आफ्नो जीवनशैलीमा ध्यान दिन सके हाडजोर्नीसम्बन्धी समस्याबाट राहत पाउन सकिन्छ

    • डा.लक्ष्मण सिक्देल /अर्थोपेडिक सर्जन

  • ६ चैत्र २०८०, मंगलवार

हड्डीलाई स्वस्थ राख्न क्याल्सियम, भिटामिन डी तथा पोषणयुक्त खानेकुरा आवश्यक हुन्छ । तसर्थ, पौष्टिक तत्व पाइने पदार्थ नियमित खाने गर्नुपर्छ । च्याउ, सुन्तलाको जुस, पनिर, दुधलगायतमा भिटामिन डी पर्याप्त मात्रामा पाइन्छ ।

शरीरका हाडजोर्नी दुख्नु एउटा समस्या हो । यसले अन्य समस्यासमेत निम्त्याइरहेको हुन्छ । आजभोलि युवाहरूसमेत हड्डी दुख्ने समस्याबाट पीडित भएको पाइन्छ । आफ्नो जीवनशैलीमा ध्यान दिन सके हाडजोर्नीसम्बन्धी समस्याबाट राहत पाउन सकिन्छ ।

 सक्रिय जीवन :  विलासी भएर सधैँ निष्क्रिय जीवनशैली अपनाउँदा हाडजोर्नीमा समस्या पैदा हुन्छ । तसर्थ, दैनिक व्यायाम, पैदल यात्रा गर्नुपर्छ । बिहान उठ्नेबित्तिकै तन्किने गर्नाले समेत शरीर सन्तुलनमा रहन मद्दत पुर्‍याउँछ । बिहान ४०–४५ मिनेट व्यायामका लागि छुट्याउनु राम्रो हुन्छ ।

 बिहानीको घाम ताप्नुस् :  भिटामिन डीको कमीका कारण हड्डी कमजोर हुने, बच्चामा रिकेट्स हुने हुन्छ । साथै, गर्भवती महिला र बच्चामा नकारात्मक असर पर्ने भएकाले खानामा अनिवार्य भिटामिन डी समावेश गर्नुपर्छ । यसबाहेक बिहानको घाम ताप्नुपर्छ । किनकि, कलिलो घाम भिटामिन डीको राम्रो स्रोत हो ।

सन्तुलित खानपान 
हड्डीलाई स्वस्थ राख्न क्याल्सियम, भिटामिन डी तथा पोषणयुक्त खानेकुरा आवश्यक हुन्छ । तसर्थ, पौष्टिक तत्व पाइने पदार्थ नियमित खाने गर्नुपर्छ । च्याउ, सुन्तलाको रस, पनिर, दुधलगायतमा भिटामिन डी पर्याप्त मात्रामा हुन्छ । यस्ता खानेकुराले हड्डी स्वस्थ राख्न मद्दत गर्छ । आल्मन्ड, सोयाबिन, ओट्सलगायत खानेकुरामा क्याल्सियम प्रशस्त मात्रामा हुन्छ । ब्रोकाउली, बन्दा, सागलगायत हरियो सागसब्जी प्रशस्त मात्रामा खानुपर्छ । माछा पनि भिटामिन डीको राम्रो स्रोत हो । यसमा पाइने ओमेगा–३ फ्याटी एसिड स्वास्थ्यका लागि निकै लाभदायक छ ।

भिटामिन सीले रोगप्रतिरोधी क्षमता बढाउँछ र कोलाजनको उत्पादनमा सहयोग गर्छ । हड्डीको टिस्युका लागि यो निकै महत्वपूर्ण छ । त्यही कारण किवी, भुइँकटहर, चेरीलगायत सिजनअनुसारका फलफूल प्रशस्तै लिनुपर्छ । अन्डा पनि प्रोटिन र भिटामिन डीको राम्रो स्रोत हो । यसले पनि शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । आलस, चिया सिड्स, आल्मन्ड, डार्क चकलेटलगायतले पनि हड्डी बलियो बनाउन सहयोग गर्छ । खानामा नुनको मात्रा कम हुनु राम्रो हुन्छ । त्यस्तै, चिल्लो पनि कम गर्नुपर्छ । जंकफुड र मैदाबाट बनेका खानेकुरा नखानु राम्रो हुन्छ ।

 सावधानी अपनाउने
काम गर्दा, घरमै बस्दा वा अन्य विविध क्रियाकलाप गर्दा कहिलेकाहीँ खुट्टा मर्किने, जोर्नी दुख्ने आदि हुने गर्छ । भन्नेबित्तिकै उपचारका लागि चिकित्सककहाँ पुग्न गाह्रो हुन्छ । यस्तो अवस्थामा आफैँले सामान्य घरेलु उपचार गरेर समस्याबाट बच्न सकिन्छ । बरफपानीले सेक्ने गर्नुपर्छ । जसले चोट लागेको ठाउँमा सुन्निन दिँदैन । उक्त ठाउँमा रक्तप्रवाहलाई सहज बनाउन राम्ररी पट्टी बाँध्नुपर्छ । हाडजोर्नीको समस्याबाट बच्न स्वस्थ बानी अपनाउन जरुरी छ । तसर्थ, ढाडलाई सीधा राखेर सही तरिकाले बस्ने, सुत्दा तकिया होचो बनाउने, धेरै भारी सामान नउठाउने, कपडा र जुत्ता सजिलो खालको मात्र लगाउने आदि जस्ता सावधानी अपनाउन सकेमा हाडजोर्नीसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

(अर्थोपेडिक सर्जन डा.लक्ष्मण सिक्देल भेरी अस्पतालमा कार्यरत हुनुहुन्छ)

  • ६ चैत्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech