नेपालगन्ज: चिकित्सा विज्ञानका लागि ‘एन्टिबायोटिक’ वरदान मात्र होइन, अभिशाप पनि हुनसक्ने संशय गरिंदैछ । किनभने यसको प्रयोग यति व्यापक हुँदै गएको छ कि भोलिको दिन मान्छेको शरीरमा एन्टिबायोटिकले काम नै गर्न छाड्ने पो हो कि भनी चिन्ता गर्न थालिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चेतावनी दिइरहेको छ- ‘अरुको सल्लाह वा आफूखुसी एन्टिबायोटिक सेवन गर्दा ज्यानै जान सक्छ ।’
हामीकहाँ एन्टिबायोटिकको प्रयोग जथाभावी हुने गरेको चिकित्सकहरु बताउँछन् । यसले खासगरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर गर्नसक्ने उनीहरुको भनाइ छ । त्यसो त आम मान्छे एन्टिबायोटिकको संवेदनशीलताबारे पनि त्यति सचेत पनि छैनन् । एन्टिबायोटिकलाई सामान्य औषधिसरह मान्ने गरिएको छ ।
के हो एन्टिबायोटिक ?
वीर अस्पतालका जनरल फिजिसियन डा. लोचन कार्की भन्नुहुन्छ, ‘एन्टी भनेको मार्ने वा वृद्धि–विकास रोक्ने र बायो भनेको जीवाणु हो । ब्याक्टेरियालाई नाश गर्ने औषधि वा गोली हो ।’ यसलाई सरल भाषामा बुझ्नुपर्दा जीवाणु नष्ट गर्ने वा वृद्धि–विकास हुन नदिने औषधि हो एन्टिबायोटिक । शरीरमा कुनै किसिमको ब्याक्टेरियाको संक्रमण भएमा एन्टिबायोटिक दिइन्छ । ब्याक्टेरिया छ कि छैन भन्ने कुरा चिकित्सकीय जाँचबाट पत्ता लाग्छ । यदि संक्रमण भएमा कुन र कति मात्रामा एन्टिबायोटिक खाने हो भनेर चिकित्सकले सिफारिस गर्छन् ।
‘स्वास्थ्य परीक्षण नगरी एन्टिबायोटिक दिन मिल्दैन,’ डा. कार्कीको भनाइ छ, ‘किनभने संक्रमण ब्याक्टेरियाले मात्रा नभई विभिन्न कारणले हुनसक्छ । जस्तै फंगस, प्रोटाजोवा इत्यादि सूक्ष्म जीवाणुमा एन्टिबायोटिक औषधिले काम गर्दैन । यी जीवाणुलाई एन्टिबायोटिकले कुनै पनि असर गर्दैन र नष्ट गर्न सक्दैन । त्यसैले ब्याक्टेरियाबाट हुने संक्रमणका लागि मात्रै एन्टिबायोटिकको प्रयोग गरिन्छ ।’
प्रचलित एन्टिबायोटिक
विश्वभर अहिले एकदमै प्रचलित पेनिसिलिन र सेफालोस्पिोरिन नामक एन्टिबायोटिक रहेको डा. कार्की बताउँछन् । यसले ब्याक्टेरियाको सेल वाल नै नष्ट गर्ने काम गर्छ । त्यस्तै एजिर्थ्योमाइसिन एन्टिबायोटिकले ब्याक्टेरियाले बनाउने प्रोटिनमा रोक लगाएर काम गर्छ । जसलाई मेडिकल भाषामा प्रोटिन सिन्थेसिस भनिन्छ ।
ब्याक्टेरियालाई ग्राम पोजेटिभ र ग्राम नेगेटिभ दुवै खालको संक्रमण हुनसक्छ । त्यसैले कुन खालको ब्याक्टेरियाको संक्रमण भएको छ पत्ता लगाएर मात्र एन्टिबायोटिक दिने गरिन्छ । त्यसैले जाँच गरेर मात्र एन्टिबायोटिकको प्रयोग गर्नु हुचुवाको भरमा नखानु भन्ने गरिन्छ । किनभने यो बाहिर जाँच नगरी थाहा हुँदैन ।
विदेशको हकमा चिकित्सकको सिफारिस (प्रिस्काइब) बिना एन्टिबायोटिक किन्न पाउँदैन र दिंदैन पनि । विदेशमा आभेर द काउन्टर औषधि मात्र किन्न पाइन्छ जस्तै रुघाखोकी, ज्वरो, टाउको दुखाइ, एन्टिएलर्जी, जुन चिकित्सकको परामर्श बिना खान मिल्छ । तर नेपालको हकमा त्यस्तो छैन । नेपालमा यत्तिकै चक्लेट किने जसरी किन्न पाइन्छ । कुनै प्रतिबन्ध नलगाएको उनी बताउँछन् ।
डोज पूरा नगरी खाँदा अझ खतरनाक
डोज पूरा नगरी आधा अधुरो खाँदा ब्याक्टेरियाले आफ्नो बनावट परिवर्तन गर्छ र अझ ब्याक्टेरिया सक्रिय हुँदै जान्छन्, उनले भनेपछि त्यही ब्याक्टेरियाको मार्ने एन्टिबायोटिकले पनि काम गर्ने हुन्छ । त्यसलाई एन्टिबायोटिक रेसिस्टेयान्ट भनिन्छ ।
के हो एन्टिबायोटिक रेसिस्ट्यान्ट ?
एन्टिबायोटिक रेसिस्ट्यान्ट भन्नाले एन्टिबायोटिकको सही प्रयोग नहुँदा बिस्तारै बिस्तारै त्यहाँ भएको ब्याक्टेरियाहरूले आफूभित्रको बनावटमा परिवर्तन ल्याउनु हो । त्यस परिवर्तनले ब्याक्टेरियाले एन्टिबायोटिकविरुद्ध लड्न सक्ने क्षमता विकास वृद्धि गर्छ, जसले गर्दा सोही ब्याक्टेरियालाई नष्ट गर्ने एन्टिबायोटिक प्रयोग गर्दा कुनै असर गर्दैन ।
यस्तो अवस्थालाई एन्टिबायोटिक रेसिस्ट्यान्ट भनिन्छ । जथाभावी एन्टिबायोटिक प्रयोग गर्दा बिस्तारै सबै एन्टिबायोटिकको ब्याक्टेरियाविरुद्ध लड्न सक्ने क्षमता ह्रास हुँदै जान्छ र उपचार सम्भव हुँदैन । मृत्युवरण हुनुपर्ने हुन्छ । त्यसैले हामीसँग उपलब्ध भएका एन्टिबायोटिकलाई जोगाउनुपर्ने अवस्था रहेको डा. कार्कीको सुझाव छ । यसलाई दुरुपयोग गर्न बन्द गर्नुपर्न उहाँको भनाइ छ । त्यसैले चिकित्सकको परामर्श बिना एन्टिबायोटिक किन्नु पनि हुँदैन र खानु पनि हुँदैन ।
कस्तो अवस्थामा सेवन गर्ने ?
कुनै पनि संक्रमण दुई-चार दिनमा ठीक भएन भने चिकित्सकलाई जाँच गराएर ब्याक्टेरियाले संक्रमण भएको अवस्थामा एन्टिबायोटिक खान सकिन्छ । हिजोआज एन्टिबायोटिकलाई अँध्यारोमा गोली हाने जसरी प्रयोग गरिरहेको पाइन्छ । ब्याक्टेरिया संक्रमण कुन प्रकारको हो, त्यो पत्ता लगाएर खाँदा ब्याक्टेरिया पनि मर्छ र रोग पनि निको हुन्छ । पछि सोही औषधिले पनि काम गर्छ । एन्टिबायोटिक रेसिस्ट्यान्टको जोखिम पनि हुँदैन । उदाहरणका लागि, चरालाई मार्न तोप पड्काउनुपर्ने आवश्यकता हुँदैन गुलेलीले नै काम गर्छ । त्यस्तै हात्तीलाई गुलेली काम गर्दैन, त्यसको लागि तोप नै चाहिन्छ ।
सामान्य मान्छेले कसरी छट्याउने एन्टिबायोटिक ?
‘मेडिकल फिल्डमा काम गर्ने चिकित्सक, नर्स, फार्मेसिस्टलाई एन्टिबायोटिक हो कि होइन सहजै थाहा हुन्छ तर सर्वसाधारणलाई यत्तिकै औषधिको नाम र खोल हेरेर एन्टिबायोटिक हो कि होइन ? थाहा पाउन सकिंदैन,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले सर्वसाधारणले एन्टिबायोटिक चिन्न कि त चिकित्सकलाई सोध्नुपर्ने हुन्छ, कि त औषधि पसलमा फार्मेसिस्टलाई सोध्नुपर्छ । अर्को भनेको गुगलमा सर्च गरेर मात्र थाहा पाउन सकिन्छ ।’
पछिल्लो समय एन्टिबायोटिकको असर बिस्तारै कम हुँदै गइरहेको छ । अर्थात् ब्याक्टेरियाविरुद्ध लड्न सक्ने क्षमता अब एन्टिबायोटिकमा छैन, जसलाई चिकित्सकको भाषामा ड्रग रेसिस्टट्यान्ट पनि भन्ने गरिन्छ । एन्टिबायोटिक वर्षौंदेखि जथाभावी प्रयोग भएको हुँदा एन्टिबायोटिकले ब्याक्टेरियाविरुद्ध काम गर्ने क्षमता निकै कम हुँदै गइरहेको छ ।
एन्टिबायोटिक जथाभावी खाँदा के हुन्छ ?
बालबालिकाको आवश्यकताअनुसार एन्टिबायोटिक दिन सकिन्छ, तर चिकित्सकलाई जाँच गराएर मात्र । बालिबालिकाको हकमा सकेसम्म एन्टिबायोटिक नचलाउने र यसलाई अन्तिम विकल्पको रुपमा मात्र प्रयोग गर्नुपर्छ । त्यसैले बालबालिकालाई कुनै संक्रमण भएमा हतारहतार एन्टिबायोटिक दिनु हुँदैन ।
संक्रमण भएको चार-पाँच दिनसम्म सर्वेक्षण गर्नुपर्छ । किनभने बच्चाको एन्टिबडी बनाउन मद्दत गर्छ । रोगसँग लड्ने क्षमता वृद्धि भएर एन्टिबायोटिकबिना नै ब्याक्टेरियालाई नष्ट गर्छ । बिस्तारै उमेरसँगै रोगप्रतिरोधात्मक क्षमता बढ्दै जान्छ र एन्टिबायोटिकको प्रयोग गर्नुपर्ने अवस्था आउँदैन ।
‘तर स-साना समस्यामा पनि बच्चालाई एन्टिबायोटिक दिएमा रोगप्रतिरोधात्मक क्षमता ह्रास हुँदै जाने र एन्टिबडी विकास नहुने हुनसक्छ,’ डा. कार्की भन्छन्, ‘पछि गएर कुनै पनि एन्टिबायोटिक औषधिले काम नगर्ने हुनसक्छ । किनभने शरीरभित्रको ब्याक्टेरियाले पनि त्यही अनुसार आफूलाई विकास गरिसकेको हुन्छ ।
बालरोग विशेषज्ञ डा. रामभक्त सुवेदी उपयुक्त डोज सही तरिकाले प्रयोग नगर्दा हुनसक्छ । ‘तर चिकित्सकको निगरानीमा प्रयोग गरेमा समस्या हुँदैन । जथाभावी प्रयोग गरेमा हुनसक्छ । किनभने कसैलाई मलम दिनुपर्ने हुन्छ भने कसैलाई ट्याब्लेट, इन्जेक्सन कुनै एन्टिबायोटिक नै नचाहिने पनि हुनसक्छ,’ उनी भन्छन् ।