७६ हजार ६९४ रुपैयाँ ३१ पैसा तिनुपर्ने छ । १२ चैतमा जमानिकर्ता र सञ्चालकलाई पत्र लेख्दै बैंकले ३५ दिनभित्र ऋण नतिरे कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।

 

 

  • ३० बैशाख २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech