महरा अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना

    • स्वास्थ्य पेज

  • ५ चैत्र २०८०, सोमबार

नेपालगन्जः काठमाडौँ जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो लगिएका पूर्वसभामुख कृष्णबहादुर महरा अस्वस्थ भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट सोमबार बिहान समातिएका महरालाई जहाजबाट काठमाडौँ लगिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोमा बयान लिएर सरकारी वकिलको कार्यालय हुँदे जिल्ला अदालत लगेर अनुसन्धानका लागि म्याद लिइसकेपछि गलित भएका महरालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको हो।

दिनभरिको धपेडीले महरा थकित देखिनु भएको थियो । सिआईबी प्रवक्ता होमिन्द्र बोगटीका अनुसार उहाँ अस्वस्थ भएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएको हो। सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई सिआइवीले अदालत उपस्थित गराउँदै थुनामा राख्ने अनुमति मागेको थियो। जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा निवेदन दिएको सिआइवीको निवेदनमाथि सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।

९ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई उहाँकै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला पक्राउ गरिएको हो। उहाँले विमानस्थलमा अड्किएको सुन छाडिदिन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल फोन गरेको आधारमा सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लगाइएको हो।

  • ५ चैत्र २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech