नेपालगन्जः बाँकेको राप्ती नदी आसपासको फोहोर व्यवस्थापनलाई युवाहरुले प्रभावकारी बनाउँदै लगेका छन् । राप्ती सरसफाइको साप्ताहीक अभियान अन्तर्गत शनिवार त्यस श्रेत्रमा फलामे डस्टबिन समेत राखिएको छ ।
नेपालगन्ज ग्यालरी र क्लीन नेपालगन्ज ग्रीन नेपालगन्जका युवाहरुको नेतृत्वमा जनप्रतिनिधि लगायतले राप्ती नदी आसपासको क्षेत्रमा सरसफाई गरि कर्णाली डेभलपमेन्ट बैंकको सहयोगमा सिधनियाघाट स्थित दाह संस्कार गर्ने क्षेत्रमा ७ वटा फोहर संकलनको लागि डस्टबिन राखेको प्रमुख अभियान्ता विमल प्रधानले जानकारी दिनुभयो ।
राप्ती नदीमा फ्याँकिएका प्लाटिकका थैला लगायत अन्य फोहरजन्य कच्चापदार्थले नदी र नदी आसपासको श्रेत्रलाई कुरुप बनाएको भन्दै युवा निरन्तर नदी क्षेत्रको सरसफाइमा जुटेको प्रधानले बताउँनुभयो । वरपर देखिने फोहरले नदीलाई कुरुप बनाएको भन्दै युवाले नदी वरपरको वातावरण स्वच्छ र स्वस्थ राख्न सरसफाइ गर्ने गरेका छन् ।“हाम्रो अभियान भनेको नेपालगन्जलाई स्वच्छ र स्वस्थ राख्ने हो ।
पर्यटकीय हिसाबले राप्ती नदी पनि नेपालगन्जको एक महत्वपूर्णस्थल भएकाले हामीले नदी वरपरको फोहरलाई व्यवस्थापन गरी सफा राख्ने प्रयास गरेका हौँ”, अर्का अभियान्ता महेश श्रेष्ठले भन्नुभयो । नदी वरपर फ्याँकिएको फोहर उठाएर नदीलाई सफा बनाउन फागुनको पहिलो हप्तासम्म सरसफाइलाई निरन्तरता दिइने बताईएको भएपनि यो चैत्रमा समेत निरन्तर चल्ने श्रेष्ठले बताउनुभयो ।
अभियानअन्तर्गत नदी सरसफाइ पनि एउटा मुख्य काम भएको अभियन्ताहरुले बताएका छन् । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने उक्त नदीमा विशेष गरी पूजाआजा र दाहसंस्कारका लागि मानिस जाने गर्दछन् । नदीको बीच भागबाट वारिपट्टि डुडुवा ४ र ५ मा पर्ने उक्त नदी छेउमा तीर्थ, व्रत गर्नेको भीड लाग्ने गर्दछ । गर्मीको समयमा आन्तरिक पर्यटक नदीमा पौडी खेल्न समेत जाने गर्दछन् ।
यसैबिच नेपालगन्ज ग्यालरीका सञ्चालक समिरमान श्रेष्ठले दाह संस्कारको सिधनिया घाटमा जानुहुने सबैमा प्लास्टिकजन्य फोहरहरूलाई त्यहा राखिएका डस्टबिनमा राखी नदी छेउछाउ फोहरमुक्त बनाउन सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।