डा.अनाम प्याकुरेल /जनरल प्राक्टिसनर ।
नेपालमा वार्षिक औसतमा ३९० जनाको पानीमा डुबेर ज्यान जाने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । यसरी पानीमा डुबेर मृत्यु हुने कारण धेरै हुनसक्छ ।
कोही पानीमा पौडिन सिक्ने चक्करमा नदी वा पोखरीमा डुब्छन् । कोही सामान्य पौडिन जान्ने मानिस आफ्नो प्रतिभा देखाउन ठूला नदीमा जाँदा डुब्छन् । बच्चाहरु नजानेर डुब्न सक्छन् ।
डुबेर मृतकको शव पानीबाट बाहिर नआएसम्म उसलाई मृत मान्नु हुँदैन । यदि डुबेको व्यक्ति अझै पानीमुनि छ भने यसको मतलब उसको शरीरमा धेरै पानी भरिएको छ, जसकारण उसको शरीरका अंगहरूले काम गर्न छोडेको भन्ने बुझ्नुपर्छ ।
कोही डुबिरहेको देखे के गर्ने ?
मानव शरीरको औसत घनत्व १.०८ छ भने पानीको घनत्व १.०१ छ । जसकारण मानिस पानीमा डुब्छ । शरीरमा पानीको मात्रा बढ्दै जाँदा शरीर पानीले भरिन्छ ।
यदि डुबेको कसैलाई बचाउँदै हुनुहुन्छ भने केही नसोची पानीमा हामफाल्नु हुँदैन । तैरिन जान्ने भएपनि सुरक्षा उपकरणसहित पानीमा प्रवेश गर्नुपर्छ ।
त्यसका लागि पहिले आसपास डोरी छ वा पाइन्छ भनेर विचार गर्नुपर्छ । डोरी बिना हामफालियो भने पानीमा आफू पनि खस्ने वा डुब्ने जोखिम हुन्छ । यदि पौडिन जानिंदैन भने कसैको मद्दत लिनुपर्छ । यदि वरपर कोही छैन भने आपतकालीन कल गर्न सकिन्छ ।
प्राथमिक उपचार सम्भव हुन्छ ?
पानीमा डुबेको व्यक्तिलाई तत्काल उद्धार गर्न सकियो भने ज्यान बचाउन सकिन्छ ।
-सबैभन्दा पहिले नजिकको अस्पताल लैजान एम्बुलेन्स बोलाउनुपर्छ ।
-एम्बुलेन्स आउने समयसम्म प्राथमिक उपचार गर्नुपर्छ ।
-त्यसका लागि सबैभन्दा पहिला डुबेको व्यक्तिको लुगा कसिलो छ भने खोलिदिनुपर्छ । चोटपटक लागेको छ कि छैन भनेर निरीक्षण गर्नुपर्छ ।
-बिरामीलाई देब्रेपट्टि सुताएर केही अड्केको वा बेरिएको भए निकाल्नुपर्छ । त्यसपछि शरीरमा पानी पसेको हुनसक्छ । पेटमा दुई हातले थिचेर निकाल्ने प्रयास गर्नुपर्छ ।
-उसको सास चलिरहेको छ कि छैन हेर्नुहोस् । सो व्यक्तिको नाक र मुख छेउमा आफ्नो दुई औंला वा कान राखेर हावा आइरहेको छ कि छैन अनुभव गर्न सकिन्छ ।
-मुटुको धड्कनको गति पनि छामेर जाँच गर्न सकिन्छ ।
-सास फेरेको छैन जस्तो लाग्छ भने नाडी १० सेकेण्ड जति छामेर हेर्नुहोस् । छाम्दा नाडी र गर्दनमा दुई औंला बलियोसँग राखी स्थिर भएर धड्कन अनुभव गर्नुपर्छ । यसले शरीरमा रक्तसञ्चार भइरहेको थाहा हुन्छ ।
-नाडी छाम्दा भेटिएन भने तुरुन्त सीपीआर दिनुपर्छ ।
-सीपीआर गर्न छातीको केन्द्रमा दुवै हातले बल लगाएर धक्का दिनुपर्छ । एक मिनेटमा लगभग १०० देखि १२० पटक धक्का दिनुपर्छ । यसरी धक्का दिंदा फोक्सोमा भरिएको पानी पनि बाहिर आउन सक्छ ।
-शिुशुलाई सीपीआर दिंदा हातको दुई औंलाले मात्र थिच्नुपर्छ ।
-त्यसपछि प्रभावित व्यक्तिको नाक बन्द गरेर उसको मुखमा मुख राखेर आफ्नो पाँचपट सास छोड्न सकिन्छ । दुई लामो सास लिएर प्रभावित व्यक्तिको ३० पटक छाती थिच्न सकिन्छ ।
-सीपीआरपछि सास फेर्न थालेको हो कि होइन भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ ।
-यदि डुबेको व्यक्तिले अझै सास फेरेको छैन भने सीपीआर पुनः दोहोर्याउनुपर्छ ।
-डुबेको व्यक्तिमा हाइपरथर्मिया (तापक्रम घट्ने समस्या) हुनसक्छ । हाइपरथर्मियाले कार्डियाक एरेस्ट ल्याउन सक्छ । यस्तोमा तापक्रम जाँच गरी न्यानो कपडाले बेरिदिनुपर्छ ।
-यो बीचमा एम्बुलेन्स आइपुगेमा पनि सीपीआर जारी राख्नुपर्छ ।
-अस्पताल पुगेपछि अवस्था गम्भीर भए भेन्टिलेसनको मद्दत लिएर बचाउने कोसिस गरिन्छ ।
पानीमा डुब्ने घटना रोकथाम गर्ने उपाय
– वर्षायाममा खोला, नदी, ताल लगायतमा बाढी आउन सक्छ । यस्तो अवस्थामा बालबालिकाका साथै सबै उमेरका व्यक्तिले समेत सतर्कता अपनाउनुपर्छ ।
– बालबालिकाहरु पानीमा हुँदा वा पानी वरपर हुँदा अभिभावकहरुले निरन्तर निगरानी गर्नुपर्छ ।
– पौडी खेल्ने बेलामा वा अरु कुनै पानीमा गरिने गतिविधि गर्दा बालबालिकाका साथै सबै उमेरका पौडी खेल्न नजान्ने व्यक्तिले लाइफ ज्याकेट अनिवार्य प्रयोग गर्नुपर्छ ।
– बालबालिकाहरुलाई पौडी खेल्ने सीप सिकाउनुपर्छ । र, सीप सिके पनि जहिले पनि सतर्कता अपनाउनुपर्छ ।
– छारेरोग, मुटुरोग, अटिजम जस्ता स्वास्थ्यमा कुनै समस्या छ भने अरुको निगरानीमा मात्र पानी वरपर जानुपर्छ ।
– पौडी खेल्न जाँदा सधैं पौडी खेल्न जान्ने अभिभावकसँग मात्र जानुपर्छ र सम्भव भएसम्म बचाउकर्ता (लाइफगार्ड) भएका पौडी खेल्ने स्थानमा मात्र जानुपर्छ ।