लुम्विनी स्वास्थ्य मन्त्रालयका ८ महिनाः यस्ता छन् उपलब्धी

    • स्वास्थ्य पेज

  • २१ चैत्र २०८०, बुधबार

नेपालगन्जः लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रालयले दोश्रो चौमासिकको अबधिमा गरेका मुख्य कार्यहरु सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री राजु खनालले पत्रकार सम्मेलन गरी बितेको ८ महिनामा भएका काम सार्वजनिक गर्नुभएको हो । मन्त्री खनालले नीतिगत/सेवा प्रवाहमा भएका उपलब्धि, जनशक्ति व्यवस्थापन, बजेट खर्चको अवस्था, सञ्चालनको तयारीमा रहेका कार्यक्रमलगायतको बारेमा जानकारी गराउनु भयो।

यो अवधिमा सिकलसेल थाल्सेमिया र हेमोफिलियाका बिरामीका परिवारहरुको लागि निःशुल्क बिमा कार्यक्रमको शुरुवात भएको, प्रदेशमा भएको सिकलसेल एनिमियाको समस्या समाधानको लागि बारबर्दियामा रहेको आरसी मेमोरियल अस्पताललाई प्रदेशस्तरीय सिकलसेल अस्पतालमा स्तरोन्नति अन्तिम चरणमा रहेको र त्यसका लागि आवश्यक बजेटसमेत स्थानीय तहमा हस्तारन्तरण भइसकेको र लमही अस्पतालमा पनि सिकलसेल, थाल्सेमियाको परिक्षण तथा निदान सेवा शुरु गरिएको मन्त्री खनालले वताउनुभयो।

यस्तै अवकाशमा जाने ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक विदाइ कार्यक्रम अन्तर्गत एकमुष्ट ५० हजार उपलब्ध गराउने कार्यक्रमको शुरुवात भएको, निःशुल्क कर्निया प्रत्यारोपण कार्यक्रमको शुरुवात गरिएको, बर्दिया अस्पताल, पृथ्वीचन्द्र अस्पताल नवलपरासी, कपिलवस्तु अस्पताल, रामपुर अस्पताल पाल्पा र गुल्मी अस्पतालमा निःशुल्क हेमो डायलाइसिस सेवाको शुरुवात भएको, स्थायी/अस्थायी दरबन्दी खाली रहेका एक सय पाँच सिटमा भर्ना प्रक्रिया शुरु भएको,शुरु गरिएको  वताउनुभयो।

हिमाली जिल्लामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको लागि प्रोत्साहन कार्यक्रमको शुरुवात भएको, ४० वर्ष माथिका नागरिकहरुलाई निःशुल्क मधुमेह, रक्तचाप, मिर्गौैला रोगको जाँच गर्ने कार्यक्रमको शुरुवात गरिएको, ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिइएको, स्वास्थ्यकर्मीद्वारा क र ख वर्गका अपांगता भएकाहरुको घरमै गएर निःशुल्क उपचार कार्यक्रमको शुरुवात भएको र समुदायमा रहेका पाँच वर्षमुनिका कुपोषित बालबालिकाहरुको खोजपड्ताल तथा ब्यवस्थापन कार्यक्रमको शुरुवात गरिएको मन्त्री खनालले बताउनुभयो।

सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुको निःशुल्क रगत परीक्षण गरी रक्तअल्पताको अवस्था पहिचान गरी रक्तअल्पता भएका किशोरीहरुको उपचार तथा ब्यवस्थापन गर्ने कार्य शुरु गरिएको, सडक दुर्घटना न्यूनीकरण गर्न सडक सहायता कार्यक्रमको शुरुवात भएको, मातृ मृत्युदर उच्च भएका पालिकाहरुमा आमा सुरक्षा विशेष कार्यक्रमको शुरुवात गरिएको, आयुर्वेद सेवाको विस्तारका लागि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीलाई आयुर्वेद अनुसन्धान केन्द्र सञ्चालनको लागि कार्यक्रमको शुरुवात गरिएको, लुम्बिनी आयुर्वेद चिकित्सालयलाई १५ शैøयामा स्तरोन्नति गरिएको, लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बहुउपयोगी १२ तले भवनको निर्माण कार्य शुरु गरिएको वताउनु भयो।

यसैगरी क्याथल्याव सेवा सञ्चालन, Online नामदर्ता तथा ल्याव रिपोर्टिङ सेवा सञ्चालन, बर्थिङ सेन्टर सेवा स्थापना, १५ बेड क्षमताको एसएलसीयु स्थापना तथा सञ्चालन, छ बेड क्षमताको पीआईसीयु स्थापना तथा सञ्चालन, ८ वेडबाट विस्तार गरी एनआईसीयु वेड संख्या १२ पु¥याइएको, इन्टेरेस्कोप सञ्चालन, बालउद्यान स्थापना, प्रसूति तथा महिला रोग र बालरोगका विरामीका लागि छुट्टै काउन्टर र ल्याव नमूना संकलनको व्यवस्था, बाँझोपन क्लिनिक सञ्चालन, विहान ९ बजेबाट बिमाको औषधि रिफिल काउन्टरको शुरुवात, बिहान ७ बजेबाट मधुमेह रोगका विरामीको सुगर परीक्षण गर्ने व्यवस्था, ल्याव रिपोर्ट एसएमएसबाट उपलब्ध गराउने व्यवस्था, एमआरआई खरिद प्रक्रिया अगाडि बढाइएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले विद्यालय नर्स कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा १७ वटा विद्यालयहरुमा सेवा शुरु गर्ने गरी विद्यालयको विवरण तयार गरी विद्यालय छनोटको प्रक्रियामा रहेको, बर्दिया अस्पतालको भवन निर्माण सम्पन्न भएको जनाएको छ ।
त्यस्तै प्रस्तावित भालुबाङ अस्पतालको भवन निर्माणको लागि ठेक्का मूल्यांकन भई आशयको सूचना प्रकाशन भइसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्री खनालले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा औषधि भण्डारण गृह निर्माण कार्य शुरु गरेको, विशेषज्ञ शल्य चिकित्सा सेवा बिस्तार तथा मोडुलर ओ.टि सेटअप तयार गरिएको, प्रयोगशाला स्तरोन्नति गरी माइक्रोबायोलोजी कल्चर सेवाको शुरुवात गरिएको वताउनु भयो।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले पहिलो दुई चौमासिकको अवधिमा नीतिगत काम पनि धेरै भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी निर्देशिका २०८० तयार गरी कार्यान्वयन शुरु गरिएको जनाएको छ । आयुर्वेद कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८०, भान्साघर (खानपिन) सुधार कार्यक्रम निर्देशिका २०८० र स्वस्थ जीवनशैली प्रशिक्षक प्रशिक्षण तालिम म्यानुअल स्वीकृत गरी कार्यान्वयन शुरु गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी (पहिलो संसोधन) ऐन २०८० र नियमावलीको पाँचौं संशोधन जारी गरिएको छ । योसँगै प्रदेशभित्रका सबै स्वास्थ्य संस्थाको अनुगमन, नवीकरण, स्तरोन्नतिलगायतमा देखिएको समस्या समाधान भएको स्वास्थ्य मन्त्री खनालले जानकारी दिनुभयो । साथै प्रयोगशाला सञ्चालनसम्बन्धी निर्देशिका जारी गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।

यसैगरी भौतिक पूर्वाधार तर्फ गरेका कामबारे पनि जानकारी दिइएको छ । स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पतालको सुविधा सम्पन्न भवन निर्माण थालनी, प्यूठान अस्पताल भवन निर्माण, अर्घाखाँची अस्पताल भवन निर्माण, बाँकेमा टिवि अस्पताल भवन निर्माण, पृथ्वीचन्द्र अस्पताल भवन निर्माण, कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र भवन निर्माण, रुकुमपूर्व अस्पताल भवन निर्माण, एकीकृत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिक्षण अस्पताल बेलझुण्डी दाङ भवन निर्माण, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र भवन निर्माण निरन्तरता, ट्रमा सेन्टर भवन निर्माणलाई निरन्तरता दिइएको जनाएको छ ।

त्यस्तै राप्ती प्रादेशिक अस्पतालको दुई सय बेडको ओ एन एम गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको जनाएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालनको तयारीमा रहेका कार्यक्रमबारे जानकारी दिदै प्रदेशभित्रका सबै अस्पतालको ओएनएम सर्वे गर्ने, प्रदेशभित्रका सबै अस्पतालको अनलाइन नेटवर्किङ गर्ने, पाठेघर परीक्षण/अप्रेसन शिविर सञ्चालन गर्ने पत्रकार सम्मेलनमा मन्त्री खनालले बताउनु भयो। कार्यक्रममा स्वास्थ्यसचिब डा जनार्दन पन्थी पत्रकारहरुको सहभागीता रहेको थियो।

  • २१ चैत्र २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech