गर्भधारणअघि मोटोपन भए के हुन्छ ?

    • डा. श्वेता सिंह / प्रसूति तथा स्त्रीरोग एवं नि:सन्तानपन विशेषज्ञ

  • ३ बैशाख २०८१, सोमबार

मोटोपनले दुई अवस्थामा प्रत्यक्ष असर गर्छ । पहिलो- गर्भधानको बेला, दोस्रो- गर्भावस्थामा । गर्भावस्थामा मोटोपन एक बाध्यात्मक अवस्था हो । जबकि मोटोपनले यसबेला धेरै किसिमको हानि गर्ने जोखिम हुन्छ । खासगरी गर्भावस्थामा हामीलाई धेरै भोक लाग्छ । यसो हुनुमा लेप्टिन नामक हार्मोन जिम्मेवार छ । यो हार्मोन रगतमा बढेपछि हामीलाई भोक लाग्छ । यही कारण हामी धेरै खान थाल्छौं । नतिजा, मोटोपन बढ्छ ।

यसले गर्ने खास असर भनेको अरु हार्मोनको गडबडी हो । जस्तो, स्ट्रोजन, प्रोजिस्टेरोन, पोल्याक्ट्रिन हार्मोन गडबड हुन थाल्छ । यसले गर्दा महिनावारी अनियमित हुने, महिनावारी भएपनि रगत धेरै जाने र कतिपयलाई महिनावारी बन्द हुनसक्छ । डिम्बाशयमा पनि जुन अण्डाहरु निस्किनुपर्ने हुन्छ, त्यो निस्किंदैन । यस्तो अवस्थामा गर्भधारण गर्न नै समस्या हुन्छ । अर्थात् सहज गर्भधान हुँदैन ।

गर्भधारणअघि मोटोपन भए के हुन्छ ?

मोटोपनको पनि भिन्न मात्रा छ । सामान्य भन्दा बढी नै मोटोपन छ भने गर्भधानमा नै त्यसले समस्या ल्याउन सक्छ ।

त्यसैले यस्तो अवस्थामा गर्भधान गराउनुअघि परामर्श लिनु उत्तम हुन्छ । यसले गर्दा गर्भधानको सम्भावना बढी हुन्छ र भ्रूणमा विकास हुने बच्चामा पनि विकार आउँदैन ।

यसमा सामान्यदेखि अनुसन्धानमूलक जाँच गरिन्छ । मानौं, श्रीमान र श्रीमतीमध्ये श्रीमती मात्र मोटी छिन् भने रगतको जाँच गरिन्छ । जसमा थाइराइड, मधुमेह, उच्च रक्तचाप समस्या छ कि छैन भनी हेरिन्छ । त्यस्तै कुनै वंशाणुगत समस्या छ कि छैन भनेर पनि जाँच गरिन्छ ।

अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्स-रेमा पाठेघरको अवस्था ठीक छ कि छैन भनेर जाँच गरिन्छ । पुरुषको शुक्रकीटको पनि जाँच गरिन्छ । शुक्रकीटको उत्पादन, मात्रा, बनावट कस्तो छ भनेर हेरिन्छ ।

केही गरी गर्भधारण गर्ने महिलाको तौल हुनुपर्ने भन्दा एकदमै बढी छ भने व्यायाम गर्न, खानपानमा ध्यान दिन र अहिले भएको तौल भन्दा १० प्रतिशत कम गर्नुपर्छ । किनभने गर्भावस्थामा यत्तिकै पनि तौल बढ्छ । त्यसकारण गर्भधारण गर्नुभन्दा पहिला नै धेरै तौल छ त्यसमाथि गर्भाधारण गरिसकेपछि यत्तिकै पनि १० देखि १६ किलो बढ्छ । त्यसले आमा र भ्रूणमा जटिलता देखिने हुन्छ ।

मोटोपनले बच्चा र आमालाई के समस्या हुनसक्छ ?

आमामा आवश्यक्ताभन्दा बढी मोटोपन छ भने गर्भ तुहिने जोखिम उच्च हुन्छ । १२ हप्ता न्युरल ट्युब डिफेक्टको समस्या हुनसक्छ । जन्मजात शिशुमा मस्तिष्क र मेरुदण्डको गम्भीर समस्या हो । शिशुमा मुटुको समस्या, समयमा भन्दा अघि नै जन्मिने अर्थात् पूर्वजन्म हुने, शिशुको तौल कम हुने समस्या हुन्छ । त्यस्तै आमालाई मोटोपनका साथै मधुमेहको समस्या भएमा एकदमै बढी तौल भएको बच्चा जन्मिने हुन्छ । जस्तै चार-पाँच केजी हुन्छ ।

आमाको मोटोपनको कारण उच्च रक्तचापको समस्या भएमा पाठेघरभित्र नै भ्रूण खेर जाने, मरेको शिशु जन्मिने, बच्चाको वृद्धिविकासमा समस्या हुनसक्छ । यो भयो शिशुमा हुनसक्ने समस्या ।

एकदम मोटो भएमा मधुमेह, उच्च रक्तचापको समस्या प्रि-एक्लेम्पसिया र एक्लेम्पसिया हुने जोखिम बढी हुन्छ । प्रि-एक्लेम्पसिया भनेको गर्भावस्थामा हुने एक निश्चित प्रकारको उच्च रक्तचाप हो । यसबेला महिलाको शरीर अनियन्त्रित रुपमा चल्छ यसलाई नै एक्लेम्पसिया भनिन्छ ।

मोटोपनले बाँझोपन हुन्छ ?

मोटोपनको कारण महिला र पुरुष दुवैको शरीरमा हार्मोनको गडबडी हुन्छ । जसकारण डिम्बासयबाट निस्किने अण्डा र शुक्रकीटको गुणस्तर कम हुँदै जान्छ । जसकारण गर्भाधारण हुने सम्भावना कम हुन्छ । गर्भ बसिहालेपनि खेर जाने जोखिम बढी हुन्छ । गर्भधारण गरेको तीन महिनामा नै खेर जाने हुनसक्छ । किनभने एउटा राम्रो भ्रूण तयार हुन राम्रो अण्डा र शुक्रकीट हुनुपर्छ । यसरी बारम्बार खेर गएमा गुणस्तर कम हुँदै गएर बाँझोपन हुने जोखिम हुन्छ ।

किन मोटोपन भएकी गर्भवती महिलालाई सिजेरियन गरिन्छ ?   

गर्भावस्थामा मोटोपन भएकै कारण सिजेरिन गर्नुपर्दैन । तर गर्भवती महिलामा मोटोपनकै कारण मधुमेह, उच्च रक्तचाप जस्ता समस्या छन् र भ्रूणको तौल आवश्यकता भन्दा कम वा बढी (मेडिकल भाषामा माइक्रोजोमिक बेबी) छ भने शल्यक्रिया गर्न सुझाइन्छ ।

तर मोटोपन भएपनि केही समस्या देखिएको छैन भने प्राकृतिक डेलिभरी गर्न सकिन्छ । प्राकृतिक डेलिभरीको पनि छुट्टै साइड-इफेक्ट हुन्छन् । लामो समय ‘लेबर पेन’ हुने, औषधिले काम नै नगर्ने, पाठेघरको मुख नखोलिने पनि हुनसक्छ । यस्तो अवस्थामा भने शल्यक्रिया नै गर्नुपर्छ । किनकि यसले आमा र शिशुलाई समस्या निम्त्याउन सक्छ ।

डेलिभरी गर्नुअघि आमा र बच्चालाई केही समस्या छ कि छैन भनेर जाँच गरेर मात्र भजाइनल वा शल्यक्रिया गर्ने भन्ने निर्णय लिइन्छ । तर प्रायजसो गर्भावस्थामा मोटोपन भएकालाई समस्या हुने भएकाले शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

मोटोपन आईभीएफ सजिलै हुन्छ ?

आईभीएफ र प्राकृतिक गर्भधारणमा खासै फरक छैन । प्राकृतिकमा गर्भधारणमा महिलाको अण्डा र पुरुषको शुक्रकीटभित्र आफैं गर्भनलीमा मिलन भई भ्रुण तयार हुन्छ र पाठेघरमा बस्छ । आईभीएफमा महिलाका अण्डा र शुक्रकीटलाई बाहिर निकाल्छौं र गुणस्तर अण्डा छानेर त्यसमा शुक्रकीट राखेर भ्रूण बनिसकेपछि पाठेघरमा राखिन्छ । मोटोपनको समस्या भएकाले प्राकृतिक गर्भधारण गर्दा आईभीएफ नहुने वा कम हुने भन्ने हुँदैन । किनभने हार्मोनको गडबडीले हुन्छ ।

पाठेघरको भित्री एन्ड्रोमेन्टियम विकसित नहुने, त्यो नभएपछि भ्रूण राम्रोसँग विकास हुनसक्दैन । त्यसैले मोटोपन छ भने पहिला मोटोपन कम गर्नुपर्छ ।

यसपछि आईभीएफ गरेमा मात्र सफल हुने सम्भावना हुन्छ नभए त्यो पनि असफल हुने सम्भावना बढी हुन्छ । आईभीएफ गर्नेबित्तिकै बच्चा बस्न नै भन्ने हुँदैन, ५० देखि ६० प्रतिशत बस्ने सम्भावना हुन्छ भने ४० प्रतिशत हुँदैन । कतिपय अवस्थामा राम्रो भ्रूण राख्दा पनि गर्भ नबस्ने वा खेर जाने हुन्छ । इम्प्लान्टेसन गर्ने ठाउँ राम्रो छैन, भ्रूण बसेपनि विकास हुने वातावरण सिर्जना भएको छैन भने पनि खेर जान्छ ।

पहिलो तीन महिना र अन्तिम तीन महिनामा भ्रूण खेर जाने जोखिम हुन्छ ।

गर्भावस्थामा मोटोपन के कारणले हुन्छ ?

मोटोपनको एक मुख्य कारण वंशाणुगत हो । घरपरिवारमा सबैजना मोटो भएमा पनि गर्भावस्थामा मोटोपन हुनसक्छ ।

खानपानको जस्तै जंकफुड, मैदाजन्य खानेकुराको अत्याधिक सेवन, धुम्रपान र मद्यपान गर्ने कारणले मोटोपन हुन्छ । क्यालोरीयुक्त खानेकुरा धेरै खाएको छ तर त्यसअनुसार व्यायाम नभएमा, निद्रा नलाग्ने र तनावका कारण पनि मोटोपन हुन्छ ।

थाइराइड, मधुमेह, दम जस्ता रोग भएमा पनि मोटोपन हुनसक्छ । परिवार नियोजनको औषधि र डिप्रेसनको औषधि सेवन गर्नेलाई पनि मोटोपनो सम्भावना धेरै हुन्छ ।

कसरी व्यवस्थापन गर्ने ?

सुरुमा त मोटोपन के कारणले भइरहेको छ त्यो पत्ता लगाउन जरुरी हुन्छ । कसैलाई खानपिनको कारणले भएको हुनसक्छ भने कसैलाई रोगको कारणले हुनसक्छ । त्यसैले कारण पत्ता लगाएर त्यही अनुसार आफ्नो दैनिक दिनचर्यालाई परिवर्तन गर्ने र चिकित्सकको परामर्शअनुसार औषधि उपचार गर्नुपर्छ ।

योग तथा व्यायाम गर्ने, स्वस्थ र सन्तुलन आहारको सेवन गर्न सकिन्छ । तारेको, भुटेको, पोलेको भन्दा पनि उसिनेको वा स्टिम गरेर बढी खाने गर्नुपर्छ । सकेसम्म दिनमा तीन-चार लिटर पिउने, स्क्रिन हेर्न समय कम गर्ने गर्नुपर्छ ।

फलफूल र विषाक्त हालेर नै उब्जाएको हुन्छ । सागसब्जी पकाउनु वा काँचै खानुअघि पनि सोडियम बाइ कार्बोनेट हालेर आधादेखि एक घण्टा डुबाएर राख्ने र त्यसपछि मात्र खाने गर्न सकिन्छ । यसरी आफ्नो दिनचर्या व्यवस्थित गर्न सकेमा धेरैजसो समस्या आफैं हटेर जान्छन् ।

  • ३ बैशाख २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech