वायु प्रदूषणको असरः बिरामी नपर्न के गर्ने ?

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०८१, शुक्रबार

नेपालगन्जः स्वास्थ्य समस्याको जोखिम अहिलेको वायु प्रदूषणले विशेष गरी मानिसको फोक्सो र आँखामा समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्। त्यस्तै मुटुका रोगीहरूको समस्या पनि बढ्न सक्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एक चिकित्सकको भनाइ समेटिएको भिडिओ सामाजिक सञ्जालमा राख्दै सचेत रहन आग्रह गरेको छ।

‘कुनै पनि कडा वायु प्रदूषणमा सामना भएमा मुटुरोगीको समस्या अझ बढ्छ’ उक्त भिडिओमा डा गरिमा श्रेष्ठले भन्नु भएको छ। उहाँले वायु प्रदूषणले श्वासप्रश्वासमा पनि समस्या हुन सक्ने बताउनुभएको छ । अर्का छाती तथा फोक्सो रोग विशेषज्ञ डा पङ्कजकुमार देवले अहिलेको प्रदूषणले मुख्य रूपमा दीर्घरोगीहरूलाई बढी असर गर्ने बताउनुभएको छ ।

‘दम तथा अन्य खालका फोक्सो र श्वासप्रश्वाससम्बन्धी रोगीहरूलाई खराब वायुले सबैभन्दा धेरै असर गर्छ भने स्वस्थ व्यक्तिलाई पनि विभिन्न सङ्क्रमण निम्त्याउन सक्छ’ उहाँले भन्नुभयो । उहाँले वायु प्रदूषणका कारण सुक्खा खोकी लाग्ने, घाँटी चिलाउने तथा श्वासप्रश्वासका समस्याहरू देखिन सक्ने बताउनुभयो ।

नेपालगन्जका अस्पतालमा अहिले यस्ता बिरामीको सङ्ख्या पछिल्ला दिनमा बढी पनि रहेको छ। उहाँले लामो खोकी लागेर आउने बिरामीको सङ्ख्या अहिले ह्वात्तै बढेको बताउनुभयो । त्यस्तै छाला, नाक र आँखा चिलाउने खालका समस्या पनि देखिन सक्ने उहाँले बताउनुभयो ।

जोगिन के गर्ने ?
वायु प्रदूषणको दुष्प्रभावबाट जोगिन सकेसम्म घरबाहिर ननिस्किन चिकित्सकहरूले सुझाव दिएका छन्। श्वासप्रश्वाससम्बन्धी समस्याबाट बच्नका लागि घरभित्रै बस्नु उपयुक्त हुने उहाँको भनाइ छ ।

प्रदूषणको मात्रा बिहान र साँझ बढी हुने भएकाले त्यो अवधिमा बाहिर ननिस्किन उहाँ श्वासप्रश्वासका रोगीलाई सुझाव दिनुहुन्छ।त्यस्तै बाहिर निस्किनु नै पर्ने अवस्थामा मास्क लगाउन उहाँ सुझाव दिनुहुन्छ।

घरभित्र बस्दा पनि झ्याल र ढोका बन्द गर्न तथा धूप नबाल्न तथा धूमपान नगर्न पनि चिकित्सकहरू सुझाव दिनुहुुन्छ । सुक्खा खोकी लाग्ने, टाउको दुख्ने र वाकवाक लाग्ने जस्ता समस्या देखा परे चिकित्सकको राय लिन पनि देवले आग्रह गर्नुभयो ।

  • २१ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech