नेपालगन्जः पश्चिम नेपालकै प्रेषण अस्पतालका रुपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालले माघको २५ गते विहीबार पहिलो पटक ‘एमआरआई’ सेवा सञ्चालनमा ल्यायो । तर फागुन ६ गते अस्पतालले सूचना निकालेर विद्युत समस्याका कारण अर्को सूचना जारी नभएसम्मका लागि हाललाई एमआरआई सेवा संचालनमा नरहेको जानकारी दियो । विद्युत समस्या भनेर बन्द गरिएको एमआरआई सेवा फागुनको तेस्रो हप्ता वितिसक्दा समेत सुरु हुन सकेको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ करोड रुपैयाँ लगानी गरेर अस्पताललाई ‘थ्रिटेस्ला’ एमआरआई मेसिन दिएको थियो । साउनमा आएको उक्त मेसिन बल्लतल्ल ७ महिनापछि सुरु भयो ।
सुरु भएको सात दिनमै बन्द भएपछि तत्काल संचालनको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी बाँकेले आज अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.पवन रायमाझीलाई विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको कमिटीका जिल्ला अध्यक्ष प्रकाश विश्वकर्माले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा एक हप्ताभित्र एमआरआई मेसिन संचालनमा ल्याइनुपर्ने, अस्पतालको आकास्मिक कक्षमा १४ सैं घण्टा फिजिसियन चिकित्सकको व्यवस्थापन गरिनुपर्ने, अस्पतालको शौचालय लगायतका अस्पताल परिसरमा नियमित रुपमा सरसफाई हुनुपर्ने, अस्पतालका चिकित्सकहरु समय अवधिभर आफ्नो कार्यकक्षमा रहनुपर्ने साथै समय अवधिमा आफ्नो निजी क्लिनिकमा जान रोक लगाउनुपर्ने, औषधी, रगत जाँच, अन्य जाँचहरु अस्पतालभित्रै हुनुपर्ने, अस्पतालका विचौलियालाई प्रवेशमा रोक लगाउनुपर्ने, कार्यालय समयमा चिकित्सक र कर्मचारी अस्पतालमा आउनुपर्ने लगायतका माग गरिएको छ । एमआरआई सेवा बन्द हुँदा गरिव तथा विपन्न समुदायका बिरामीहरु महंगोमा निजीमा एमआरआई गर्न बाध्य भएका छन् ।