जीवनशैली, खानपान र वंशाणगत कारण आजकाल मधुमेहका रोगी विश्वभर बढिरहेका छन् । वृद्धवृद्धा मात्र नभई युवा तथा बालबालिका समेत मधुमेहको सिकार भइरहेका छन् । रगतमा चिनीको मात्रा बढ्नुका साथै इन्सुलिनले राम्रोसँग काम नगर्दा यो रोग लाग्ने गर्छ । यसलाई बेवास्ता गरियो भने शरीरका अन्य अङ्गहरू निष्क्रिय हुन सक्छन् ।
लक्षण
- मुख सुक्खा हुने ।
- एकदमै तिर्खा लाग्ने ।
- धेरै पिसाब लाग्ने ।
- गलेको महसुस हुने ।
- खाना बढी रुच्ने ।
- खुट्टा पोल्ने ।
- खुट्टा झमझमाउने ।
- आँखा धमिलो हुने, स्पष्ट नदेख्ने ।
- कुनै पनि घाउ निको हुन गाह्रो हुने ।
- मुख र घाँटीभित्र बारम्बार घाउ भइरहने ।
- धेरै थाकेको महसुस हुनु ।
- अचानक तौल घट्नु ।
- प्राइभेट पार्ट वरिपरि चिलाउनु ।
- ढिलो घाउ निको हुनु ।
- पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि ।
बच्ने उपाय
- मिठाइ तथा गुलियो खानेकुरा कम खानुस् ।
- चिनी र कार्बोहाइड्रेटयुक्त खानेकुरा कम खानुस् ।
- सक्रिय रहने, नियमित व्यायाम गर्ने, बिहान र बेलुका हिँडडुल गर्नुस् ।
- पानी धेरै पिउनुस् ।
- मिठो सर्बत र सोडा पेय पदार्थ कम पिउनुस्, सकेसम्म नपिउनुस् ।
- आइसक्रिम र क्यान्डी नखानुस् ।
- तौल घटाउनुस् र यसलाई नियन्त्रणमा राख्नुस् ।
- धुम्रपान र मदिरा सेवन नगर्नुस् ।
- उच्च फाइबरयुक्त आहार खानुस् ।
- प्रोटिन पनि धेरै मात्रामा उपभोग गर्नुस् ।
- भिटामिन डीको कमी हुन नदिनुहोस् । किनभने भिटामिन डीको कमीले मधुमेहको जोखिम बढाउँछ ।
- प्रशस्त मात्रामा सागसब्जी खानुस् ।
- कम चिल्लो तथा स्वास्थ्यवर्धक तेल प्रयोग गर्नुस् ।
- नुन तथा नुनिलो खानेकुराको प्रयोग कम गर्नुस् ।
- उचित मात्रामा नियमित समयान्तरमा खाने गर्नुस् ।
- दिनमा कम्तीमा दुईदेखि तीन लिटर पानी पिउनुस् ।
- रेशादार खानेकुराले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ । साथै रगतमा बोसोे, कोलेस्टेरोलको मात्रा नियन्त्रणमा राख्छ; मुटु रोगको जोखिमलाई कम गर्छ; कब्जियतको समस्या कम गर्छ; आन्द्रा स्वस्थ राख्छ; रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ ।
- चिल्लोको प्रयोग सकेसम्म कम गर्नुस् ।
- आवश्यक वजन बढ्न नदिई ग्लुकोज तथा चिल्लो नियन्त्रणमा राख्न, मुटु तथा रक्तनलीसम्बन्धी विभिन्न समस्याबाट बच्न स्वास्थ्यवर्धक तेल प्रयोग गरौँ, त्यो पनि सकेसम्म कम ।
- नौनी, घिउ, बोसो, वनस्पति घिउ, बेकन, नरिवलको तेल आदिको बढी प्रयोगले रगतमा कोलेस्टेरोल बढ्ने तथा मुटुरोग हुने सम्भावना बढी हुन्छ ।
- सनफलावर, भटमासको तेल, ओखरको तेल, सनपाटको बियाँ आदिको मात्र प्रयोगले कोलेस्टेरोल (एलडीएल) तथा नराम्रो कोलेस्टेरोल मात्र नभई मुटुका लागि सुरक्षित कोलेस्टेरोल (एचडीएल) पनि घटाउँछ । हानिकारक कोलेस्टेरोल (एलडीएल) शरीरका लागि कम भएको राम्रो हो । यस्तै कोलेस्टेरोल (एचडीएल) बढी भएको राम्रो हो ।
- ओलिभ, तोरीको तेल, बदामको तेल, बदाम, मकैको तेल, काजु स्वास्थ्यका लागि राम्रा हुन्, यिनको पनि कम प्रयोग गर्नुपर्छ ।
उपचार
मधुमेहका धेरै रूप छन् । यीमध्ये मधुमेह टाइप २ सबैभन्दा सामान्य हो । स्वस्थ जीवनशैलीको साथमा मधुमेहको उपचारले यसका जटिलतालाई रोक्नका लागि मद्दत गर्न सक्छ ।
टाइप–१ मधुमेहका बिरामीले औषधी र इन्सुलिन लिनुपर्छ । जसको मद्दतले उनीहरू आफ्नो अवस्था नियन्त्रण गर्ने प्रयास गर्छन् । दैनिक व्यायाम, सन्तुलित आहार, समयमै खाजा–नास्ता र तौल नियन्त्रण गरेर टाइप–२ मधुमेहका लक्षणबाट बिनाऔषधी छुटकारा पाउन सकिन्छ । सही आहारको मद्दतले टाइप–२ मधुमेह नियन्त्रण गर्न सकिन्छ । मधुमेह वा मधुमेहका लक्षणहरू देखापरेमा चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।
आफूलाई कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुहोला । आफूखुसी वा इन्टेरनेटको सहायतामा औषधी सेवन गर्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक असर देखिन सक्छ ।