फ्लु र कोभिड दुई भाइरस सक्रिय भए

    • डा. शेरबहादुर पुन /सरुवारोग विशेषज्ञ

  • १४ चैत्र २०८०, बुधबार

हाल फैलिरहेको रुघाखोकी ज्वरो प्रकोप कुनै एक संक्रमणलाई मात्र कारक मान्ने अवस्था देखिंदैन । तर तथ्यांकलाई आधार मान्ने हो भने फ्लु र कोभिड दुई भाइरस पुष्टि र सक्रिय भएको देखिन्छ ।

हाल समुदायमा रुघाखोकी ज्वरोले प्रकोपको रूप लिंदै गइरहेको देखिन्छ । यसमा विशेषत: बालबालिकाहरू बढी प्रभावित भएको देखिन्छ । यद्यपि जुनसुकै उमेर समूहकाहरू संक्रमणबाट अछुतो नरहेको तपाईं हाम्रो घर वा कार्यस्थलमा यत्रतत्र देखिन्छ ।

धेरैले रुघाखोकी ज्वरोलाई सामान्य रूपमा लिने गर्दछन् । धेरैजसो ८-१० दिनको आरामपछि स्वास्थ्यमा सुधार हुँदै जाने पनि गर्दछ । तर यी लक्षणहरू हाल धेरैमा केही कडा देखिएको छ । धेरैको स्वर समेत भासिएको देखिन्छ । विशेषत: रुघाखोकी ज्वरो प्रकोपमा बालबालिका, रोग प्रतिरोधात्मक कमजोर भएका, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूमा जटिलताको जोखिम बढी हुने गर्दछ ।

हाल फैलिरहेको रुघाखोकी ज्वरो प्रकोप कुनै एक संक्रमणलाई मात्र कारक मान्ने अवस्था देखिंदैन । तर तथ्यांकलाई आधार मान्ने हो भने फ्लु र कोभिड दुई भाइरस पुष्टि र सक्रिय भएको देखिन्छ । मौसम परिवर्तनसँगै फ्लु भाइरस विशेषत: फेब्रुअरी-मार्च महिनामा सक्रिय हुनु अनुमानित नै हो भने कोभिडको खासै निश्चित सक्रिय मौसम देखिंदैन । हाल फ्लु र कोभिड भाइरससँगै देखिएकोले लेखकले यसलाई ‘फ्लुभिड’ नाम दिएको हो ।

‘इन्फ्लुएन्जा’ भाइरसलाई छोटकरीमा ‘फ्लु’ भन्ने गरिन्छ । अझ सर्वसाधारणले त ‘भाइरल’ भन्ने गरेको समेत पाइन्छ । तथ्यांक हेर्ने हो भने फेब्रुअरी-मार्च र अगस्ट-सेप्टेम्बर गरी वर्षमा दुई पटक नेपालमा फ्लुले प्रकोपको रूप लिने गर्दछ । यद्यपि ट्रपिकल क्षेत्रमा वर्षैभरि फ्लु देखिने अनुसन्धानहरूको निचोडले देखाउँछ ।

फ्लुलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरेर चार भागमा विभाजित गरिएको छ । फ्लु ‘ए’ र ‘बी’ले विशेषगरी मानिसलाई बढी दुःख दिने गरेको पाइन्छ । फ्लु ‘ए’ अन्तर्गत ‘एच वान एन वान’ पीडीएम ०९ (सर्वसाधारणले स्वाइन फ्लुको नामले चिन्ने गर्छ) र ‘एच थ्री एन २’ (हङकङ फ्लु पनि भन्ने गरिन्छ) बढी र हरेक सिजनमा सक्रिय भएको देखिन्छ ।

‘एच वान एन वान’ पीडीएम ०९ फ्लुलाई सन् २००९ मा प्यानडेमिक घोषणा गरिएको थियो । सो समय झण्डै एकदेखि दुई लाखसम्मको मृत्यु यही भाइरसको कारणले भएको अनुसन्धानले देखाउँछ भने उनीहरू धेरैजसो ६५ वर्षमुनिका थिए । विश्व स्वास्थ्य संगठनले १८ हजार ६३१ जनाको मृत्यु भएको तथ्यांक निकालेको भएपनि स्वतन्त्र अनुसन्धानकर्ताहरूको अनुसन्धानले योभन्दा १० गुणा बढीको मृत्यु भएको देखाएका छन् ।

हालको तथ्यांक हेर्ने हो भने ‘एच वान एन वान’ पीडीएम ०९ फ्लु बढी पुष्टि भएको देखिन्छ । त्यस्तै ‘एच थ्री एन २’ र फ्लु ‘बी’ भाइरसहरू पनि सँगसँगै देखिएका छन् । अचानक ज्वरो आउनु, खोकी लाग्नु, नाकबाट पानी बग्नु, घाँटी दुख्नु, शरीर दुख्नु तथा थकित हुनु फ्लुका मुख्य लक्षणहरू हुन् ।

हाल यस्ता लक्षणसहित धेरै मानिस समुदायमा देख्न सकिन्छ । कतिपयलाई ज्वरोले एक-दुई दिनमा छोडे पनि खोकीले भने हप्तौं वा महिनौंसम्म पनि दुःख दिइरहेका देखिन्छन् । फ्लु कडा देखिए निमोनिया गराउने सम्भावना बढेर जान्छ ।

कोभिड-१९ को बहुलहरबाट छुटकारा पाएको धेरै भएको छैन र सम्भवत: धेरैले ती अत्यासपूर्ण लहरहरू सायदै बिर्सिसकेको पनि होलान् । धेरैमा फ्लुका जस्तै लक्षणहरू देखिंदै गर्दा परीक्षणको क्रममा कोभिड पनि पछिल्लो हप्ताको तुलनामा बढ्दै गइरहेको देखिन्छ ।

छिमेकी देश भारतमा पनि हाल कोभिड तुलनात्मक रूपमा बढेको विभिन्न सञ्चारका मध्यमहरूले जनाएका छन् । फ्लु र कोभिडको लक्षणहरू एकअर्कासँग धेरै मिल्दोजुल्दो हुने हुँदा प्रयोगशाला परीक्षण विना छुट्याउन सहज हुँदैन । नेपालमा ओमिक्रोन भेरियन्ट’का विभिन्न उपप्रजातिहरू देखिने क्रम जारी छ । र, यसका लक्षणहरू माउ ‘ओमिक्रोन’ भन्दा खासै फरक देखिंदैन ।

कोभिडका विभिन्न भेरियन्टहरूमध्ये ‘ओमिक्रोन’ कम घातक मानिन्छ । कोभिडका बिरामीमा खोकी, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, आलस्य हुने, शरीर दुख्ने र कतिपयलाई ज्वरो वा जाडो महसुस हुने जस्ता लक्षणहरू देखिने गरेका छन् ।

हाल फ्लु र कोभिड सँगसँगै अर्थात् ‘फ्लुभिड’ संक्रमणले समुदायमा व्यापकता पाइरहेको छ । यसबाट धेरै बालबालिकाहरू पनि प्रभावित भएका देखिन्छन् भने कतिपयले त केही दिन नियमित कक्षा (पढाइ) समेत छोड्नु परेका देखिन्छन् ।

सामान्यत: संक्रमण फैलिनुमा परिवारका सक्रिय सदस्यको मुख्य भूमिका देखिन्छ । तसर्थ घर बाहिर सभा, सम्मेलन, सार्वजनिक स्थान/स्थल, कार्यालय आदि ठाउँबाट फर्केपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ भने त्यस्ता ठाउँमा जाँदा सकेसम्म मास्क लगाउन छोड्नुहुँदैन ।

घरमा कसैमा फ्लु वा कोभिड लक्षणहरू देखिए वा संक्रमणको शंका लागे परिवारका अरु सदस्यमा संक्रमण नफैलियोस् भन्नाका लागि एक हप्ता-दश दिन अलग्गै बसेको राम्रो हुन्छ । जोखिम समूहमा लक्षणहरू देखिए चिकित्सकको सम्पर्कमा रहनुपर्दछ । ‘फ्लुभिड’ अर्थात् फ्लु र कोभिड दुवैको जटिल अवस्थालाई रोक्न खोपहरू समेत उपलब्ध छन् ।

समग्रमा, हाल नेपालमा ‘फ्लुभिड’ को प्रकोप बढ्दै गइरहेको छ । फ्लु वर्षेनी यही सिजनमा देखिनु अनुमति भएपनि कोभिड देखिनु भने अस्वाभाविक मान्न सकिन्छ । किनभने विगतमा कोभिड लहर सक्रिय हुँदा फ्लु निष्क्रिय प्रायः देखिने अनि फ्लु सक्रिय हुँदा कोभिडको लहर निष्क्रिय प्राय: देखिने/हुने गरेको थियो।

‘फ्लुभिड’ सम्भवत: अरु केही दिन वा हप्ता समुदायमा निरन्तर देखिन सक्ने भएकोले आफ्नो स्वास्थ्यप्रति सजग हुने र थप फैलिनबाट रोक्न सबैको सामूहिक प्रयासको खाँचो अनिवार्य हुनेछ ।

  • १४ चैत्र २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech