नेपालगन्ज: नेपालगन्ज, धनगढी, भैरहवा, सिमरालगायत स्थानको तापक्रम एक सातायता ४० डिग्री सेल्सियस नाघ्न थालेको छ । विशेषगरी, पछिल्ला दिनमा बढेको आगलागी, प्रदूषण तथा खडेरीका कारण गर्मी बढिरहेको छ । मौसमविद्हरुले आगामी तीन दिन तराईमा तातो हावा अर्थात् लू चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । गर्मीका बेला कस्ता स्वास्थ्य समस्या देखा पर्न सक्छन् र कस्ता सावधानी अपनाउनुपर्छ ?
अहिले देशभर गर्मी बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार एक सातायता देशका विभिन्न स्थानको तापक्रम ४० डिग्री नाघ्न थालेको छ । वैशाख ८ मा भैरहवाको तापक्रम ४३.६ डिग्री पुगेको थियो भने वैशाख ७ मा नेपालगन्जको तापक्रम ४०.७ डिग्री पुगेको थियो । यस्तै, वैशाख ७ मा धनगढीको ४०.६, वैशाख ८ मा सिमराको ४०.३ र वैशाख ९ मा जनकपुरको ४०.२ डिग्री पुगेको छ । मंगलबार पनि जनकपुरको तापक्रम ४०.८ र भैरहवाको ४१.१ डिग्री रहेको छ । गर्मी बढेसँगै जनजीवन पनि कष्टकर हुन थालेको छ ।
गर्मी बढ्ने क्रम केही दिन अझै जारी रहनेछ । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा वैशाख १४ गतेसम्म तातो लहर अर्थात् ‘हिट वेभ’ को सम्भावना भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जलवायु विज्ञ डा. धर्मराज उप्रेती भने पछिल्ला अध्ययनले यस वर्ष नेपालमा औसतभन्दा बढी गर्मी हुने दाबी गर्नुहुन्छ । ‘दक्षिण कोरियाको एपेक्स सेन्टरको विश्लेषणअनुसार नेपालमा औसतभन्दा बढी गर्मी हुने सम्भावना ९१ प्रतिशत छ । सम्भावना देखिइसकेको अवस्था छ,’ उप्रेतीले भन्नुभयो ।
गर्मी बढेसँगै स्वास्थ्यमा पनि विभिन्न समस्या निम्तन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. मिलन वज्राचार्य बताउनुहुन्छ । यो बेला ब्याक्टेरिया तथा भाइरसको वृद्धिविकास हुने हुँदा पानी तथा खानपानका कारण हुने रोगहरु जस्तै झाडापखाला, टाइफाइड, जन्डिसलगायतको समस्या बढ्ने गर्छ ।
त्यसबाहेक मुटुको धड्कन बढ्ने, बेहोस हुने, बान्ता हुने, वाकवाकी लाग्ने, आँखाको समस्या बढ्नेलगायत विभिन्न समस्या देखिने उहाँको भनाइ छ । ‘ब्याक्टेरिया तथा भाइरसको वृद्धिविकास हुने हुँदा पानीजन्य र खानपानका कारण हुने रोगहरु जस्तै- झाडापखाला, टाइफाइड, जन्डिसलगायत समस्या बढ्दै जान्छ,’ वज्राचार्यले भन्नुभयो ।
गर्मीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिने भएकाले सतर्कता अपनाउन जरुरी रहेको चिकित्सक बताउँछन् । दिउँसोको समयमा बाहिर ननिस्कने, बाहिर निक्लनै परे छाता वा शरीर ढाकिने गरी पातलो कपडाको प्रयोग गर्ने, बासी तथा सडेगलेको खाना नखाने, प्रशस्त पानी तथा फलफूलको प्रयोग गर्ने र खेतबारीको काम विहान वा बेलुका गर्नेजस्ता सावधानी अपनाउनुपर्ने हुन्छ ।
गर्मीमा देखिने समस्याबारे सतर्कता र सावधानी नअपनाएमा यसले जोखिम बढाउन सक्छ । यस्तोमा सरकारले पनि स्वास्थ्य सेवाको पहुँच बढाउन, अस्पतालहरुमा आवश्यक तयारी गर्न र जनचेतनाका लागि ध्यान दिनुपर्छ ।